वर्ष दिनसम्म पनि रनभुल्लमा पोखराका मेयर धनराज, के-के गरे काम ? – Nepal Press

वर्ष दिनसम्म पनि रनभुल्लमा पोखराका मेयर धनराज, के-के गरे काम ?

पोखरा । चुनावी उम्मेदवारका घोषणापत्र प्राय अमूर्त र बहुअर्थी वाक्यले भरिएका हुन्छन् । पोखराको मेयरका उम्मेदवार धनराज आचार्यले भने केही योजना र प्रतिबद्धता यस्ता पनि राखेका थिए जहाँ समय सीमा नै तोकिएको थियो ।

जस्तो कि निर्वाचित भएको ३ महिनाभित्र ज्येष्ठ नागरिकलाई घरदैलोमै भत्ता वितरण । समय सीमा निर्धारण गरिएकामध्ये अन्तिम २५ औं बुँदामा चाहिँ वर्र्षैपिच्छे उपलब्धि सार्वजनिक गर्ने उल्लेख थियो ।

आचार्यले मेयरमा जित हासिल गरी सपथ लिएर कार्यभार सम्हालेको १ वर्ष पूरा भएको छ । तर, घोषणापत्रमा उल्लेख गरेका थुप्रै काम उनले पूरा गर्नु त परै, कतिपय त सुरुसम्मै गरेका छैनन् ।

विभिन्न काम सुरु गरे पनि कुन क्षेत्रमा परिणाम कसरी दिने भन्नेमा मेयर आचार्य आफैं रनभुल्लमा परेका छन् ।

मेयर आचार्यले घोषणा पत्रमा समेटिएका ३ महिनाभित्र ज्येष्ठ नागरिकलाई घरदैलोमै भत्ता, महानगरको केन्द्रदेखि गाउँ गाउँमा जान साँझ बस सेवा सञ्चालन, घुम्ती अस्पताल, अनुसन्धानमा आधारित आवश्यकता अनुसारका विकास परियोजनाका प्राथमिकता निर्धारण गर्ने जस्ता काम घोषणापत्रमै सीमित छन् । १ वर्ष बित्दासमेत सुरु नै हुन सकेका छैनन् ।

मेयर आचार्यले आमा समूह लक्षित ‘एक समूह, एक उत्पादन’ सञ्चालन गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा, महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिट, वेस्ट बैंक लगायतको व्यवस्था ६ महिनाभित्र गर्ने घोषणा पत्रमा लेखेका थिए । ती योजना पनि १ वर्षसम्म पनि महानगरले सुरु गर्न सकेको छैन ।

फरक प्रयोजनमा प्रयोग भएका अन्डरग्राउन्ड खाली गर्नेदेखि पोखराका मुख्य सडक छेउमा पार्किङ निषेध गर्नेसम्म निर्णय मेयर धनराज आचार्यले गरे । अझै पनि केही ठाउँमा अन्डरग्राउन्ड पार्किङ खाली भएका छैनन् । बजार क्षेत्रका सडक छेउमा पार्किङ निषेध निर्णयबाट भने मेयर आचार्य आफैं पछि हट्नुपर्यो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बाधक ल्यान्डफिल सार्न मेयर आचार्यलाई निकै चुनौती थियो । विमानस्थल सञ्चालनकै लागि भए पनि मेयर आचार्यले अस्थायी ल्यान्डफिलको प्रबन्ध भने मिलाए ।

फोहोर व्यवस्थापनका प्रविधि हेर्न धरानदेखि भारतको दिल्लीसम्म मेयर आचार्य पुगे । अहिले पोखरा महानगरपालिका ३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनेको छ । स्थायी रुपमा ३३ नम्बर वडामा बनाउने प्रक्रिया सुरु गरेका छन् ।

ल्यान्डफिलका लागि आवश्यक जग्गाका लागि मन्त्रिपरिषदबाट निर्णय नभए पनि मेयर आचार्यले बैना गरिसकेका छन् ।

मेयर आचार्यले गत असोजमा फेवा तालको ६५ मिटर क्षेत्रभित्र कुनै संरचना नबनाउन आग्रह गरेका थिए ।

उनले त्यो क्षेत्रमै पुगेर मापदण्डभित्र कुनै संरचना नबनाउन र बनाउन लागेको संरचना रोक्न निर्देशन दिए । निर्माण गर्न लागिएको सामग्री पनि जफत गरिदिए ।

त्यसपछि भने फेवा ताल क्षेत्र मेयर आचार्यको निगरानीमा परेन । संरचना बनाउने कार्य निरन्तर चलिरहेको छ । दिनानुदिन फेवा ताल मासिँदै जाँदा मेयर आचार्य यसबारे बोल्न चाहेका छैनन् ।

जनताले महसुस गर्ने तहमा मेयर आचार्य नपुगेको अधिवक्ता दीपक पराजुली बताउँछन् । ‘जनताले महसुस गर्ने तहमा मेयर सा’ब पुगिसक्नुभएको छैन’, उनले भने, ‘आश गरौं, आगामी वर्ष पुग्नुहोला । त्यसरी पुग्नुभएछ भने भनौला तर पहिलो वर्षको संकेतले चाहिँ उहाँ त्यो तहमा पुग्नुभएको छ भन्दाखेरि त्यति उपयुक्त हुँदैन ।’

यो सिक्ने र बुझ्ने अवधि भएकाले १ वर्षले मात्रै मेयरको मूल्यांकन गर्न नसकिने जिल्ला विकास समितिका पूर्वसभापति पुण्य पौडेल बताउँछन् ।

‘मेयर आचार्यको काम गर्ने हुटहुटी भए पनि मान्छेहरुले आशा राखेको त्यो सम्भावना पूरा हुँदैन, जे प्रचार गर्यो, त्यति भए पनि काम गर्यो भन्नका लागि उसले जान्नुपर्यो, सिक्नुपर्यो, ब्युरोक्रेसी चलाउनुपर्यो । १ वर्षलाई समस्या होला, अर्काे वर्ष कस्तो गर्छन्, यसलाई हेररमात्रै मूल्यांकन हुन्छ । अहिले गर्न सकिँदैन,’ पौडेलले भने ।

१ वर्षमा केही राम्रा प्रयास भए पनि पर्याप्त नभएको अध्येता शेखर पराजुली बताउँछन् । ‘केही प्रयास त भएका छन्, तर, पर्याप्त मात्रामा हुन सकेको छैन । विभिन्न बाहनामा महानगरपालिकाले सेवाग्राहीलाई दुख दिने कामहरु भइरहेका छन् । त्यो कदमप्रति मेयरसाबको ध्यान जानुपर्ने हो । जान सकेको छैन,’ पराजुलीले भने ।

सुधारका काम

मेयर आचार्यले आफू निर्वाचित भएपछि केही सुधारका काम गरेका छन् । महानगरबाट दिने सेवामा एकद्वार प्रणाली लागु भएको छ ।

जसले गर्दा सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । हातमा फाइल बोकेर महानगरका कोठा कोठा चहार्नुपर्ने बाध्यता हटेको छ ।

मेयर आचार्यले घोषणा पत्रमा समावेश गरेको हेलो मेयर कार्यक्रम सञ्चालन गरेका छन् । सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गर्न हेलो मेयर कार्यक्रमले सहयोग गरेको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराकाचोक र मुख्य सडकमा हाइ मास्ट लाइट जडान भएका छन् ।

मेयर आचार्यले पूर्व मेयर मानबहादुर जिसीले २५ वर्षका लागि ठेक्का दिएको जग्गाको ठेक्का रद्द गरेका छन् । उनले उपत्यका नगरविकास समितिको नाममा रहेको ६३ रोपनी जग्गाको ठेक्का रद्द गरेका हुन् । घोषणापत्रमा समेटिए अनुसार बेरोजगारलाई रोजगार र स्वरोजगारलाई तालिमको सुरुआत पनि मेयर आचार्यले गरेका छन् ।

महानगरले वडालाई अधिकार रिलिज गर्नुपर्ने अध्येता पराजुली बताउँछन् । ‘संघीयता आइसकेपछि विकेन्द्रीकरण भएर स्थानीय तहमा धेरै अधिकार आइसकेको छ ।

तर, त्यो अधिकारको प्रत्याभूत अझै पनि हुन सकिरा छैन । यस हिसाबले वडाहरुले कम अधिकार पाएका छन्, पालिका नै अधिकार धेरै लिएर बसेको छ,’ उनले भने, ‘संविधानले गर्न नसकिने कुरा त उहाँले पनि गर्न सक्नु हुन्न । तर, सकेसम्म अधिकार रिलिज गर्ने गर्न सकिन्छ । वडालाई नै सबल बनाउने हो भने नगरपालिकामा चाप घटिहाल्छ ।’

‘पहिलो आधार र सफल वर्ष’

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पहिलो वर्ष आधार तथा सफल वर्षको रुपमा लिएको बताएका छन् ।

नेपाल प्रेससँग कुराकानी गर्दै मेयर आचार्यले घोषणापत्रमा उल्लेख गरेर अगाडि सारेका छौं, ती सबै कुराको आधार तयार पारेको दाबी गरे ।

‘समग्रमा यो वर्ष आधार वर्ष हो । हामीले जे कुरा घोषणापत्रमा उल्लेख गरेर अगाडि सारेका छौं, ती सबै कुराको आधार तयार भएको छ । हामी अगाडि बढेका छौं । हामीले एकद्वार प्रणाली सुरुवात गरी जनतालाई दिने सेवा चुस्त पारेका छौं,’ उनले भने, ‘नयाँ परियोजना पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर र यसलाई अगाडि बढाउने सम्बन्धमा दातृ निकायहरुको ठूला योजना अगाडि बढेका छन् ।

रोकिएका पुराना काम सबै द्रुत गतिमा अगाडि बढेका छन् । समग्रमा पहिलो वर्ष आधार वर्ष र सफल वर्षको रुपमा लिएका छौं ।’

दीर्घकालीन योजनाका कामको डिपिआर बनाउने, टेन्डर बनाउने तहमा पुगेको मेयर आचार्यले बताए ।

‘हामीले चाहिँ पोखरा महानगरपालिकाका सबै पक्षका काम अगाडि बढाएका छौं । दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढ्यौं । दीर्घकालीन योजनाका कामको डिपिआर बनाउने, टेन्डर बनाउने तहमा पुगेका छौं,’ उनले भने, ‘दातृ निकायका परियोजना अगाडि बढेका छन् । सुशासन र आन्तरिक काम व्यवस्थित ढंगले अगाडि बढेका छन् ।’

मेयर आचार्यले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरेर रोजगारीका अवसर सिर्जना गरेको उल्लेख गरे ।

‘अब नयाँ प्रोजेक्टको हिसाबले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरेर रोजगारीका अवसर सिर्जना गरेका छौं । अब विकास, निर्माणका नियमित कुरा धेरै अगाडि बढिसकेका छन् । १ फिट पनि बाटो पिच नभएको वडा नम्बर २३ मा धेरै बाटो पिच भएको छ,’ मेयर आचार्यले भने ।


प्रतिक्रिया

One thought on “वर्ष दिनसम्म पनि रनभुल्लमा पोखराका मेयर धनराज, के-के गरे काम ?

  1. उनको मुख्य उद्देश्य एमालेलाई रोक्नु थियो । काम गर्न त यिआएकै होईनन नि । भारतीय दलालहरू सबैतिर एमालेलाई रोक्न गठबन्धन बनाएर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर