मानिसले किन ट्याटु बनाउँछन् ? कुन अंगमा बनाउँदा राम्रो ? – Nepal Press

मानिसले किन ट्याटु बनाउँछन् ? कुन अंगमा बनाउँदा राम्रो ?

काठमाडौं । अहिलेको युवा पुस्तामा ट्याटु बनाउने प्रवृति बढ्दो छ । महिलाहरुमा पनि यसको क्रेज त्यतिकै व्यापक देखिन्छ । ट्याटु बनाउने र भिडिओ बनाउने त लहरै चलेको जस्तो आभास हुन्छ । टिकटक, यूट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा ट्याटूसहितको भिडिओ तथा फोटो साटफेर गरेको मनग्य देखिन्छ ।

हात, खुट्टा, छाती, कम्मर, कान पछाडिदेखि शरीरका संवेदनशील अंगहरुमा समेत ट्याटु बनाएको देखिन्छ । मानिसहरुले किन ट्याटु बनाउने गरेका होलान् ? यसले मानव शरीरमा असरहरु पनि सिर्जना गर्छ ? ट्याटु बनाउनै पर्दा के के कुरामा ध्यान दिने जस्ता विषयमा केन्द्रित रहेर डर्माटोलोजिष्ट डा. सजना भण्डारीसँग नेपाल प्रेसकर्मी अंकुश विष्टले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

विभिन्न दीर्घकालीन असरहरु हुँदाहुँदै पनि युवाहरु किन ट्याटु बनाउन आकर्षित भएका होलान् ?

अहिले यस्तो खालको कुरालाई सामाजिक रुपमा पनि स्वीकार्य भएकोले धेरै फरक पारेको छ । अर्को भनेको समयसँगै प्रवृत्ति र सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा पनि मानिसहरु उत्प्रेरित भएर पनि बनाउने गर्छन् ।

अर्को भनेको ट्याटु हाम्रो भावनासँग जोडिएको हुनाले पनि त्यो मायाले गर्दा पनि कतै न कतै उत्प्रेरित गरिरहेको हुन्छ जस्तो लाग्छ र अन्तिम भनेको अहिले ट्याटु बनाएपछि ट्याटु हटाउने प्रविधि तथा दुखाई कम गर्ने धेरै उपाय भएकाले गर्दा पनि मानिसहरु यसमा आकर्षित देखिन्छन् ।

ट्याटु बनाउँदा हाम्रो शरीरमा के-कस्ता खालका असरहरु देखिन सक्छन् ?

ट्याटुले हाम्रो शरीरमा छोटो समयमा देखाउने असर र लामो समयमा देखाउने असर हुन्छन् । ट्याटु बनाएको ठाउँमा रातो हुने, चिलाउने, घाउँ बन्ने, छाला फुट्ने जस्ता असर छोटो समयमा देखिन्छन् ।

त्यस्तै, लामो समयमा यदि ट्याटु बनाउदा सावधानी अपनाइएन भने रगतको माध्यमबाट हेपाटाइटिस बी, हेपाटाइटिस सी देखि लिएर भिरिङगी सम्म हुनसक्ने हुन्छ । त्यस्तै ट्याटु बनाएको ठाउँमा दाग बस्ने र मासु पलाउने जस्ता समस्या पनि देखिने गरिन्छ ।

अर्को साइड ईफेक्ट भनेको एलर्जी हो एलर्जीलाइ पनि छुट्याएर हेर्न सकिन्छ । एउटा मानिसको आफ्नो शरीरको विशेषता हुन्छ, जस्तै हातका औलाहरु, खुट्टाका कुर्कुच्चा, गालामा घामबाट हुने एलर्जीसम्म हुन्छन् भने अर्को भनेको शरीरको प्रतिरोधात्मक शक्तिलाई असर गर्ने हुन्छ । जुन शरीरअनुसार फरक पनि हुन सक्छ ।

असर भएपनि युवा पुस्तामा यसको बढ्दो क्रेज छ, कस्तो उमेर समूहका मानिसले ट्याटु बनाउँदा उचित वा राम्रो हुन्छ, यसको कुनै समय सीमा पनि छ कि ?

यही उमेर भनेर ठ्याकै भन्न सकिँदैन १८ वर्षभन्दा माथिकोलाई भन्दा राम्रो हुन्छ ।

ट्याटु अफ्नो भावनालाई व्यक्त गर्ने माध्यम हो । जहाँ माया प्रेमको कुरा आउँछ । कसैको नाम, चित्र, कुनै सम्झनालाई व्यक्त गर्ने माध्यम हो । तर कहिलेकाहीँ भविष्यमा अनेकौं समस्या आउन सक्ने हुन्छ । जागिर खानेदेखि लिएर सम्बन्ध टुटेर जाने जस्ता कुराले पछि गएर असर गर्छ । यस्तो भावना आउनु सामान्य हो । तर १८ वर्ष नपुग्दै ट्याटु नै बनाउनाले पछि समस्या हुन सक्छ ।

ट्याटु बनाउने मानिस रिसालु, बलियो हुने तथा अपराधी हुने भन्ने पनि शंकासमेत गरिन्छ, यस्तो हुने हो र ?

ट्याटु भन्नेबित्तिकै आफूलाई व्यक्त गर्ने धर्म, संस्कृति, लगाव, सम्झना, माया जस्तो कुरा हुनाले यसलाई बनाउने मानिस स्वभाविक रुपमा आँटिलो नै हुन्छ । तर ट्याटु बनाउने बित्तिकै बलियो, नराम्रो, रिसालु हुने भन्ने सत्य होइन ।

पहिले ट्याटु आँटिलो, दृढ खाले मान्छेले मात्रै बनाउने गर्थे किनभने ट्याटु बनाउँदा दुखाई एकदमै धेरै हुन्छ तर आजभोलि दुखाई कम गराउने अनेकौं औषधि मलमहरु उपलब्ध छन् । अहिले त्यस्तो केही छैन । सबैले बनाएकै हुन्छन् । पुरुषहरुले मात्रै बनाउने भन्थे तर हाल महिलाहरुमा पनि त्यति नै उत्साह देखिन्छ ।

ट्याटु नै बनाएर मानिसको मस्तिष्कमा प्रभाव पार्ने भन्ने हुँदैन । तर क्षमताको कुरा गर्दा लामो समयपछि हुने इन्फेक्सन जस्ता विषयहरु पर्छन् । शरीरमा देखिने एलर्जीले रगतमा रियाक्सन गर्दा धेरै कुरामा प्रभाव पार्ने हुन्छ ।

यसले मानिसमा अनावश्यक परिवर्तन ल्याउँदैन । हाम्रो मुलुकमा यस्तो खालको प्रयोग भएको पनि देखिँदैन । तर साइड इफेक्टले केही असर गर्छ भने अलग कुरा हो । ट्याटु बनाउन मजबुत मानिस नै चाहिन्छ होला तर ट्याटु मानिसको इमोसनसँग जोडिएको हुनाले ट्याटु बनाउने मान्छे खत्रा नै हुन्छ बलियो मुटु भएको हुन्छ भन्ने हुँदैन ।

ट्याटु शरीरको कुन भागमा बनाउनु राम्रो हो ? त्यस्तो केही छ ?

समान्यतया ट्याटु घामबाट जोगाउने ठाउँमा बनाउने गर्नुपर्छ । घमले गर्दा रियाक्सन देखिने हुन्छ । हातका पाखुरा, छातीमा, पछाडि ब्याकमा लगायतका अंगहरु घामबाट जोगिएका हुन्छन् ।

दैनिक काममा आइरहने अंगहरु जस्तै हातका औलाहरु, खुट्टाका कुर्कुच्चा, गालमा जस्ता बढि प्रयोगमा आइरहने र घमबाट नजोगिने अंगहरुमा ट्याटु बनाउनु राम्रो हुँदैन । त्यसले धेरै प्रतिक्रिया देखाउन सक्छ छोटो समयमा । साथै धेरै संवेदनशील अंगमा बनाउनु पनि नराम्रो हुन्छ । त्यस्तै, बोशो अथवा मासु धेरै भएको अंगमा ट्याटु खोप्दा केही कम दुखाइ हुने हो खासै फरक हुँदैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर