पक्राउ परेकाहरूको बयान भोलिबाट, धरौटीमा छोड्ने वा नछोड्ने निर्णय लिन एक साता लाग्न सक्ने – Nepal Press
नक्कली शरणार्थी प्रकरण

पक्राउ परेकाहरूको बयान भोलिबाट, धरौटीमा छोड्ने वा नछोड्ने निर्णय लिन एक साता लाग्न सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरू अझै कम्तीमा एक साता प्रहरी हिरासतमा रहने देखिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । बुधबार अबेर मुद्दा दायर भएका कारण अदालतमा प्रतिवादीहरूको बयान सुरू हुन सकेन । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ ।

अब शुक्रबारदेखि अदालतमा बयान सुरू हुनेछ । पक्राउ परेका १६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ । एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २/३ घण्टा लाग्नेछ । सरकारी वकिल कार्यालयमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले करिब ९ घण्टा र पूर्वमन्त्री टोपबहादुर रायमाझीले साढे ५ घण्टा लगाएका थिए ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।

अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर