आफ्नो नागरिक अभिनन्दन कार्यक्रममा रेशम चौधरीले भने- टीकापुर घटनालाई अतिरञ्जित नबनाऔं (भिडिओ) – Nepal Press

आफ्नो नागरिक अभिनन्दन कार्यक्रममा रेशम चौधरीले भने- टीकापुर घटनालाई अतिरञ्जित नबनाऔं (भिडिओ)

रुपन्देही । तीनै तहका अदालतबाट दोषी ठहराइए पनि गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले टीकापुर घटनालाई अतिरञ्जितत नबनाउन आग्रह गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी दाङले आइतबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई लमहीमा सम्बोधन गर्दै उनले टीकापुर घटना सुनियोजित भएकाले सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरे ।

उनले उक्त घटना छानबिनमा आफूले पूर्ण सहयोग गर्ने बताए । चौधरीले टीकापुर घटनामा रामविहारी थारु पहिला सहिद भएको र थारुहट आन्दोलनमा थारु सिपाही मारिनु कदापि सम्भव नभएको भन्दै घटना रहस्यमय रहेको बताए ।

‘रेशम चौधरी जातिवादलाई प्रश्रय दिंदैन, नेपाली र नेपाल जान्दछ’, उनले भने ।

चौधरीले थरुहट प्रदेश कायम गर्ने आवाज फेरि बुलन्द पारिने संकेत गरे । पहिचानको आन्दोलन अझै नसकिएको भन्दै उनले देशमा रहेका प्रदेशहरुको नाम पहिचानबाट कायम गरिनुपर्ने आवाज उठाए ।

आफू अग्राधिकारको पक्षमा रहेको उल्लेख गर्दै रेशमले भने, ‘अहिले पनि लाग्छ, तराईका थारुहरुको नाममा थरुहट प्रदेशमात्रै लेखिदिनुस्, त्यो थरुहट प्रदेश लेखिएको संविधानभित्र धारा, उपधाराभित्र कतै थारुको अधिकार नलेखिदिनुस्, मात्रै थरुहट प्रदेश लेखेको नाममा यहाँका थारुहरुले हजारौं, लाखौं सुंगुरको बलि एकैदिनमा दिन्छन् र खुशीयाली साट्छन् । आफ्ना जनता खुशी भएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छ ? आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छ ? कृपया यस्तो नहोस् ।’

उनले टीकापुर घटनाको वास्तविकता बुझ्न बाहिर बसेर नभई फिल्डमा पुगेर बुझ्न आग्रह गरेका छन् । चौधरीले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरुलाई जेलमा राख्न नहुने बताए ।

‘अस्ति म छुट्नेवित्तिकै राजबन्दी परिवारहरुको घरमा गएको थिएँ । कोही चुरोट बेच्न गएका । कोही खेतको किनारमा घाँस काटिरहेका, कोही रिक्सा चलाइरहेका, कोही मासु पु¥याउन गएका व्यक्तिहरु जेलमा छन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर