गणतन्त्रभन्दा जेठा ‘राजद्रोही’ चिनाउने तस्बिर- गगन/गुरुको छायाँमा परे पनि पुरुलाई छैन पीर – Nepal Press

गणतन्त्रभन्दा जेठा ‘राजद्रोही’ चिनाउने तस्बिर- गगन/गुरुको छायाँमा परे पनि पुरुलाई छैन पीर

काठमाडौं । जेठ १५ गते १५ औं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको कपिराइटमा धेरैले दावी गरिरहेको सुनिन्छ । गणतन्त्रको आईएओ प्रमाणपत्र बोकिरहेको माओवादी पार्टीको त कुरै फरक भइहाल्यो,तत्कालीन संवैधानिक राजतन्त्रवादी दलभित्रबाट गणतन्त्रको लागि पहिलोपटक जेल भोगेका नेताका रुपमा कांग्रेसका गुरुराज घिमिरे र गगन थापाको नाम चर्चामा आइहाल्छ ।

हुन त कांग्रेसभित्र गणतन्त्रको पक्षमा पहिलोपटक अन्तर्वार्ता दिने नरहरी आचार्य र लक्ष्मण घिमिरेले पार्टीभित्रको खाइपाइ आएको पद नै त्याग्नुपरेको थियो । २०६२/६३ को जनआन्दोलनमा कांग्रेसले गणतन्त्रमा जाने निर्णय नगर्दै गुरु र गगनले गणतन्त्रको पक्षमा नारा लाएबापत राजद्रोहको मुद्दा झेलेका थिए ।

कुनै घटना संयोगमात्र हुँदैनन्, मान्छेको जीवन बदल्ने मोड बन्छन् । नेपालमा गणतन्त्रको आवाज र एजेण्डा बोक्ने को हो भनेर जस लिने होडबाजी चलिरहँदा छायामा परेका पात्र चाहिँ पुरुषोत्तम आचार्य हुन् । नेविसंघका तत्कालीन अध्यक्ष गुरु र महामन्त्री गगनसँगै अनेरास्ववियुका नेता पुरुषोत्तम पनि एकै दिन,एकै अभियोगमा पक्राउ परेका थिए ।

एएफपीका तत्कालीन फोटो पत्रकार देवेन्द्रमान सिंहले २०६० सालमा खिचेको यो फोटोमा कांग्रेस महामन्त्री गगन थापा र नेता गुरुराज घिमिरेकोबीचमा देखिने व्यक्ति नै पुरुषोत्तम आचार्य हुन् ।

१९ वर्षअघि यी तीन नेता राजतन्त्र मास्ने अपराध गरेको अभियोगमा सँगै जेल परेका थिए । तर गणतन्त्रवादी युवाको रुपमा चर्चा भने गगनले बढी बटुले,अलिकति बाँकी रहेको चर्चा गुरुको भागमा परेपनि उनले त्यागको भाग पाउँन सकेका छैनन् ।

जतिबेला राजनीतिक दलहरू राजतन्त्र मान्थे त्यतिबेला दुई ठूला दल कांग्रेस र एमालेका त्यसबेलाका विद्यार्थी नेताहरू गणतन्त्रको पक्षमा बोलेबापत पक्राउ परेका थिए । त्यसबेला गुरु नेविसंघको अध्यक्ष र गगन महामन्त्री थिए । पुरुषोत्तम आचार्य भने अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य तथा पाटन क्याम्पसको नेता थिए ।

उनीहरूविरुद्ध तत्कालीन सरकारले विशेष अदालतमा राजद्रोहको मुद्दा पेश गरेको थियो । तर विशेष अदालतले मुद्दा अघि नबढाएपछि उनीहरू १० दिनमा रिहा भएका थिए । यो देखिएको तस्बिर यी तत्कालीन विद्यार्थी नेताहरु राजद्रोहको मुद्दा खेपेर बाहिर निस्कदाको हो ।

१८ वर्षको बीचमा मुलुक राजतन्त्रबाट गणतन्त्रमा गयो । त्यहि मुद्दाका कारण चर्चाको शिखरमा पुगेका गगन आज कांग्रेसको महामन्त्री छन् । गुरु घिमिरे कांग्रेसमा गगनभन्दा पछि परेपनि चर्चाबाहिर छैनन् । प्रदेश १ को सभापतिमा २ मतले पराजित भएका घिमिरे शेखर कोइराला समूहको नेता नै हुन् र अहिले देशव्यापी कांग्रेस जागरण अभियान चलाइरहेका छन् ।

तर, यी दुई नेताको बीचमा रहेका आचार्य भने राष्ट्रिय राजनीतिको चर्चामा आउन करीव २ दशक संघर्ष गरे । गत वर्ष एमाले लतिलपुर जिल्ला अध्यक्ष बनेपछि उनको राजनीतिक क दबनेको छ । गगन र गुरुसँगैका राजद्रोही आचार्य यसअघि ललितपुर एमालेको सचिव थिए ।

गणतन्त्रका योद्दा भनेर गगनको नाम अग्रपंक्तिमा आउँदा आचार्यको नाम कतै आउदैन । आफूलाई त्यसमा कुनै गुनासो नरहेको आचाई बताउछन् । त्यसबेला राजद्रोहको मुद्दा खेप्दैगर्दा राजनीतिको यो ठाउँमा आउने कल्पना नगरेको उनी बताउँछन् । त्यस घटनाले आफूलाई संघर्षप्रति थप प्रतिबद्ध बनाएको उनले नेपाल प्रेसलाई बताए ।

गणतान्त्रिक योद्धा आचार्यले मुलुकमा गणतन्त्र आएपछि विद्यार्थी राजनीति छाडेर ललितपुरमा पार्टीको राजनीति थालेका थिए । गोदावरीका आचार्य जिल्ला कमिटी सदस्य हुँदै सचिव भए । ललितपुरमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न सफल भएका आचार्यको नेतृत्वमा एमालेले यसपटक जिल्लाको चुनावी नतिजामा गठबन्धन र घण्टीको दबाबबीच उल्लेख्य सफलता निकालेको छ ।

आचार्य गगन र गुरुलाई चर्चामा ल्याउँन मिडियाको निर्णायक भूमिका रहेको र त्यसबेलादेखि अहिलेसम्म पनि मूलधारका मिडियाले वामपन्थी त्यसमाथि पनि एमालेका नेताहरुलाई यथेष्ट स्थान दिन कन्जुस्याई गर्नेगरेको बताउँछन् । उनले गणतन्त्रको पेटेन्ट राईट कुनै निश्चित दल वा नेतासँग नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर