इपीजीको विषयलाई लिएर नेपाल-भारत सम्बन्ध बिगार्न हुँदैन, मैले आफ्नो ढंगले कुरा राखेको छु : प्रचण्ड – Nepal Press

इपीजीको विषयलाई लिएर नेपाल-भारत सम्बन्ध बिगार्न हुँदैन, मैले आफ्नो ढंगले कुरा राखेको छु : प्रचण्ड

प्रचण्डको स्पष्टीकरण- गेरु वस्त्रधारण नगर्दा अर्बौँ भारतीयको मनमा चिसो पस्थ्यो

काटमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए ।

भारतको औपचारिक भ्रमण पूरा गरी शनिवार अपराह्न स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईँहरूले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अव मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अव यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्र धारण गर्नु परेको बताए । सो मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौँ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो ।

उनले यसलाई नेपालको सर्वोपरि हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रूपान्तरण गर्न सफल भएको बताए ।


प्रतिक्रिया

2 thoughts on “इपीजीको विषयलाई लिएर नेपाल-भारत सम्बन्ध बिगार्न हुँदैन, मैले आफ्नो ढंगले कुरा राखेको छु : प्रचण्ड

  1. तिमीहरू भारतीय दलाल हौ भन्ने कुरा आम नेपालीले देखि सके त्यसकारण तिमीहरू मुर्दावाद

  2. दुवै देशले सहमतिमा बनाएको कार्यदल हो ईपिजि । त्यसको प्रतिवेदन नै नबुझ्ने भन्नुको अर्थ त्यसमा भएको कुरा थाहा पाएर हो । त्यसमा पनि कार्यदलले १९५० को सन्धीलाई समयानुकुल संशोधन गर्न भनेर सिफारिश गरेको थाहा पाएर हो मोदीले नबुझ्ने भनेको । भारत नेपाललाई १९५० को सन्धी मार्फत नियन्त्रण गर्न चाहान्छ । उ यो सन्धी फेर्न चाहादैन । नेपालको विकासको बाधक नै १९५० को सन्धी हो । सन्धीले गर्दा नेपाल स्वतन्त्र पनि हो कि होईन जस्तो भएको छ । यस्तो महत्वपूर्ण प्रतिवेदन सम्बन्धमा कुरै नउठाउने भए किन गएको ? भैंसी लिन र महाकालेश्वरको तिर्थ गर्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर