भारतमा प्रचण्डको तीर्थाटन- ८ लगेजमा १०८ किलोको रुद्राक्ष बोकेर महाकालको पूजाआराधनामा जाँदै – Nepal Press

भारतमा प्रचण्डको तीर्थाटन- ८ लगेजमा १०८ किलोको रुद्राक्ष बोकेर महाकालको पूजाआराधनामा जाँदै

नयाँदिल्ली । ‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड जी, तपाईँ भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्दै हुनहुन्छ । मलाई विश्वास छ कि तपाईँको उज्जैन यात्रा ऊर्जामय हुनेछ । साथै, पशुपतिनाथदेखि महाकालेश्वरको यो यात्रामा तपाईँमा आध्यात्मक अनुभूति पनि हुनेछ । धेरै धेरै धन्यवाद ।’

बिहीबार दिउँसो हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो ६ मिनेट ४५ सेकेन्ड लामो सम्बोधनको अन्तिम २९ सेकेन्डको मन्तव्य यस्तो थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको । मोदीले विनाकुनै प्रसंग यस्तो धार्मिक यात्राको शुभकामना दिएका होइनन् । यसमा प्रचण्डको आफ्नो धार्मिक तयारीको कथा पनि छ । जस्तै बुधबार बजेट पढ्न ल्याइने ब्रिफकेसको जस्तै चिटिक्क सजिएका ८ थान लगेज प्रचण्डको टोलीसँगै भारत आएका छन । त्यो लगेजमा १०८ किलोग्रामका रुद्राक्षका दाना छन् । यी रुद्राक्षका दाना प्रचण्डले भारतको उज्जैनको महाकालमा पूजा गर्न ल्याएका हुन् ।

यो प्रचण्डको निजी भ्रमण नभएर औपचारिक भ्रमणको तालिका हो । चार दिनको औपचारिक भ्रमणम उनको मन्दिर भ्रमण तेस्रो दिनको कार्यक्रम हो । त्यसको लागि उनी शुक्रबार दिल्लीबाट बिदाई हुनेछन् । वैदिक सनातनि हिन्दूहरूले मान्ने गरेका १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालमा प्रचण्डको पूजाआराधानाको समय शुक्रबार छ । प्रचण्डको सवारीकै कारण शुक्रबार बिहान ६ बजेबाट मध्यान्ह १२ बजेसम्म मन्दिर सर्वसाधारणको लागि प्रवेश निषेध गरिएको छ । मन्दिर व्यवस्थापनले यसको सूचना सार्वजनिक गरिसकेको छ । भारतको राजधानी नयाँदिल्लीभन्दा धेरै टाढा मध्यप्रदेशको मन्दिरको यात्रामा प्रचण्ड सहभागी हुँदैछन् । प्रधानमन्त्रीको रूपमा भारतमा प्रचण्डको यो चौथो भ्रमण हो । तर, मन्दिर भ्रमणलाई औपचारिक भ्रमणको सूचीमा राखिएको भने यो पहिलोपटक हो ।

दौरासुरुवालको तस्बिरमा सडकमा स्वागत पोस्टर राखिएका प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा समेत दौरासुरुवाल लाएका थिए । कुनै बेला दौरासुरुवाललाई ‘पहाडे सामन्ती पोशाक’ भन्ने माओवादी अध्यक्षले तेस्रो पटको प्रधानमन्त्रीत्वकालमा पुरानो वैचारिक चोला फेरेका छन् । त्यसमा एक कदम अगाडि बढेर उनले धार्मिक गतिविधिलाई पहिलोपटक राजनीतिक, कूटनीतिक तथ राजकीय महत्व हुनेगरी प्रदर्शन गरेका छन् । शुक्रबारको धार्मिक भ्रमण त्यसैको एक उदाहरण हो ।

देशभित्र हिन्दूविरोधी छवि बनाएका प्रचण्डले भारतको औपचारिक भ्रमणमा मन्दिर यात्रा समेटेपछि धेरैजना अचम्भित भएका छन् । यीमध्ये भारतकै वाम पत्रकार पनि छन् । केही दिनअगाडि एबीपीलाइभमा ब्लग लेख्दै प्रचण्डलाई प्रशंसा गर्दै आएका भारतीय पत्रकार आनन्दस्वरूप बर्मा पनि छन् । उनले प्रचण्डको भारत भ्रमणको सवालमा लेखेको ब्लगमा कुनै क्रान्तिकारी नेता त कुरै नगरौं, दुनियाँमा कुनैपनि बुर्जुवा नेताको छविभन्दा धेरै छवि प्रचण्डको बिग्रेको छ भन्न भ्याए ।

प्रचण्ड मात्र होइन, अन्य माओवादी नेताहरुले पनि देशभित्र देखाउने हिन्दूत्वविरोधि ढोंग विदेश यात्रामा भने उतार्न थालेका छन् । हालसालै चीन भ्रमणमा रहेका नेपाली माओवादी नेताहरूले हिन्दूहरूको धाम कैलाश मानसरोबर यात्रामा पुगे । चिनियाँ कम्युनिष्ट पार्टीको आतिथ्यमा गरिबी निवारण कार्यक्रममा गएका नेताहरू कार्यक्रको मर्मसँग मेल नखाने हिन्दू धार्मिक तीर्थस्थलमा मुकाम बनाउन व्यस्त भएका थिए । माओवादीका शीर्ष नेता तथा पूर्वसभामुख अग्नि सापकोटालगायतका २० नेताहरू जेठ ९ गते कैलाश मानसरोबर यात्रा सकाएर ल्हासा फर्केका थिए । त्यसको एक हप्ता कट्नासाथ प्रचण्ड भारतको महाकाल मन्दिर यात्रा तयको कार्यक्रम बनेको हो । उत्तरी छिमेकी चीनदेखि दक्षिणी छिमेकी भारत दुवैका हिन्दू धार्मिक धामका तिर्थालुहरूमा माओवादी नेतृत्व देखिएको छ ।


प्रतिक्रिया

One thought on “भारतमा प्रचण्डको तीर्थाटन- ८ लगेजमा १०८ किलोको रुद्राक्ष बोकेर महाकालको पूजाआराधनामा जाँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर