विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने अनुपस्थित – Nepal Press

विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने अनुपस्थित

मंगलबारको पेशी पनि स्थगित भए दक्षिण अफ्रिका नजाने मनस्थितिमा सन्दीप

काठमाडौं । जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित छन् ।

त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो ।

‘अहिलेसम्म दक्षिण अफ्रिका जाने तय भइसकेको छैन,’ स्रोतले भन्यो, ‘त्यसैले बन्द प्रशिक्षणमा अनुपस्थित रहनुभएको हो ।’ नेपाल क्रिकेट संघ (क्यान) भने सन्दीपलाई कुनै पनि हालतमा छुटाउने पक्षमा छैन । विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ ।

क्यानका प्रवक्ता दुर्गाराज पाठक सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाबे लैजाने वातावरण बनाउन सबै पहल भइरहेको बताउँछन् । ‘हामीले आफ्नो तर्फबाट सबै पहल गरिरहेका छौं, उहाँ टिममा नहुँदा हामीलाई धेरै ठूलो धक्का हुन्छ,’ उनले भने ।

सन्दीपको मुद्दामा मंगलबारलाई अर्को पेशी तोकिएको छ । यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोत बताउँछ । उनले यो विषयमा प्रशिक्षक मोन्टी देसाई र क्यानका पदाधिकारीहरुलाई पनि जानकारी गराएका छन् ।

हरेकपटक तारेख बुझ्न २१ दिनभित्र अदालतमा आफैं उपस्थित हुनुपर्ने भएकाले सन्दीपलाई विदेश यात्रामा कठिनाइ भएको हो । नेपालको दक्षिण अफ्रिका र जिम्बाबेको टुर झण्डै डेढ महिनाको छ ।

यहीबीचमा तारेख बुझ्न अदालतमा उपस्थित हुनुपर्ने भएकाले मंगलबारको सुनवाई स्थगित भएमा दक्षिण अफ्रिका नजान सन्दीपलाई उनका कानून व्यवसायीले पनि सुझाव दिएका छन् । यदि उनी पेशीको २१ दिनभित्र अदालत आउन सकेनन् भने उनले राखेको २१ लाख रुपैयाँ धरौटी जफत हुन्छ ।

हेर्नुहोस् तस्बिरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर