मौरिससका हिन्दू भन्छन्- हाम्रो देशमा पशुपतिनाथको प्रवर्द्धन छैन – Nepal Press

मौरिससका हिन्दू भन्छन्- हाम्रो देशमा पशुपतिनाथको प्रवर्द्धन छैन

छाङ्सा (हुनान) । देरिस बेकारो मौरिससका हिन्दू हुन् । अफ्रिकी देश मौरिससका उनी हिन्दू आस्थामा प्रतिबद्ध छन् । उनी बिफ खाँदैनन्। उनी स्वयंवर, व्रतबन्ध जस्ता हिन्दू परम्परागत कार्यक्रममा सरिक हुन्छन् ।

मौरिसस सरकारका सरकारी जागिरे उनी आफ्नो आस्थाको लागि भारतसम्म आएका छन् ।

‘म किशोर हुँदै भारत आएको थिए। पछिल्लो समयमा सन २०१७ मा पनि बहिनीको विवाहको लुगा किन्न भारत आएको थिए’, देरेस भन्छन्, ‘म भारतका कतिपय धामहरू पनि पुगेको छु। तर, नेपाल आएको छैन। पशुपतिनाथ बारेमा जानकारी छैन।’

देरेस मात्रै होइन मौरिससकी अर्की हिन्दू दीक्सा रामजुग पनि हिन्दू हुन। चीनको हुनान प्रान्तमा एक कार्यक्रममा आएकी दीक्साले पनि आफू हिन्दू भएपनि नेपालको हिन्दूधामहरू बारेमा कुनै जानकारी नभएको सुनाइन् ।

‘समुदायमा र सामाजिक सञ्जालमा कतै पनि मैले नेपालको हिन्दूधाम पशुपतिनाथ बारेमा जानकारी पाएको छैन।’

चीन आएपछि नेपाली साथीहरू भेटेर मात्रै युनेस्कोको विश्व सम्पदा सूचीमा परेको हिन्दूको धाम पशुपतिनाथ बारेमा थाहा भएको देरेस र दीक्साले बताए। देरेसले भने, ‘सन २०१७ जनवरीबाट मौरिससको प्रधानमन्त्री भएका प्रभिन कुमार पनि हिन्दू हुन्। मौरिससमा ४० प्रतिशत भन्दा धेरै हिन्दू छौँ ।’

हिन्दू प्रधानमन्त्री भएकोदेखि देशको झन्डै आधा जनसंख्या हिन्दू भएकोले नेपालका हिन्दू धामको मौरिससमा राम्रो प्रवर्द्धन गर्न सकिने देरेसले बताए ।

मौरिससमा पनि धेरै शिव धामहरू भएको देरेसले बताए। उनका अनुसार शिवशक्ति मन्दिर, सागर शिव मन्दिर,श्री शिव शुभ्रमन्य मन्दिर आदि मौरिससका नामी शिव मन्दिर हुन् । यी मन्दिर र मौरिससका हिन्दू अगुवाहरुसँगको सहकार्यमा आम मान्छेसम्म नेपालको हिन्दूधाम खासगरी पशुपतिनाथको प्रवर्द्धन गर्न सकिने उनले सुझाए ।

मौरिससका स्थानीयहरू भारतीय मूलका धेरै भएकोले भारत वा सिधा हवाई सञ्जाल भएको दुबईबाट नेपालले हिन्दूधाम प्रवर्द्धन गर्न सक्ने देरेसको तर्क छ।

‘सबैभन्दा सुरुमा सूचनामा काम गर्न सकिन्छ’, देरेस भन्छन्, त्यसपछि मात्रै पर्यटन प्रवर्द्धनमा।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *