३ महिनापछि सदन फर्किएका चन्द्र भण्डारीकाे आग्रह- सरकारकाे सहयोग अस्पताल निर्माणमा प्रयोग हाेस् (भिडिओ) – Nepal Press

३ महिनापछि सदन फर्किएका चन्द्र भण्डारीकाे आग्रह- सरकारकाे सहयोग अस्पताल निर्माणमा प्रयोग हाेस् (भिडिओ)

'तीन वर्षमा भेन्टिलेटरमा पुगेका ३ जनामध्ये म भाग्यले बाँचे'

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।

भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको अनुभव सुनाएका छन् ।

उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’

भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उनले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिँदै त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताएका थिए ।

भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ हेरे मलाई डाक्टरहरुले भन्नुभयो । विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु ।’

उनले आफूले उपचार गराएका बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट गरेको उल्लेख गर्दै नेपालमा पनि कमी नरहेको बताए ।

उनले भने, ‘मैले प्रधानमन्त्रीलाई अनुरोध गरे हामीले एउटा हस्पिटल बनायौं भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर