‘बालेन्द्रलाई भन्दिनु होला, पश्चिमे राम दाइले सम्झेको छ’ – Nepal Press

‘बालेन्द्रलाई भन्दिनु होला, पश्चिमे राम दाइले सम्झेको छ’

बालेनको घरमा गलैंचा बुन्दै धान काटिदिएका डोल्पाका रामबहादुर बोहरा भन्छन्- बालेन्द्रले त मलाई बिर्सिसक्यो होला

डाेल्पा । ‘ओ पश्चिमे राम दाइ ! ड्याडीले धान काट्न बोलाउनुभएको छ । घरमा आउनुस् रे !’

आजभन्दा झण्डै १८ वर्षअघि १४ वर्षका बालेन्द्र शाह ‘बालेन’ले यसैगरी बोलाउँथे डोल्पा दाफुका रामबहादुर बोहरालाई । उनीहरुको घरमा गलैंचा कारखाना थियो । बोहरा गलैंचा मजदुरको हैसियतमा कारखाना पुगेका थिए । महिनाको पाँच सय तलब बुझ्थे ।

घरमा पाँच छोराछोरी र श्रीमती छाडेर पैसा कमाउन काठमाडौं हान्निएका बोहरालाई डोल्पाकै साहुले गलैंचा मजदुरको रुपमा काठमाडौं पुर्‍याएका थिए । बालेनको घरमा काम पनि गरिदिन्थे । बालेनहरुको धरायसी काममा समेत बोहराको साथ सहयोग थियो । धान काट्न होस् या सानातिना कामहरु गर्न, फुर्सदको बखत बोहरा तयार भइहाल्थे । कामको बदलामा चिया, नास्तासमेत उपलब्ध हुन्थ्यो ।

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमुनिको त्रिपुराकोटको सानो टहरामा भेटिएका सुरुमै सोध्छन्, ‘कहाँबाट आउनुभएको ?’

‘काठमाडौंबाट बुवा’, हाम्रो जवाफ थियो ।

‘बालेन्द्र शाह छ नि काठमाडौंका मेयर ! उसलाई भेट्न मन छ ।’

‘भन्नाले बालेन शाह ?’, हामीले सोध्यौं ।

‘होइन, बालेन्द्र शाह !’, मुलाको अचारसँग भाख खाएर हात चुठ्न निस्किएका बोहरा ठिंग उभिएर बोल्छन् ।

बोहराले बालेन शाह चिन्दैनन् रहेछन् । मोबाइलमा टावरसम्म राम्रोसँग नदिने ठाउँमा बाँचिरहेका बोहराले बालेनको र्‍याप गीत सुन्ने मौका कहाँबाट पाऊन् र चिनून् ? अक्कलझुक्कल अरुको फोनमा कुराकानी गर्नुबाहेक आफ्नो हातमा मोबाइल फोन बोक्ने अवसरसमेत पाएका छैनन् उनले ।

बोहराको स्मृतिमा डुलिहिँड्ने भनेको त्यही १४ वर्षका बालेन्द्र हो । अहिले टीभीमा वा कसैको मोबाइलमा कालो चश्मा र कोटमा टाँठिएका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह देख्दा उनी चकित पर्छन् । त्यही वेलामात्रै उनलाई याद आउँछ, ‘म त २०२८ सालको मान्छे हो ।’

अहिले ५२ वर्ष पुगेका बोहरालाई उमेरले नेटो काटिसकेको जस्तो लाग्छ । डोल्पाको चिसोलाई पातलो लुगाले मात्रै छेकेका उनी लोहोटाको पानी हामीलाई पिउन दिँदै बोल्छन्, ‘आफू कमाउन सक्दैन । हल्का मिस्त्री काम भए सहज हुन्थ्यो । मुढे काम त सकिँदैन है ! ढुंगा फुटाल्ने, घन हान्ने काम त सकिने छैन ।’

डोल्पाको चिसो, गरीबी र अक्करे बाटोहरु झेलिरहेका बोहरासँग डोल्पाको त्रिपुरासुन्दरी मन्दिरभन्दा मुनिको कच्ची सडकमा भेट भयो । डेढ वर्षअघि मात्रै सडकले छोएको डोल्पाको दुनै गइरहेका थियौं, पुरानो मोडलको जीपमा । सात जना बोक्न सक्ने जीपमा हामी आलुको बोरा खाँदिए जसरी १७ जना थियौं । गाडीभित्र १४ जना थियौं । तीनजना छतमा थिए । कालो धुवाँ फाल्दै गाडी घ्याच्च घ्याच्च गरिरहेथ्यो । गियर बदल्नासाथ गाडी रोकिन्थ्यो ।

गाडीको बत्ती झिमिकझिमिक हुँदै भए पनि बलिरहेथ्यो । गाडीको झ्यालभित्रबाट खोल्न सकिँदैन । खिया लागेको झ्याल खोल्न तीन वर्ष उमेर बढाएर तीन वर्षदेखि ड्राभइर भएका १९ वर्षीय सन्तोष नै ड्राइभर सीटबाट झरेर झ्याल खोलिदिनुपर्थ्यो ।

त्रिपुरासुन्दरी मन्दिरको मुनि पुगेपछि गाडी झ्याप्प रोकियो !

गाडीमा तेल सकिएछ । ड्राइभरले चारपाँच पटक गाडी स्टार्ट गर्न खोजे । तर, रुघा लागेको घाँटी जस्तो गाडीले घ्यार्रमात्रै गरिरह्यो । ड्राइभर छेवैमा बसेकी एक युवती चिच्याएर उर्दी जारी गर्न पुगी, ‘कस्तो के भाइ ! गाडीमा तेल भए नभएको पनि थाहा हुँदैन ? हामीलाई जसरी पनि पुर्‍याऊ !’

‘दिदी, यस्तो बाटो छ, तेल नभएको थाहा थियो ! तर बाटोमा पेट्रोल पम्प देख्नुभयो कतै ?’

तर, ती युवतीले झनै चर्को स्वरमा कराई । ड्राइभर पनि रन्कियो । एकछिन उनीहरुको सवाल सोधासोध भयो । कसलाई के थाहा छैन, कसले के बुझ्नुपर्ने कुरामा उनीहरु अलमलिए ।

केही मिनेटको लफडापछि ड्राइभरले हामी प्यासेन्जरलाई सम्बोधन गर्दै बोले, ‘तपाईंहरु यही बस्दै गर्नुस् । म पर त्रिपुरा बजारमा गएर तेल लिएर आउँछु ।’

ड्राइभर गाडीबाट बाहिर निस्किए ।

‘ए भाइ, हाम्रो झ्याल खोलिदेऊ त ! हामी बाहिर बस्दै गर्छौं’ रोहेज बोले ।

ड्राइभरले झ्याल खोलिदिए । रोहेज, सागर र म झम्के साँझमा पसल खोज्न निस्कियौं । ठूला पहाडबीचको खोंचमा ठूलीभेरी छ । ठूलीभेरीबाट एक तमासको आवाज आइरहेको छ । अलि तल्तिर टिनले छाएका केही छाप्राहरु रहेछन् । तर, सुनसान र शान्त !

हामी त्यतै हान्नियौं । करिब छ वटा टहरा पार गरेपछि एउटा सानो कोठा जत्रो टहरा आइपुग्यो । टहराभित्र दुई वृद्ध मुलाको अचारसँग निस्तो भात खान लागेका रहेछन् ।

‘बुवा, चाउचाउ छ ?’

‘छ ।’

‘तीनवटा दिनुस् न ।’

एक वृद्धले चाउचाउ दिए । हामी चाउचाउ फुटाउनतिर लाग्यौं ।

‘जे जसो गरी कमाए पनि धन्न विनोद चौधरीले यति चाहिँ गरिदिएको छ । स्वास्थ्यलाई एकातिर राख्ने हो भने ग्यास भरिएको पेटमा थोरै भए पनि यसले राहत दिन्छ’, रोहेज बोल्यो ।

हामी चाउचाउ चपाउँदै गर्दा भित्रबाट रामबहादुर हात चुठ्न निस्किए । र सोधे, ‘कताबाट आउनुभएको हो बाबुहरु ?’

रामबहादुरले काठमाडौंको गलैंचा कारखानामा पाँच सय तलब पाउँथे । तर, ऊ जस्तै काम गर्नेहरुले विस्तारै महिनाको आठ नौ हजार खान थाले । उसको भने तलब जहींको तहीं रह्यो । यसबारे साहुलाई गुनासो गरे । डोल्पाकै साहुले एक सय रुपैयाँ बढाइदिए । बोहराको तलब ६ सय भयो ।

‘हामी जस्ता काम देखाएरमात्रै कमाउन खोज्नेहरुको लागि काठमाडौं होइन रहेछ बाबु ।’

त्यसपछि काठमाडौं छाडेका बोहरा फेरि काठमाडौं कहिल्यै फिरेनन् ।

बोहराको जेठो छोरो श्यामचन्द्र र साहिँलो छोरो अहिले यार्सा टिप्न पाटन गएका छन् । बोहराले १५ रुपैयाँ ब्याजमा ऋण काढेर दुई छोरोलाई यार्सा टिप्न पठाएका हुन् । यही जेठ १० गतेबाट से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा टिप्न खुला गरेकाले उसका छोराहरु पहिलोपटक गएका हुन् ।

‘दुईजनाले २५-२५ सय निकुञ्जलाई बुझाउनुपर्छ । बाँकी १० हजार रहन्छ । त्यो पनि आठ नौ हजारको त सामानमात्रै किन्नुपर्छ । बुटी पाउँछ कि भनेर पठाएको हुँ’, बोहरा विस्तारमा सुनाउँछन् ।

छोराहरु पाटन गए पनि बोहरा भने अहिलेसम्म गएका छैनन् । अब त पाटन जानलाई उसको उमेर पनि बाधक बनिसकेको छ । एकपटक भोट चाहिँ गएका थिए । पुराना सामान केही पाउने आशमा भोट पुगेका बोहरा रित्तो हात फिरे ।

‘म त भोटमा झण्डै मरेको नि ! धन्न एउटा ज्याकेट लिएर गएको थिएँ र बाँचें ।’

बोहराको डोल्पातिर झुरुप्प-झुरुप्प पातला गाउँ छन् । त्यो गाउँमा नेता आइपुग्ने भनेको चुनावको वेला हो । उनीहरु आउँछन्, भोट माग्छन् र जान्छन् । बोहराले नेताको अनुहार राम्रोसँग हेर्ने भनेको चुनावकै वेलामात्रै हो ।

अलिअलि मोबाइल, टीभीमा देश विदेशका घटना र समाचारहरु सुनेका बोहरालाई राजनीतिप्रति चासो छैन । एक छाक पेटभरि जोहो भए पुग्छ । तर, पछिल्लो समय भने राजनीति गर्ने नेताहरुसँग रिस उठ्न थालेको छ । झनै बालेनले काठमाडौंमा गरेका कामहरु सुन्दा आफ्ना जिल्लाका नेताहरुप्रति अजंगको रिस उठ्छ उनलाई ।

‘डोल्पाली जनता कार्टन भइसकेका छन् । हामी त कार्टन हौं र ? कसैको चाउचाउ, फ्रुटीको कार्टनमात्रै होइन । कसैको चाहिँ मीठो पाकिहाल्ने तयारी रारा चाउचाउमात्रै होइनौं’, बोहरा आक्रोश पोख्छन् ।

बोहरा थप्छन्, ‘चामलका व्यापारीले पैसावालालाई मात्रै हेर्छन् । थाइ जागिर खानेलाई हेर्छन् । जागिर खानेहरुले चामल ल्याइदिनु भनेर चिठी लेखेको भरमा चामल, चिनी घरमै थुपारिदिन्छन् । हामीलाई त त्यस्तै हो, पैसा भयो भने खायो । नत्र भोकै बस्यो ।’

दुःख र चिसोले खजमजिएका राम दाइको एउटा रहर चाहिँ छ- काठमाडौं गएर बालेन्द्रलाई भेट्ने । गफ गर्ने । उनले गरेका कामहरु हेर्ने । तर, त्यसका लागि पैसा चाहियो । उनी भन्छन्, ‘काठमाडौं जान ५०-६० हजार पैसा लाग्छ । देश दुनियाँ घुम्न त मनलाग्छ । तर, जानलाई पैसा पनि चाहियो ! काठमाडौंमा बालेनलाई भेट्नुभो भने भन्दिनु होला, पश्चिमे रामु दाइले सम्झेको छ भनेर । तर, उसले त बिर्सिसक्यो होला मलाई ।’


प्रतिक्रिया

One thought on “‘बालेन्द्रलाई भन्दिनु होला, पश्चिमे राम दाइले सम्झेको छ’

  1. हामी चाउचाउ चपाउँदै गर्दा भित्रबाट रामबहादुर हात चुठ्न निस्किए । र सोधे, ‘कताबाट आउनुभएको हो बाबुहरु ?’
    ………………………………….
    रामबहादुरले काठमाडौंको गलैंचा कारखानामा पाँच सय तलब पाउँथे । तर, ऊ जस्तै काम गर्नेहरुले विस्तारै महिनाको आठ नौ हजार खान थाले । उसको भने तलब जहींको तहीं रह्यो । यसबारे साहुलाई गुनासो गरे । डोल्पाकै साहुले एक सय रुपैयाँ बढाइदिए । बोहराको तलब ६ सय भयो ।
    यो वीचको स्टोरी खै?
    अपुरो स्टोरी रहेछ । या तलमाथि पर्यो एकपटक पुन: पढेर सच्याउनुहोला ।
    धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर