आजबाट सक्किगो नि, पाँडे भन्छन्- यत्तिको लगानीमा कुनै सिरियल बनेका थिएनन् र बन्दैनन् – Nepal Press

आजबाट सक्किगो नि, पाँडे भन्छन्- यत्तिको लगानीमा कुनै सिरियल बनेका थिएनन् र बन्दैनन्

काठमाडौं । १००औं भाग प्रसारण भएर रोकिएको हास्य टेलिशृंखला ‘सक्किगो नि’ पुनः प्रसारण हुने भएको छ । आजैबाट ‘सक्किगो नि’ को सिजन ३ प्रारम्भ भएको हो ।

कार्यक्रमको १००औं भाग सकिएपछि हिमालय टेलिभिजन र जेपीटी क्रियसनले तत्काललाई प्रशारण रोक्ने निर्णय लिएका थिए । अहिले फेरि हिमालय टेलिभिजनबाटै कार्यक्रम प्रशारण हुने भएको छ ।

हिमालय टीभीमा आज बेलुका ८ बजे र ईएच डिजिटल युट्युब च्यानलमा ९ बजे कार्यक्रम प्रसारण हुँदैछ । यसै कार्यक्रमको विषयमा ‘सक्किगो नि’का निर्देशक तथा प्रमुख कलाकार अर्जुन घिमिरे पाँडेसँग नेपाल प्रेसले गरेको कुराकानी:

– यो सिजनमा के फरकपन छ ? कथावस्तुमा केही भिन्नता वा कलाकार परिवर्तन हुनुभएको छ कि छैन ?

कलाकार परिवर्तन हुनुभएको छैन । मुख्य मुख्य लिड कलाकारहरु पहिला जो हुनुहुन्थ्यो, उहाँहरु नै हुनुहुन्छ । बरु केही नयाँ कलाकारहरु चाहिँ थपिनुभएको छ । तर, नयाँ जोडिनुभएको कलाकारहरुलाई हामीले यो पहिलो एपिसोडमा रिभिल गरेका छैनौं । हामी उहाँहरुलाई दोस्रो वा तेस्रो एपिसोडमा रिभिल गर्नेछौं । कथाको कुरा गर्नुपर्दा, बेसलाइन र थिमलाइन पहिलाको जस्तै हो । हामीले भोग्दै आएका सामाजिक कन्टेन्टहरुलाई हास्यास्पद शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छौं । समग्रमा, कार्यक्रमलाई सन्देशमूलक बनाउन खोजेका छौं ।

– पहिलाको श्रृंखला झैं यो श्रृंखलालाई पनि दर्शकले रुचाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

हामीले पहिला ५० भागको पहिलो सिजन गरिसकेपछि कोरोनाको लहरले छोप्यो । कोरोनाले गर्दा हामीले कामलाई निरन्तरता दिन सकेनौं । कोरोना सकिएपछि फेरि दोस्रो सिजन सुरु गर्‍यौं । १०० भाग पुगेपछि प्रसारणमा केही गाह्रो भयो । हामीले त्यसलाई पनि सरल हिसाबले नै लियौं । केही समय विश्राम पनि चाहिन्थ्यो । ननस्टप काम गर्दा कलाकारहरुलाई पनि गाह्रो हुन्छ । लोकेसन टाढा छ । त्यही भएर केही महिना आराम गरेर कार्यक्रमलाई केही परिमार्जित गरेर अघि बढौं भन्ने सोच थियो । त्यहीअनुरुप केही समय ग्याप लिएर अहिले तेस्रो सिजन लिएर दर्शकमाझ आएका छौं ।

विश्वास र आशा त सबैलाई हुने कुरा हो । पहिलाभन्दा हेर्ने दर्शक बढ्नुहुन्छ जस्तो लाग्छ । मान्छेलाई मनोरञ्जन चाहिन्छ । मनोरञ्जनको लागि हेर्ने हो । राम्रो लागेर नै पहिला पनि दर्शकले हेर्नुभएको थियो । अहिले पनि खोलेपछि सम्भवतः केही कुरा स्किप गर्न मन लाग्दैन । कार्यक्रम रोचक बनेको छ । क्लाइमेक्समा केही गम्भीर मुद्दालाई उठाएका छौं । हेर्ने मान्छेलाई हेरुञ्जेल सिरियलले बाँधेर राख्ने खालको बनाउन प्रयास गरेका छौं । सामान्यतया यस्ता खालका सिरियलहरुमा यत्रो लगानी कसैले लगाउँदैन । यत्रो लगानीमा कुनै सिरियल बनेका थिएनन् र बन्दैनन् पनि । अहिलेलाई यति भनौं । बाँकी भरे सिरियल हेरेपछि थाहा भइहाल्छ ।

– लगानी चाहिँ कति गर्नुहुन्छ एउटा एपिसोडका लागि ?

ठ्याक्कै त नभनौं । छायांकन गर्दा खर्च त भइहाल्छ नि ! त्यहीमाथि हाम्रो टीम धेरै ठूलो छ । बजारमा हरेक चिजको मूल्य बढेको छ । प्राविधिक, टेक्निसियन, उपकरण, खानेकुरा, यातायात, कलाकारलगायत सबैको खर्च बढेको छ । त्यति भएपछि खर्च बढी हुने भइहाल्यो । प्रोडक्सन, स्क्रिप्टिङ र भीएफएक्सको पार्ट पनि गाह्रै छ । नेपालमा भीएफएक्स सीमित छ र खर्चिलो पनि । सबैले भीएफएक्स जानेका छैनन् र गर्दैनन् । गर्नेले महँगो लिन्छन् । त्यही हो ।

– यसपालि पनि हिमालय टेलिभिजन नै किन रोज्नुभयो ?

पहिले उहाँहरुले रोक्नुभएको भन्दा पनि हामीले सहमतिमा निर्णय लिएका थियौं । त्यसै पनि हेर्नुस् न, देशमा आर्थिक संकट चलिरहेको छ । नेपालको विज्ञापन बजार एकदमै सीमित छ । त्यतिबेला मन भएर पनि जोडिन नसक्ने अवस्थाहरु थिए । त्यहीं भएर सहमतिमै केही समय होल्ड गरौं भन्ने सोचेका थियौं ।

एक त उहाँहरुसँगको हाम्रो सम्झौता सकिएको पनि थिएन । उहाँहरुसँग हाम्रो २०७७ मंसिर १७ गतेदेखि २०८० मंसिर १७ सम्मको सम्झौता छ । त्यही सम्झौताले गर्दा पनि हामी फेरि जोडिएका हौं । सम्झौता सकिएको भए त हामी अन्य केही काम गर्थ्यौं होला वा यो सिरियललाई अन्य कुनै टीभीमा लान्थ्यौं होला । केही समस्या भएकाले गर्दा केही समय रोकौं भनेरमात्र हो ।

पहिला हिमालय टेलिभिजनबाट कार्यक्रम प्रसारण हुँदा हाम्रो मार्केटिङ एजेन्सी अर्कै थियो । उहाँहरुले सबै डिल गर्नुहुन्थ्यो । उहाँहरुलाई मार्केटिङमा केही गाह्रो भएको अवस्था थियो । अहिले मार्केटिङ एजेन्सी परिवर्तन हुनुभएको छ । अहिले केही हदसम्म अवस्था सजिलो भएकाले प्रसारण हुन सजिलो भएको हो ।

– कतिवटा एपिसोडको छायांकन सक्नुभयो ?

हामीले कार्यक्रमको तीन भागको छायांकन सकिसकेका छौं । पहिलो भाग आज बेलुका ८ बजे हिमालय टीभी र ९ बजे ईएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुँदैछ । बाँकी विस्तारै छायांकन हुँदै जानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *