अन्तर्राष्ट्रिय तामाङ परिषद्लाई महासचिव प्रणालीमा लैजाने – Nepal Press

अन्तर्राष्ट्रिय तामाङ परिषद्लाई महासचिव प्रणालीमा लैजाने

बैंकक । अन्तर्राष्ट्रिय तामाङ परिषद् कार्यकारी महासचिव प्रणालीमा सञ्चालन हुने भएको छ । थाइल्याण्डमा सम्पन्न पाचौं सम्मेलनमा पारित विद्यान अनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडी बढ्ने भएको हो ।

नयाँ विधान अनुसार सम्मेलन आयोजक संस्था थाइल्याण्डको तर्फबाट तामाङ (लामा) समाजको अध्यक्षको हैसियतले स्वतः चम्पाडोल्मो लामा पदेन अध्यक्ष भएकी छिन् ।

महासचिवमा नेपालका टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् । पारीत विधान अनुसार अब परिषदको महासचिव कार्यकारी अधिकार सहितको हुनेछन् । नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङले भने, ’परिषदको कामलाई नियमित र चुस्त बनाउन महासचिव प्रणालीमा परिषद्लाई लैजाने सम्मेलनले नीति लिएको हो ।’

संसारभरीका तामाङहरुलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा काम गर्नुपर्ने भएकाले ती विषयहरुसँग सम्बन्धित विज्ञहरुले नेतृत्व गर्ने गरी विषयगत समितिहरु निर्माण गर्ने संगठनात्मक नीति लिएको छ ।

नवनिर्वाचित महासचिव लामाले भने,‘सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता ९ वटा फरक फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । ६ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ ।’

२१ वर्षअघि स्थापना भएको परिषद्ले अब पूर्णरुपले अन्तर्राष्ट्रिय संगठनको मान्यता अनुसार काम गर्न सक्ने स्थितिमा पुगेको महासचिव लामाले जानकारी दिए । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो ।

यस परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणाली अनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्ने छ । हाल यस परिषद्मा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जीयम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया रहेको छ । परिषदमा सबै सदस्य संस्थाका अध्यक्षहरु स्वत सदस्य रहनेछन् ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका),सचिवमा राम प्रसाद तामाङ (भारत),शुभराज बम्जन तामाङ (दक्षिण कोरिया),बुदु माया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवाल चन्द्र लामा तामाङ (जपान)का निर्वाचीत भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर