रेशमलाई आममाफीको विरोधमा बहालवाला र पूर्वप्रहरी- सामाजिक सञ्जालमा कडा टिप्पणीदेखि कालो पोस्टसम्म – Nepal Press

रेशमलाई आममाफीको विरोधमा बहालवाला र पूर्वप्रहरी- सामाजिक सञ्जालमा कडा टिप्पणीदेखि कालो पोस्टसम्म

पूर्वप्रहरीको आक्रोश- हत्याराले हत्यारालाई सम्मान गर्छ, यो केवल गणतन्त्रमा हुन्छ

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई गणतन्त्र दिवसमा आममाफी दिइएपछि प्रहरी तथा पूर्वप्रहरीहरूमा आक्रोश देखिएको छ । पूर्वप्रहरीहरूले खुलेरै सामाजिक सञ्जालमा विरोध जनाउन थालेका छन् ।

टीकापुर हत्याकाण्डमा ७ जना प्रहरीहरू आन्दोलनकारीबाट बर्बरतापूर्वक मारिएका थिए । घटनाको प्रमुख योजनाकार ठहर गर्दै तीनवटै तहका अदालतबाट जन्मकैदको सजाय पाएका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर आज छुटेका हुन् । यसले बहालवाला तथा सेवानिवृत्त प्रहरीहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ । बहालवाला प्रहरीहरूले फेसबुकमा कालो पोतेर विरोध जनाएका छन् भने पूर्वप्रहरीहरूले खुलेर टिप्पणी गरेका छन् ।

हिजो पूर्वप्रहरीहरूको संगठन पूर्वप्रहरी कर्मचारी परिषदले विज्ञप्ति निकालेर रेशमलाई आममाफी नदिन सरकार र राष्ट्रपतिलाई आग्रह गरेको थियो । तर, सरकारले गरेको सिफारिस राष्ट्रपतिले सदर गरेपछि रेशम आज फूलमाला लगाएर रिहा भएका छन् । त्यसपछि पूर्वप्रहरीहरूले सामाजिक सञ्जालमा विभिन्न किसिमबाट आक्रोश प्रकट गरिरहेका छन् ।

पूर्वएआईजी सहकुल थापाले रेशमलाई आममाफी प्रहरीका लागि मरेतुल्य भएको उल्लेख गरेका छन् ।

‘भोलि प्रकारन्तरले प्रहरी जोडिने (पूर्व वा हाल) पेशासँग आवद्धका लागि मरेतुल्य दिन हुन सक्ने खतरा,’ थापाले फेसबुकमा लेखेका छन् ।

यस्तै पूर्वएआईजी दिवेश लोहनीले सरकार र राष्ट्रपति आँखामा पट्टी बाँधेर आँखा नदेखेको नाटक गर्ने कलाकार भएको भन्दै कटाक्ष गरेका छन् । उनले फेसबुकमा स्टाटस ‘कपी’ गर्दै सरकारको निर्णयको विरोध गरेका हुन् ।

यस्तै पूर्वप्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले कडा टिप्पणी गर्दै ‘हत्याराले मात्र हत्यारालाई सम्मान गर्नसक्ने’ लेखेका छन् ।

‘साधुले साधुलाई सम्मान गरे झैँ हत्याराले हत्यारालाई सम्मान गर्छ, यो केवल गणतन्त्रमा हुन्छ,’ अधिकारीले लेखेका छन् ।

बहालवाला इन्स्पेक्टरको स्टाटस

जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत् इन्स्पेक्टर प्रदीप सुवेदीले फेसबुकमार्फत रेशमको रिहाइलाई लक्षित गर्दै असन्तुष्टि पोखेका छन् ।

‘पीडितको न्याय र पुन:स्थापना न्यायलाई बेवास्ता गर्दै अपराधिक न्याय प्रणालीको नाममा पीडकको सुविधामा केन्द्रित हुँदा दण्डहीनताको अन्त्य गर्न सक्ला ?’, उनको प्रश्न छ ।

राष्ट्रपतिले चौधरीलाई आममाफी दिने तयारी गरिरहँदा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरिक्षक केशव बोहराकी श्रीमती शारदाले आइतबार सर्वोच्च अदालतमा रिट दिएकी छिन् । उक्त रिट दर्ता भने भइनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको घटनामा तत्कालीन एसएसपीसहित ७ जना प्रहरीको मृत्यु भएको थियो ।


प्रतिक्रिया

One thought on “रेशमलाई आममाफीको विरोधमा बहालवाला र पूर्वप्रहरी- सामाजिक सञ्जालमा कडा टिप्पणीदेखि कालो पोस्टसम्म

  1. १७००० मार्नेले १०/२० जना मार्नेलाई सजिलै छोडिदिन्छ । अब त जे गरे पनि भयो । मार्यो अनि पहिचानको लागि भन्यो हत्याराहरू र तिनका मतियारले छोडाइदिईहाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर