गर्भवती मृत्यु प्रकरण : सिन्धुली अस्पताल र पीडितबीच तीन बुँदे सहमति – Nepal Press

गर्भवती मृत्यु प्रकरण : सिन्धुली अस्पताल र पीडितबीच तीन बुँदे सहमति

काठमाडौं । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि ठप्प रहेको सिन्धुली जिल्ला अस्पतालको सेवा सुचारु भएको छ ।

अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितपक्षबीच सहमति भएपछि तोडफोड भएका सामान मर्मत गरी सेवा सुचारु भएको हो ।

सहमति अनुसार घटनाको छानबिनका लागि समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने भएको छ ।

समितिमा मन्त्रालबाट तोकिएका चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि १ र पीडित पक्षबाट १ जना रहनेछन् ।

यस्तै, अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधार गर्ने सहमति भएको छ ।

पीडित पक्षबाट मृतकका जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुल बहादुर गुरुङले हस्ताक्षर गरेका छन् । अस्पतालका तर्फबाट अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिन्डेटेन्ट उमेश प्रधानले हस्ताक्षर गरेका छन् ।

आन्दोलनपछि स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका थिए । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका थिए ।

कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ मंगलबार बिहान १० बजेतिर अस्पताल आएकोमा त्यहाँबाट रिफर गरेपछि बर्दिबास लगिएको थियो । ती महिलाको बर्दिबास लैजाने क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *