सगरमाथाको सफल आरोहण गरेका बरिष्ठ सई सम्मानित – Nepal Press

सगरमाथाको सफल आरोहण गरेका बरिष्ठ सई सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी र सम्बद्ध संस्थालाई आज सम्मान गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवश शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाइरेक्टर मिङ्मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरे । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरे ।

उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबीको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी सङ्गााहलयमा राखिने जनाइएको छ ।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र सङ्गठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिका लागि शुभकामना व्यक्त गरे ।

समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रणलगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलतापूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उहाँले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिबद्ध रहेको बताए।

सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश, जनताको सेवालाई केन्द्रविन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक बहन गरी आफूलाई रूपान्तरण गर्ने सङ्कल्प गर्न उनले अनुरोध गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्र आपराधिक क्रियाकलाप बिरुद्ध ऐक्यबद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गरे।

साथै उनले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामले प्रहरी समक्ष ल्याएका थप चुनौतीको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । नेपाल प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवं अर्थतन्त्रसमेतमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

आरोहणका लागि सहयोग पु¥याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायत अन्य सङ्घसंस्था तथा सरोकारवाला निकायप्रति उनले कृतज्ञता व्यक्त गरे। प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिएको उक्त समारोहमा विसं २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने नौ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीले आरोहण गर्दाको आ–आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा आरोहणसम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो । सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकासप्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवं पर्यटन तथा आरोहणसँग सम्बन्धित सङ्घ संस्थाका आमान्त्रित अतिथिलगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतसमेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *