नक्कली शरणार्थी प्रकरण : गिरोहले ८१ जनालाई दिएको थियो नक्कली नाम, कसको के ? (सूचीसहित) – Nepal Press

नक्कली शरणार्थी प्रकरण : गिरोहले ८१ जनालाई दिएको थियो नक्कली नाम, कसको के ? (सूचीसहित)

काठमाडौं । भुटानी शरणार्थी ठगी प्रकरणमा गिरोहले नेपालीलाई नक्कली नाम दिएर शरणार्थी बनाई करोडौं ठगेको भेटिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोगमा ८१ जना पीडितलाई नक्कली नामबाट भुटानी मानव अधिकार संगठनको नामबाट परिचयपत्र दिइएको उल्लेख छ ।
यस्तै भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा पछि थपिएको भनिएको अनुसूचीमा नेपालीलाई दिइएको भुटानी शरणार्थीका नामहरू उल्लेख छन् ।

त्यसमा नेपालीका सबै नाम फेरिएको देखिन्छ । जस्तै सन्तोष शर्मालाई रोहित शर्मा कोइराला, विवेक थापालाई कृष्ण कार्की, प्रदीप अर्याललाई प्रदीप पौडेल बनाइएको छ ।

यो प्रकरणमा पक्राउ परेका सन्देश शर्माले प्रतिवेदनमा नेपाललाई दिइएको नक्कली शरणार्थीको नाम परेको विवरण देखाएर उनीहरूलाई आश्वास्त पार्ने काम गरेको दाबी गरिएको छ । त्यसरी पीडितलाई पठाइएको डकुमेन्ट र कार्यदलले बुझाएको भनिएको प्रतिवेदनमा रहेका नामहरूलाई दाँजेर हेरिएको थियो ।

‘पीडितहरूको भुटानी शरणार्थी नाम के-के हुने भनेर पहिल्यै उनीहरूलाई थाहा दिइएको थियो । पछि प्रतिवेदनमा समावेश भएको नामहरूको फोटो खिचेर पीडितलाई पठाउँदै आश्वस्त पार्न खोजेको देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् । अभियोग पत्रमा समावेश भएको विवरणअनुसार ५७ जना पीडितको नाम (शरणार्थी नाम) कार्यदलले तयार गरेको प्रतिवेदनमा छ । अन्यको हकमा शरणार्थी परिचय पत्र दिएर आश्वस्त पारिएको देखिन्छ ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन गठित कार्यदलको प्रतिवेदनको अनसूची ७ मा ‘२०१९ जोइन्ट रिफ्युजी कोअर्डिनेसन युनिट एन्ड यूएनसीएचआर सेन्सस एब्सेन्टी भेरिफिकेसन’ लेखिएको २१२ जनाको नामावली विवरण भएको तालिका, अनुसूची-८ मा जनगणनामा छुट (सीए) भई दर्ताका लागि भेरिफाइड भएका शरणार्थीहरुमध्ये तेस्रो देश पुन:स्थापना हुन इच्छुकहरूको विवरण (३९ परिवारका जम्मा १ सय १९ जनाको विवरण तालिका) उल्लेख रहेको अभियोग पत्रमा भनिएको छ ।

यस्तै अनुसूची -९ (क) मा विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनर्स्थापन माग गर्दै कार्यदल समक्ष निवेदन दिने क्याम्प बाहिर ठेगाना देखाएका जम्मा ४ सय ५१ परिवारका ५ सय ३५ जना निवेदकको विवरण तालिका, अनु्सूची-९ (ख)मा विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो मुलुक पुन:स्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पभित्र ठेगाना देखाएका १ सय ३० परिवारका ३ सय ४० जना निवेदकको विवरण तालिका र अनुसूची-१० मा तेस्रो मुलुक पुन:स्थापनाका लागि निवेदन दिने दर्तावाला शरणार्थी र तीनका १ सय ७४ परिवारका सदस्यहरूको विवरण उल्लेख रहेको पनि भनिएको छ ।

अभियोगपत्रमा उल्लेख गरिएको कार्यदलको प्रतिवेदनमा रहेका शरणार्थीसँग मिल्ने पीडितहरुको नाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर