विवादास्पद नागरिकता विधेयकमा दुई धार : संसद भवनबाहिर सत्ता र प्रतिपक्षी सांसदले के भने ? (भिडिओ) – Nepal Press

विवादास्पद नागरिकता विधेयकमा दुई धार : संसद भवनबाहिर सत्ता र प्रतिपक्षी सांसदले के भने ? (भिडिओ)

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयमा सत्तारुढ र प्रतिपक्षीबीच मतभेद देखिएको छ ।

राष्ट्रपतिले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले संसद बैठक नै अवरुद्ध गरेको छ भने सत्तापक्षले दुई-दुईपटक सदनमा छलफल भएर राष्ट्रपति कार्यालयमा पुगेको विधेयक प्रमाणीकरण स्वाभाविक भएको प्रतिक्रिया दिएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता जस्तो संवेदनशील विषयमा संविधानविपरीत प्रमाणीकरण गरेकाले यसलाई सच्चाउनुपर्ने बताए । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले मन्त्रीपरिषद्को पत्रका आधारमा विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिले बताएपनि त्यो संविधान अनुसार नरहेको जिकिर गरे । ताजा जनादेश प्राप्त संसद आइसकेको अवस्थामा उक्त विधेयकलाई दर्ता गरेर प्रक्रियामार्फत नै अघि बढाउनुपर्ने एमालेको धारणा रहेको उनको भनाइ थियो । नागरिकता विधेयकमा रहेको विषयवस्तुमा पनि एमालेको असहमती रहेको गिरीले बताए । विदेशी चेली नेपालीसँग बिवाह गर्दा तत्काल नागरिकता दिने प्रावधानले भविष्यमा ठूलो असर पर्ने उहाको भनाइ छ ।

एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताए ।

उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए ।

बर्तौलाले भने, ‘प्लेन चढ्नुभन्दा अगाडि नागरिकता विधेयक असंवैधानिक हिसाबबाट राष्ट्रघात हुनेगरी उहाँले राष्ट्रपतिलाई उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो । एक हातमा सिन्दूर अर्को हातमा नागरिकता दिनेगरी आएको छु महामहिम भन्न पुग्नुभयो । त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो । यो देशका सिमाका विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ? उहाँलाई त्यो अधिकार छ दिल्लीमा गएर, दिल्लीका शासकहरुका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सीमाको बाटो लिनेगरी सट्टाफेरी गर्ने । यस प्रकारको अपारदर्शी उहाँले कयौँ गतिविधि गरेर आउनुभएको छ । हामीले संसदमार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ । अपारदर्शी काम गर्ने ? यो देशको सार्वभौमता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ । उहाँले देशमाथि गद्दारी गर्नुभएको छ । राष्ट्रघात गर्नुभएको छ । यसको जवाफ दिएर मात्रै पुग्दैन । माफी माग्नुपर्छ ।’

रास्वपा सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरूको विरोध रहेको बताए । यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘विधिको शासनमा जुन सदनमा उत्पत्ति भएको विधेयक थियो त्यो पो अहिलेको ताजा जनादेश पाएकोले प्रमाणीकरण गर्ने हो त । यो त पहिलाको हो । यो संविधानको धारा ११३ आकर्षित हुन्छ । तर, यो पालि राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयो भने ६१ को २,३, ४ र ६६ बाट टेकेर गरेको छ । यो असंवैधानिक कदम हो । यसलाई ट्रयाक करेक्ट गर्ने हो भने यो खारेज भएर संसदमा भोलि नै दर्ता गरिदिनुस् । बरु फास्ट ट्रयाकमा लगौं । विगतमा दुई पटक संसदले पठाएको प्रमाणिकरण नगर्नु असंवैधानिक थियो । र अहिले प्रमाणिकरण गर्नुपनि असंवैधानिक ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताए । उहाँले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्नुभयो ।

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाली जनताले केही नपाएको बताए । सीमा विवाद र ईपीजीको रिपोर्टसम्बन्धी कुनै चर्चा नभएको भारतीय पक्षले बताइरहेको भन्दै कुनै ठोस प्रगति नभएको उनको टिप्पणी थियो ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताए । अघिल्लो राष्ट्रपतिले मन्त्रीपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वाभाविक नरहेपनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण भएको उनको भनाइ थियो । उनले विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे ।

माओवादी केन्द्रका नेता माधव सापकोटाले संसदमा दुई-दुई पटक छलफल भएर सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रमाणीकरण हुनमात्र बाँकी रहेकोमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रष्टीकरण दिए । अहिले त्यही विषयलाई लिएर सदनमा विरोध गर्नु जायज कुरा नभएको उनको भनाइ थियो ।

‘प्रक्रियामा बारेमा सदनमा सबैले कुरा राख्न पाउँछन् । तर, यसलाई प्रतिपक्षीले सदनमा हंगामा गर्नका लागि विषयमात्रै बनाए’, उनको टिप्पणी थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृतबाट जन्मेकालाई वंशजको नागरिकता दिनै नमिल्ने बताए । भारतले नेपाललाई सिक्किम र भुटान प्रयन्त गरिरहेको भन्दै त्यसको विरुद्धमा जनता उठ्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *