मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस् (भिडिओ) – Nepal Press

मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस् (भिडिओ)

‘प्रधानमन्त्रीजी तपाईँको मुटु चेक गर्न कुन अस्पताल जाने भन्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकामाथि छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आइरहेको छन्। नाम आएकै भरमा दोषी भन्न मिल्दैन तर, राज्यले छानबिन गर्न सक्छ नाम आएको व्यक्ति बेपत्ता हुन्छ त्यसपछि सामसुम हुन्छ।’

उनले कांग्रेस सांसदद्वय मञ्जु खाण र आरजू राणा देउवालाई लक्षित गर्दै बयान सकिएपछि संसदमा प्रकट हुनेदेखि मिडियामा तामा तुलसीको कसम खानेमाथि पनि छानबिन गर्नुपर्ने बताए।

उनले भने, ‘उहाँहरूलाई बरु प्रहरीसम्म रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्। प्रधानमन्त्रीजी, तपाईँले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईँको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्। काम्दैन भनेको तपाईँको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’

उनले नाम जोडिएकाहरूलाई एक पटक बयानका लागि पनि नबोलाएर अविश्वासको वातावरण सिर्जना नगर्न आग्रह गरे।

उनले थपे, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईँहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। त्यसलाई रोक्नुस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर