राष्ट्रपतिबाट ‘मृत विधेयक’ को संवैधानिक ढाँचामा कीर्ते काम भएको एमालेको आरोप – Nepal Press

राष्ट्रपतिबाट ‘मृत विधेयक’ को संवैधानिक ढाँचामा कीर्ते काम भएको एमालेको आरोप

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा किर्ते भएको विषय सदनमा उठाउने भएको छ ।

राष्ट्रपतिबाट मृत विधेयक प्रमाणीकरणका नाममा सरकारी कागजात किर्ते गरेको बाहिर आइसकेकाले यो विषयमा सदन मौन रहन नसक्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ९ बुँदे सुझावसहित फिर्ता पठाएको विधेयक प्रमाणीकरण नभएपछि गत असोज पहिलो साता नै निष्क्रिय भएको थियो ।

यो पनि पढ्नुहोस्- विद्या भण्डारीको ‘खाली कोठा’मुनि रामचन्द्रको सहीछाप, मृत विधेयकमा किर्ते गरेको आरोप

एमालेका प्रमुख सचेतक गिरीले भने- संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक मन्त्रिपरिषद्को निर्णयको हवाला दिँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनु असंवैधानिक हो । त्यसमाथि तत्कालीन सभामुखले हस्ताक्षर गरेको र तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेको सरकारी कागजातमाथि अहिलेका राष्ट्रपतिले केरमेट गरेर आफ्नो नाम राखी प्रमाणीकरण गरेँ भन्नु सरासर किर्ते काम हो, यो स्वीकार्य छैन ।

अहिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहेको र अग्नि सापकोटा सभामुख हुँदा रामचन्द्र पौडेल राष्ट्रपति नभएको भन्दै सापकोटाको हस्ताक्षर भएको विधेयक प्रमाणीकरणको संवैधानिक ढाँचामा विद्या भण्डारीको साटो रामचन्द्र पौडेलले हस्ताक्षर गर्नु किर्ते काम भएको उनको आरोप छ ।

नेपाल प्रेसले शनिवार सो ढाँचा सार्वजनिक गर्दै समाचार प्रकाशन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर