प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण

प्रधानमन्त्री भारत जानुअघि विधेयक प्रमाणीकरण हुनु अर्थपूर्ण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मृत’ अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । रेशम चौधरीको आममाफी प्रकरणपछि यो राष्ट्रपतिको अर्को विवादित कदम हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए । अघिल्लो संसदका दुवै सदनले पारित गरेर नागरिकता विधयेक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ दुईपटक पठाएको थियो । भण्डारीले देशको हितविपरितका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो ।

भण्डारी राष्ट्रपति रहन्जेल संविधान बमोजिम १५ दिनभित्र प्रमाणित नभएको विधेयक पुन संसदले पारित गर्नुपर्ने विज्ञहरुले बताइरहेका बेला राष्ट्रपतिले सरकारको अनुरोधमा प्रमाणित गरेका हुन् । अहिले न त्यो संसद छ, न राष्ट्रपति ।

संविधानतः सरकारले सिफारिस गरेका कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रमाणीकरण नगर्दा के हुन्छ भन्ने स्पष्ट व्यवस्था संविधानमा छैन ।

संविधानविदहरुले भने तत्कालीन संसदसमेत भंग भइसकेको अवस्थामा विधेयक स्वतः मृत हुने बताइरहेका छन् । तर, सरकारले यही मृत विधेयकलाई ‘चिहान’ बाट निकालेर राष्ट्रपतिमार्फत प्रमाणीकरण गराएको हो ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण

  1. लौ भारतको चाहनामा बनेको राष्ट्रपति अब पक्का प्रमाणित भयो भारत लाई खुसि पार्न अब प्रचण्डको जन्ती टोली लाई सजिलो भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर