कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउँछाैं : मधु आचार्य (भिडिओ) – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउँछाैं : मधु आचार्य (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको बागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरे । उनले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताए ।

उनले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।

‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदी सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रिय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन’, उनले भने, ‘पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदी नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’

उनले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताए । कांग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरुको अभियान कांग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पारे ।

‘एउटा निष्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरुमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रष्ट अभिव्यक्ति नदिने, यही ढंगले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरुलाई कठिनाइ हुनेछ । गाह्रो हुनेछ । यसले पार्टी दिनदिनै कमजोर बनाउँदछ’, उनले भने, ‘त्यसकारण वास्तवमा यो कुनै गुटको मिटिङ होइन । कुनै गुटको अभियान होइन । काग्रेस बिग्रिन लाग्यो । कांग्रेस सिद्धिन लाग्यो । कांग्रेस कमजोर गर्न थालियो । कांग्रेसलाई जनताले माया गर्न छोड्न थाले । र पार्टी सदस्यहरु पनि दिग्भ्रमित हुन थाले । अब यो अवस्थाबाट कांग्रेस जोगाउनुपर्छ । भोलिको भविष्य यही कांग्रेसबाट खोज्नुपर्छ । साथीहरुलाई यही भित्र आश्वस्त गर्नुपर्छ । जे-जे परिवर्तन गर्नुपर्छ, जे-जे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै कांग्रेसलाई राम्रो बनाउँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडी बढेको हो । त्यसकारण कांग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन । कांग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यसकारण यो सिंगो कांग्रेसको आवश्यकता हो । सिंगो काँग्रेसको आन्दोलन अभियान हो ।’

आचार्यले आफूहरुले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर