एमाले महासचिवको आरोप- अडियो छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिमाथि छानबिन भएन – Nepal Press

एमाले महासचिवको आरोप- अडियो छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिमाथि छानबिन भएन

बादल र प्रेम राईको नाम जोडिएकोमा विष्णु रिजालको आपत्ति

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पाखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूमाथि प्रहरीले पर्याप्त छानबिन नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुलाई लक्ष्यित गर्दै फेसबुकमार्फत आपित्त जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो-भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्कारूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरूदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’

आरजु र मञ्जुलाई करोडौं पैसा बुझाएको दाबी गरिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

यस्तै, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले केपी ओली सरकारका पालामा शरणार्थीसम्बन्धी अध्ययन कार्यदल बने पनि त्यसले कुनै गलत प्रतिवेदन नदिएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘फलतः देउवा सरकारका पालामा गिरोहले गृहबाट सक्कली प्रतिवेदन झिकेर नक्कली प्रतिवेदन बनायो र मान्छे ठग्यो । अनि अनेक कथा बनाएर असम्बन्धित व्यक्तिका नाम जोड्नुको के औचित्य छ ? कुरा सीधा छः बाहिर क-कसले ठगे होलान्, हामी मिलाइदिन्छौँ भनेर कसैका नाम दुरुपयोग गरे होलान्, तर सरकारी तवरबाट ओली सरकारका पालामा कुनै मान्छे संलग्न भएको र कुनै गलत काम भएको प्रहरी अनुसन्धानबाट देखिएन ।’

उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेम राईको नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।

रिजालले भनेका छन्, ‘प्रधानमन्त्री र उहाँको टीमको त कुरै भएन, तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राईको समेत कुनै संलग्नताको गुञ्जायस नभेटिँदा नभेटिँदै जबर्जस्ती नाम जोडेर प्रचार गर्नु त पूर्वाग्रहको हद भएन र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर