हिक्मत सरकार तत्काल नढल्ने कांग्रेसकाे निष्कर्ष – Nepal Press

हिक्मत सरकार तत्काल नढल्ने कांग्रेसकाे निष्कर्ष

उद्धव थापाले भने- नेताहरू अर्कै तनावमा हुनुहुन्छ हाम्रो कुरा कसले सुन्ने ?

विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार तत्काल परिवर्तन हुन नसक्ने निष्कर्षमा नेपाली काङ्ग्रेस पुगेको छ ।

प्रदेशको नीति तथा कार्यक्रम ल्याउनु भन्दा अगाडि नै प्रदेश सरकार परिवर्तनका लागि दबाब दिइरहेको नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दल तत्काल सरकार परिवर्तन हुन नसक्ने निश्कर्षमा पुगेको हो ।

गठबन्धन दलहरू नेकपा माओवादी केन्द्र र जसपालाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिइरहेको छ ।

तर केन्द्रीय नेताहरूले नै कोशी प्रदेश सरकार परिवर्तनका लागि खास चासो नदेखाएपछि यही सरकारले बजेट नीति तथा कार्यक्रम ल्याउने नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।

नेपाली काङ्ग्रेस कोशी प्रदेशका सभापति समेत रहेका थापाले गठबन्धनका केन्द्रीय नेताहरूले नै सरकार परिवर्तनका लागि खास चासो नदिएको बताए ।

उनले भने, अहिले उहाँहरू सरकार परिवर्तनमा भन्दा पनि अरू नै कुराको तनावमा हुनहुन्छ हाम्रो कुरा सुन्नु नै हुन्न । पार्टी सभापति र शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनका विषयमा निर्देशन दिनु भएन हामीले मात्रै भनेर केही भएन । ’

हामीले गठबन्धनमा रहेका दलहरू माओवादी र जसपालाई पटक पटक समर्थन फिर्ता लिन आग्रह ग¥यौ । नेता थापाले भने,‘अहिले सम्म कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएन । हामीले पटक पटक भन्दा पनि नमानेपछि पत्र पठायौ । पत्र पठाउँदा पनि उहाँहरूले अहिले सम्म समर्थन फिर्ता लिनु भएन ।’

केन्द्रमा भएको गठबन्धन अनुसार कोशी प्रदेशमा पनि त्यही अनुसारको सरकार बनाउनु पर्छ भन्ने तर उहाँहरू कुन परिबन्धमा हुनुहुन्छ सरकारबाट बाहिर आउनु हुन्न ?

उनले पार्टी सभापति र माओवादी केन्द्रका अध्यक्षसँग कुरा गर्दा पनि उहाँहरूको प्राथमिकतामा सरकार परिवर्तन नभएको बताए ।

उहाँहरू अर्कै तनावमा हुनहुन्छ, उनले भने अहिले नै समर्थन फिर्ता लिने र सरकार परिवर्तन हुने सम्भावना देखिन ।
उनले माओवादी केन्द्र र जसपालाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने वातावरण बनाउन आग्रह गरे ।

नेपाली काङ्ग्रेस कोशी प्रदेशका सभापति समेत रहेको थापाले यही सरकारले बजेट नीति तथा कार्यक्रम ल्याउने अवस्था आएको बताए ।

हामीसँग बजेट नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छैन । छलफल गरेर ल्याए बजेट पास हुन्छ नभए हुँदैन । उनले भने, हामी सरकार कसरी अगाडि बढ्छ यही हेरेर बसेका छौ ।

कोशी प्रदेशमा एमाले, माओवादी केन्द्र राप्रपा र जसपाको संयुक्त सरकार छ । ९३ सिट रहेको कोशी प्रदेशमा सबैभन्दा बढी एमालेको ४० सिट रहेको छ । हिक्मत कार्की नेतृत्वको सरकारलाई १३ सदस्य रहेको माओवादी, ६ सदस्य रहेको राप्रपा र १ सदस्य रहेको जसपाले समर्थन गरेको छ ।

सङ्घीय सरकारको गठबन्धनमा रहेको काङ्ग्रेस भने अहिले कोशी प्रदेश सरकारभन्दा बाहिर छ ।

काङ्ग्रेसको निरन्तरको दबाब

नेपाली काङ्ग्रेस संसदीय दलको बैठक जेठ ४ गते विराटनगरमा बस्यो । बैठकले माओवादी केन्द्र र जनता समाजवादी केन्द्रलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्ने निर्णय गर्यो ।

बैठकले निर्णय गरेसँगै जेठ ५ गते नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो र जनता समाजवादी संसदीय दलका नेता निर्मला सुब्बालाई समर्थन फिर्ता लिन आग्रह गर्दै औपचारिक पत्र लेखे ।

सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गर्दै पत्र लेख्दा समेत जसपा र माओवादीले सरकालाई दिएको समर्थन फिर्ता लिएनन् ।

बरु माओवादी केन्द्र आगामी बजेट नीति तथा कार्यक्रम ल्याउनका लागि तयारीमा लागेको छ ।

कोशी प्रदेश सरकारले असार १ अगावै बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहँदा कोशी प्रदेश सरकारमा रहेको माओवादी बजेट र योजना बनाउने तयारीमा लागेको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने नगर्ने निर्णय पार्टी केन्द्रको बिषय भएको बताए । उनले काङ्ग्रेस पठाएको पत्रका बारेमा पार्टी अध्यक्षलाई जानकारी गराएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर