लुम्बिनीको बजेट अधिवेशन आजबाट – Nepal Press

लुम्बिनीको बजेट अधिवेशन आजबाट

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ ।

बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति र कार्यविभाजन’ सम्बन्धी प्राप्त पत्र सभामुखले सुनाउने रहेको छ ।

यसैगरी दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ ।

‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा कटौती गरेर बजेट ल्याउने तयारी भएको छ । चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएको र सोहीअनुसार योजना छनोट हुने प्रदेश आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले जानकारी दिए । लुम्बिनीले चालू आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो ।

यता नवनियुक्त आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेश योजना आयोगले पठाएको सिलिङभित्र योजना छनोट गर्न मन्त्रालयहरूलाई निर्देशन दिइएको बताएका छन् । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयगत र सांसदहरूसँग छलफल गरेको छ । आजको बजेट अधिवेशनलगत्तै प्रिबजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम ल्याइने मन्त्री मास्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर