भारत जानुअघि प्रचण्डले भेटे चिनियाँ कम्युनिष्ट पार्टीका नेता (भिडिओ) – Nepal Press

भारत जानुअघि प्रचण्डले भेटे चिनियाँ कम्युनिष्ट पार्टीका नेता (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेता नेपाल आएका छन् । सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोली बालुवाटार पुगेको थियो ।

सीपीसीका १४ जनाको टोली बुधबार बिहानै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको थियो । उनीहरू हिजो रातिमात्रै काठमाडौं आइपुगेको बताइएको छ । उक्त टोली बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर माओवादी नेताहरूसँग भेट गरेको छ ।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

महराले भने, ‘सिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टीमसँग हामीले छलफल गर्‍यौं । दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकार बीचमा समान सम्बन्ध विस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौं ।’

भेटमा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमणको संघारमा चिनियाँ कम्युनिष्ट पार्टीको टोलीको नेपाल आवागमन र माओवादी नेतासँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर