नेतृत्वसँग असहमति जनाउँदै रूपन्देहीमा एमाले नगरसचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा – Nepal Press

नेतृत्वसँग असहमति जनाउँदै रूपन्देहीमा एमाले नगरसचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा

रूपन्देही । रूपन्देहीमा नेतृत्वसँग असहमति जनाउँदै नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले सामूहिक राजीनाको घोषणा गरे । राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी, सदस्यलगायत छन् ।

पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूले झण्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेश गरिएको बताए । उनले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एकढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताहरूले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझावपत्र पेश गरिएको जानकारी दिए ।

उनले भने, ‘तर, इमान्दार कार्यकर्ताहरूले पार्टी सुधारको माग गर्दा पनि नदेखे झैं गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारवाही गर्छौं भन्दै हिँड्ने, पार्टी संगठनात्मक र संस्थागतरूपले भन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुने जस्तो गर्ने गरी आलटाल गरेकाले यो कदम चालेका हौं’ ।

अहिलेको २१ औं शताब्दीमा जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडि पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायहरूको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेताहरू नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्ताहरूलाई सधै अन्यायमा पारिएकाले आजकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट राजनीमा दिएको भण्डारीले बताए ।

नगरभित्र दुःखमा परेका जनताहरूको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए । आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राख्ने उनको भनाइ छ । उनले जनताको चाहना भए आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिन तयार रहेको बताए ।

पार्टी सिद्धार्थनगरका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिइएको एमाले सिद्धार्थनगर-८ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए । भण्डारीले आजै राजीनामाको विषय पार्टी कार्यालयमा दिने जनाए । एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले राजीनामाको विषयमा पार्टीलाई जानकारी नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर