आफैं फिल्म निर्माण गर्दै पल शाह, स्क्रिप्ट बोकेर निर्देशक राउतकहाँ पुगे – Nepal Press

आफैं फिल्म निर्माण गर्दै पल शाह, स्क्रिप्ट बोकेर निर्देशक राउतकहाँ पुगे

काठमाडौं । नायक पल शाहले चलचित्र निर्माण गर्ने भएका छन् । कारागारबाट निस्किएपछि पहिलो चलचित्र कसको गर्लान् भन्ने सबैको कौतुहललाई मेटाउँदै उनले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

आफ्नै निर्देशनमा चारवटा म्युजिक भिडियो बनाइसकेपछि अन्ततः पलले चलचित्र निर्माण गर्ने भएका हुन् । नायकबाट निर्माताको छवि बनाउन लागेका शाहको चलचित्रमा कोको कलाकारहरु हुन्छन् भन्नेबारे भने अहिलेसम्म फाइनल भइसकेको छैन ।

चलचित्रको स्क्रिप्टको काम भने उनले केही समय अगाडि नै सुरु गरेका थिए । उनको चलचित्रको स्क्रिप्टमा लेखक विकास सुवेदीले काम गरिरहेका छन् । चलचित्रमा को नायिका हुने भन्ने पनि अहिलेसम्म फाइनल भइसकेका छैन । आफ्नो चलचित्रको निर्देशनको पाटो समाल्न भने पलले निर्देशक दिनेश राउतलाई प्रस्ताव गरेका छन् ।

गायक स्वप्न सुमनलाई लिएर चलचित्र बनाउन लागेका निर्देशक राउतले भने पलको प्रस्तावलाई अहिलेसम्म फाइनल गरिसकेका छैनन् । राउतले पलसँग सहकार्य गर्ने सम्भावना भएको तर पक्का भने नभएको बताए ।

उनी भन्छन्, ‘‘प्रोजेक्ट के हो भन्ने कुरा पनि डिटेल्समा बुझ्नपर्‍यो । त्यतिकै ओके भन्ने कुरा भएन । गर्ने नगर्ने फाइनल भएको पनि छैन । चलचित्रको स्क्रिप्ट सुनेपछि सम्भावना देखेको छु । सबै कुरा अझै विस्तृत रुपमा बुझिसकेपछि समय उचित भयो भने सहकार्य हुनसक्छ । उहाँसँग काम गर्ने सम्भावना छ । तर, पक्का छैन।’

निर्देशक राउत थप्छन्, ‘उहाँले मलाई निर्देशनको लागि अफर गर्नुभएको हो । आफ्नो प्रोडक्सनबाट चलचित्र बनाउने भएपछि त्यहाँ राख्ने पात्रहरु पनि आफैं छनोट गर्ने हो । अहिले मात्र अफर आएको हो, दुईतर्फी ओके भइसकेको छैन ।’

आधिकारिक कुरा नभएसम्म र आधिकारिक घोषणा नभएसम्म चलचित्र गर्ने नगर्ने टुंगो नहुने उनको भनाइ छ ।

‘यो चलचित्र बनाउने कुरा अलि अगाडिदेखि नै भइरहेको थियो । यस विषयमा पहिला पनि दुई तीन चोटी कुरा भएको हो । पहिलो चोटी कुरा मसम्म पलजीले गर्नुभएको पनि हैन । उहाँको चलचित्रको लेखक विकास सुवेदीमार्फत कुरा भएको हो । पछि भेट्दा चाहिँ तीनै जना भेटेर कुरा भएको हो । प्लान उहाँहरु दुईजनाको हो । उहाँहरुको प्लानमा म जोडिएको हो । हामी यस्तो प्लान गर्दैछौं, यसमा हजुरको के प्लान छ भनेर उहाँहरुले प्रस्ताव गर्नुभएको हो । त्यति हो । थप केही कुरा भएको छैन’, उनले जोडे ।

आफू अर्को पनि चलचित्रमा जोडिएकाले गर्दा यस चलचित्रबारे सोच्नुपर्ने उनको तात्पर्य छ । ‘समयको कुरा हो, मिलाउनुपर्छ । मौखिक कुरामात्र भएर हुँदैन । जबसम्म लिखित हुँदैन तबसम्म फाइनल हुँदैन । अहिले मैले तपाईंहरुलाई ‘हो म गर्दैछु’ भनुँला, भरै भोलि गएर त्यो नहोला । त्यो त पछि सुन्दा पनि राम्रो भएन नि’, उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *