नेपालको छवि उच्च राखेको छुु, गृहमन्त्री छँदा अन्तर्राष्ट्रिय समुदायले पनि प्रशंसा गरेका थिए : बालकृष्ण खाण – Nepal Press

नेपालको छवि उच्च राखेको छुु, गृहमन्त्री छँदा अन्तर्राष्ट्रिय समुदायले पनि प्रशंसा गरेका थिए : बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाणले प्रहरीलाई बयान दिने क्रममा गृहमन्त्रीका रुपमा आफ्नो कार्यकालको बखान गरेका छन् ।

आफूले नेपालको नाम उच्च राख्ने काम गरेको उनको दावी छ । नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रयासरत गिरोहबाट प्रयोग भएको आरोप लागेका खाणले प्रहरीसँग आफू निर्दोष भएको जिकिर गरेका थिए ।

बयानमा उनले भनेका छन्, ‘म गृहमन्त्री रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन, कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम ईमान्दारीपूर्वक सम्पदन गरेको हुँ । भुटानी शरणार्थीको नाममा नेपालीहरुलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनि रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन ।’

‘म गृहमन्त्री भएछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरुलाई निर्देशन दिँदै आएको सर्वविदितै छ । यसै सन्दर्भमा भुटानी वा तिब्ति शरणार्थीहरले कुनै अवाञ्छिनीय गतिविधि नगरुन् भनी त्यसका लागि पनि दिर्नेशन दिँदै आएको हुँ’, खाणले भनेका छन् ।

उनी थप्छन्, ‘म गृहमन्त्रीको ओहदामा हुँदा तथा मन्त्रीको ओहदामा नहुँदा समेत नेपालको छवी उच्च राख्ने काम गरेको छु । कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ, जसको अन्र्तराष्ट्रिय समूदायले समेत प्रशंसा गरेका थिए ।’

खाण गृहमन्त्री भएकै समयमा मन्त्रालयबाट शरणार्थीसम्वन्धी कार्यदलको प्रतिवेदनमा हेरफेर भएको थियो । त्यसमा आफ्नो कुनै हात नभएको खाणले बताएका छन् ।

यस विषयमा खाणले दिएको प्रष्टीकरण छ, ‘नेपाल सरकार कार्यसम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्यक्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ । तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ । एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यवहोरा हुन सक्दैन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन, सम्झौता लगायत अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ । यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो ।’

खाणले गैरभुटानीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक नभएको र आफूले सोच्न पनि नसक्ने बताएका छन् ।

हेर्नुस बयानको पूर्णपाठ: 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर