भारतमा जम्बो भ्रमण टोली लठीभद्र, प्रधानमन्त्रीपुत्री यत्रतत्र – Nepal Press

भारतमा जम्बो भ्रमण टोली लठीभद्र, प्रधानमन्त्रीपुत्री यत्रतत्र

नयाँदिल्ली । करिब १२० सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री भारतको चार दिने भ्रमणमा छन् । उनको टोलीमा ५ मन्त्री, मुख्य सचिव र ८ सचिवको भिड छ । तर, महत्वपूर्ण भेटवार्ता तथा बैठकमा भने प्रधानमन्त्रीपछिको दर्जामा उपस्थित भइरहेकी छिन् छोरी गंगा दाहाल ।

हुनलाई गंगा प्रधानमन्त्रीको सचिवालयकी सदस्य पनि हुन् । तर, यो भ्रमणमा उनले जति स्पेस पाइरहेकी छन्, त्यो सचिवालयको सदस्यको हैसियतमा पाउन असम्भव छ । मन्त्री र सचिवहरू भूमिकाविहीन भइरहँदा गंगा भने यत्रतत्र देखिन्छिन् । उनको यो व्यापकतालाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले शोभनीय मानिरहेका छैनन् ।

नयाँ दिल्ली टेकेपछि प्रधानमन्त्री दाहालले पहिलो भेटवार्ता भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग गरे । प्रचण्डलाई भेट्न डोभल उनी बसेको होटल मौर्यमा विदेश सचिव विनयमोहन क्वात्रालाई समेत लिएर आएका थिए । जब यो भेटवार्ताको तस्वीर सार्वजनिक भयो, नेपालमा टिकाटिप्पणी सुरू भइहाल्यो । कारण डोभलको साइडमा विदेश सचिव बस्दा प्रचण्डको साइडमा थिइन् छोरी गंगा । विदेश सचिव कुराकानीका विषयवस्तु डायरीमा नोट गरिरँदा गंगाको हातमा भने मोबाइल देखिएको छ ।

भारत भ्रमणमा प्रचण्डसँगै रहेको परराष्ट मन्त्रालयले टोलीले यसलाई सहजरूपमा लिन सकेन । एक परराष्ट्र अधिकारीले दोभलसँग तस्बिर केही पत्रकारको ह्वाट्सएपमा पठाए । त्यसमा दुईजनाको अनुहारमा रातो घेरा लगाइएको थियो । दायाँतर्फ प्रचण्डपुत्री तथा स्वकीय सचिव गंगा दाहालको अनुहार थियो भने बायाँतर्फ भारती विदेश सचिव तथा नेपालको राजदूत भइसकेको काविल कूटनीतिज्ञ विनयमोहन क्यात्राको अनुहार थियो ।

तस्बिरमुनि परराष्ट्रका ती अधिकारीले लेखेका थिए- ‘विमानस्थलमा विदेशराज्यमन्त्रीले स्वागत गर्नुभन्दा ठूलो आलोचनायोग्य कुरा भारतीय पक्षको बैठकमा विदेश मन्त्रालयका सचिव हुनु तर नेपालतर्फमा स्वकीय सचिवमात्रै हुनु हो ।’ परराष्ट्रका ती अधिकारी आफूहरूले बोल्न नमिल्ने भन्दै यो विषय गम्भीर भएको भनेर ह्वाट्सएपमा सुझाउँदै थिए ।

नेपाली भ्रमण टोलीको कूटनीतिक प्रोटोकल व्यवस्थापन कमजोर भएको मन्त्रालयको शिष्टाचार महापालसमेत भएका एक पूर्वकूटनीतिज्ञले बताए ।

उनले नाम सार्वजनिक नगर्ने शर्तमा भने, ‘काठमाडौंमा हुँदा भारतीय राजदूतहरुलाई जताजतै पहुँच दिएर प्रोटोकलको वास्ता गरिन्न । दिल्लीमा पुग्दा प्रधानमन्त्रीसँग स्वकीय सचिवलाई राखेर प्रोटोकलको धज्जी उडाइन्छ । यसले देशको कूटनीतिक अपरिपक्कता झल्काउँछ ।’

दोभलसँग मात्रै होइन, अन्य थुप्रै तस्बिरहरू गंगाको अस्वाभाविक उपस्थिति देखिन्छ । भारतीय राष्ट्रपति दौपर्दी मुर्मीसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालका मन्त्रीहरू पनि उपस्थित थिए । तर, मन्त्रीहरूभन्दा पनि माथि बसेकी थिइन् गंगा । प्रधानमन्त्री मोदी र प्रचण्डको संयुक्त तस्बिरमा पनि उनी मिसिएकी छन् । प्रधानमन्त्रीको सचिवालयबाट १० जना भ्रमण टोलीमा परेका छन् । तर, अरु ९ जनाले भूमिका पाएका छैनन् ।

त्रिविबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा स्नातकोत्तर गरेका प्रकाश विष्टले गंगा दाहालको जथाभावी उपस्थिति कूटनीतिक रूपमा अशोभनीय देखिएको तर्क गरे । व्याक्तिगत र पारिवारिक रूपमा राम्रो महसुस भए पनि यो घटना एक देशको परिपक्क कूटनीनिति र एक प्रधानमन्त्रीको व्यवसायिकतामा देखिएको गम्भिर त्रुटि भएको विष्टले बताए । विश्वमा यस्ता उदाहरण नभएको र हुँदा राम्रो नमानिने उनको भनाइ छ ।

प्रधानमन्त्रीपुत्री यत्रतत्र छाइरहँदा भ्रमण टोली भने लठीभद्र छ । महाजम्बो टीम भएकाले को कता जान्छन्, के गर्छन् भन्ने टुंगो छैन । ठूलै संख्यामा रहेका व्यापारीहरू र पत्रकारहरुको संयोजन कसैले गरेको देखिँदैन । हिजो हैदरावाद हाउसमा भएको दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा जान खोज्दा केही पत्रकारहरूमाथि दुर्व्यवहारसमेत भयो । उनीहरूलाई भारतीय सुरक्षाकर्मीले घचेटेर निकालेका थिए । सोही समूहमा रहेका पत्रकार ऋषि धमला भने जबर्जस्ती प्रवेश गरे ।

त्यसो त हुल बाँधेर आएका मन्त्री र सचिवहरू समेत यहाँ बेरोजगारजस्तै छन् । सम्झौता अघि एकाध द्विपक्षीय बैठकहरुमा भाग लिन पाए पनि त्यसपछि उनीहरूको भूमिका प्रधानमन्त्रीलाई पछ्याउने र फोटोसोटो खिचाउनेमै सीमित छ । कुनै पनि मन्त्रीले भारतीय समकक्षीसँग छुट्टै भेटघाट गर्न पाएका छैनन् । राजनीतिक बैठक र भेटघाटहरू सकिएकाले आजबाट त प्रधानमन्त्री स्वयम् पनि घुमघाममै रमाउने छन् ।


प्रतिक्रिया

One thought on “भारतमा जम्बो भ्रमण टोली लठीभद्र, प्रधानमन्त्रीपुत्री यत्रतत्र

  1. अनलाईनखबरको दिल्लीको १२ बुंदे असहमति शीर्षकको समाचारमा दिईएको सही हो भने नेपालका मुख्य सचिव र परराष्ट्र सचिवको लापरवाहीले प्रधानमन्त्री एक्लै पर्नुभएका कारण गंगा दाहालले company दिएको कुरा बुझिएको छ जुन गम्भीर हो। यो कुरा राम्ररी छानबीन हुनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *