रोजगार मेलामा साढे पाँच सयभन्दा बढीको आवेदन – Nepal Press

रोजगार मेलामा साढे पाँच सयभन्दा बढीको आवेदन

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सयभन्दा बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।

दुई दिने रोजगार मेला (जब फेयर) मा ५५० जना बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले बताए ।

मेलामा आउने अधिकांश कलेज पढ्ने विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, वैदेशिक रोजगारीबाट फर्किएकालगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा करिव ३ सय जनालाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्योग प्रतिष्ठानहरुमा आवश्यक जनशक्तिअनुसार प्रारम्भिक छनोट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुले बताएका छन् ।

रोगारीको अवसर खोजेर मेलामा आएकाहरुले आफ्नो क्षमता र चाहनाअनुसारको कामको छनोट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तर्वार्ता गरेर सर्ट लिस्टिङ गरको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार काममा बोलाइने उनीहरुले बताएका छन् ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरिन् । उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै प्रशंसा गरिन् ।

मेलाको मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका थिए ।

नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेकाले यसबीचको तारतम्य मिलाउन रोजगार मेला गरिएको इन्टरनेशनल लेवर अर्गनाइजेशन (आईएलओ)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर