भरतपुरकी मेयर दाहालले महानगरका कर्मचारीलाई गराइन् माओवादीमा प्रवेश


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो कार्यालयका कर्मचारीलाई माओवादी पार्टीमा प्रवेश गराएकी छिन् । बिहीबार एक सार्वजनिक कार्यक्रम गरेर उनले महानगरका कर्मचारी सूर्यप्रकाश लामा र साकार लामालाई माओवादीमा स्वागत गरेकी हुन् ।
पार्टी प्रवेश गर्ने दुवैजना महानगरका अधिकृतस्तर सातौँ तहका इन्जिनियर हुन् । सूर्यप्रकाश लामा स्थायी कर्मचारी हुन् भने साकार लामालाई करारमा करिब सात महिनाअघि मेयर दाहालले नियुक्त गरेकी थिइन् ।
निजामती सेवा ऐन २०४९ को परिच्छेद ७, दफा ४४ ले स्पष्ट रुपमा निजामती कर्मचारीले राजनीतिमा भाग लिन नहुने उल्लेख गरेको छ । दफा ४३ ले कर्मचारी राजनीतिक वा अवाञ्छनीय प्रभावमा पर्न नहुने उल्लेख गरेको छ ।
सबैको साझा हुनुपर्ने भूमिकामा रहेकी नगर प्रमुख स्वयम्ले आफ्नै कर्मचारीलाई पार्टीमा जोडेकी हुन् । नेकपा एमालेको विद्यार्थी राजनीतिको जिल्ला नेतृत्वमा रहेका साकार लामा एमाले टुक्रिँदा माधव नेपाल पक्षमा बसेका थिए । पछिल्लो समय उनले भरतपुर नगर प्रमुख रेनु दाहाल निकट रहेर काम गरेका थिए ।
पार्टी प्रवेशका लागि कार्यालय समयमा नै कृष्णपुरमा रहेको माओवादी कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । दाहालले उनीहरुलाई रातो टीका र खादा लगाइदिइन् । सामाजिक सञ्जालबाट पनि उनीहरुलाई स्वागत तथा शुभकामना भन्दै फोटोहरु पोष्ट गरेकी छिन् ।