खेलकुदमा बजेट : प्राथमिकतामा क्रिकेट, हेपाइमा फुटबल – Nepal Press

खेलकुदमा बजेट : प्राथमिकतामा क्रिकेट, हेपाइमा फुटबल

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको वर्ष २०८०÷८१ को खेलकुदको बजेटमा क्रिकेट प्राथमिकतामा परेको छ ।

पछिल्लो समय क्रिकेट टिमको उच्च प्रदर्शनलाई मध्यनजर राख्दै क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने र बनिरहेका पूर्वाधारहरु सम्पन्न गर्ने योजना बन्दा फुटबल हेपाइमा परेको छ ।

क्रिकेटमा त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको आगामी वर्षको योजनामा रहेको छ ।

यस्तै, वर्षैंदेखि निर्माणाधीन रहेको मूलपानी क्रिकेट रंगशालाको पनि निर्माण कार्य पुरा गरिने भएको छ ।

त्यसबाहेक पनि विराटनगरमा रहेको को गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरत चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समसेर क्रिकेट रंगशालाको निर्माण कार्य अगाडी बढाउन बजेट व्यवस्थापन गरेको अर्थमन्त्रीले बताइरहँदा फुटबलका लागि भने कुनै पनि बजेट उनले सुनाएनन् ।

आगामी वर्षको बजेटमा खेलकुद पर्यटनलाई प्रवर्द्धन गरिने भएको छ । खेलकुद पूर्वाधार निर्माण व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने ।

निर्माणाधीन धनगढी, पोखरा, इटहरी र नेपालगञ्जका प्रदेश रंगशाला र कभर्डहलहरु सम्पन्न गर्न बजेट व्यवस्थापन गरिएको छ ।
निजी साझेदारीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका साथै र्याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ, रक क्लाइमिङ र अल्ट्रा म्याराथन लगायतका साहसिक खेल पूर्वाधार निर्माण गरिने भएको छ ।

आगामी सेप्टेम्बर–अक्टोबरमा चीनको हङजावमा हुने १९औँ एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद, र दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन आवश्यक बजेटको व्यवस्था गरिएको ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिने । युवाहरुलाई अनुशासित र स्वस्थ बनाउन मार्सलआर्ट खेललाई समुदाय स्तरमा विस्तार गर्न प्रोत्साहित गरिने ।

नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघ लगायतका विभिन्न खेल सम्बद्ध संघ संस्थाको क्षमता विकाश गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहित गरिने ।

स्थानीय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गरिने आगामी वर्षको बजेटमा समावेश छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर