मुग्लिन-मलेखु सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरू – Nepal Press

मुग्लिन-मलेखु सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरू

भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरू भएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।

३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले बताए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिनेछ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म ६ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

आयोजनाको यो खण्ड चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् ।

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्र गतिमा काम अघि कर्मचारी बताउँछन् । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा-नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर