रास्वपा नेता गणेश कार्कीकाे विश्लेषण- रवि लामिछाने नहुँदा आघात पर्छ, तर पार्टी सकिँदैन – Nepal Press
नेपाल टक

रास्वपा नेता गणेश कार्कीकाे विश्लेषण- रवि लामिछाने नहुँदा आघात पर्छ, तर पार्टी सकिँदैन

काठमाडौं । गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा विधेयक मन्थन विभाग प्रमुख हुन् । उनी रास्वपाले गरेको निर्णयहरुमा फरक मत राखिरहन्छन् । आफूले राखेका फरक मतहरुलाई सञ्जालमा पनि लेखिरहन्छन् । नर्वेबाट इन्टरनेशनल इन्भाइरोमेन्टमा मास्टर्स गरेका कार्की चर्चित फेसबुक ग्रुप एमआआरमा सक्रिय सदस्यसमेत हुन् ।

राजनीतिमा पहिल्यैदेखि चाख भएका र अहिले रास्वपामार्फत् सक्रिय राजनीतिमा होमिएका उनै गणेश कार्कीसँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंश:

– रास्वपाले गरेका कतिपय निर्णयप्रति सामाजिक सञ्जालमा खुलेर विमति राख्नुहुन्छ । के पार्टीभित्र तपाईं प्रतिपक्षीको भूमिकामा हो ?

हामीले पार्टीको नीति बनाएका छौं । झनै बाचापत्रमा त आगामी पाँच वर्षमा यो यो ठाउँमा पुग्छौं भनेर प्रक्षेपण गरेका छौं । त्यो बाटो तय गर्दा हाम्रो भूमिका के हुन्छ भनेर हामीले गम्भीर भएर सोच्नु त पर्‍यो नै । हाम्रो पार्टीको बाचापत्र लेख्दा वा नीति तयार गर्दा मैले पनि आफ्नो ठाउँबाट भूमिका निभाएको कारण कतै दायाँबायाँ भयो कि भनेर अलि बढी चासो दिने गरेको मात्रै हुँ ।

हाम्रो नीति रणनीतिक रुपमा दायाँबायाँ भएर सरप्राइज हुनु भएन । पार्टीको निर्णयको आधारमा नीति तय हुनुपर्‍यो । यदि कथंकदाचित नीतिभन्दा बाहिर पार्टी जान थाल्यो भने कसै न कसैले त भन्नुपर्‍यो/बोल्नुपर्‍यो नि हामी बाहिर गयौं भनेर । मैले पार्टीलाई लिएर गर्ने गतिविधिहरु पार्टी दायाँबायाँ नहोस् भनेर नै हो ।

अर्को कुरा, हाम्रो पार्टीको बैठकमा हुने, औपचारिक छलफलमा हुने कुराहरु प्रायः सार्वजनिक गर्ने गर्छु । किनभने जनतासँग लुकाउनुपर्ने त्यस्तो केही छैन । हिजो सबै कुरा तपाईंहरुको अगाडि राख्छौं भनेर मत माग्यौं । त्यो बाचा पूरा गर्न पनि हाम्रा हरेक बैठक र छलफलका निर्णय जनतालाई थाहा हुनुपर्छ भनेर सञ्जालमा पनि राख्ने गरेको हुँ ।

– रास्वपा सरकारमा जाने पक्षमा तपाईं सुरुदेखि नै हुनुहुन्न थियो । तर, रास्वपा सरकारमा गएर, सरकारबाट बाहिरिएर पनि सरकारलाई नै समर्थन दियो । पछि सरकारबाट बाहिरियो । तपाईंले राख्ने फरक मतले पार्टीमा केअसर गर्छ ?

मलाई ‘बैठकमा चाहिँ भन्दैनस्, बाहिर गएर भन्छस्’ भनेरसमेत धेरैले भन्नुहुन्छ । अहिलेसम्म मैले पार्टीको औपचारिक बैठक छुटाएको छैन । त्यहाँ अझै प्रस्टसँग आफ्ना कुरा राख्ने गरेको छु । त्यही कुरा नै मैले बाहिर राख्ने हो । हामी पारदर्शिताको कुरा गर्दैगर्दा भित्र के भन्दैछौं, बाहिर के भन्दैछौं, स्पष्ट हुनुपर्छ । अहिले हाम्रो पार्टी जति लोकतान्त्रिक अन्य पार्टीहरु छन् जस्तो लाग्दैन । पार्टीले लिने निर्णयहरुमा चित्त बुझेन भने प्रस्ट रुपमा नोट अफ डिसेन्ट लेखेर हिँड्छु ।

हामी पारदर्शिताको कुरा गर्दैगर्दा भित्र के भन्दैछौं, बाहिर के भन्दैछौं, स्पष्ट हुनुपर्छ । अहिले हाम्रो पार्टी जति लोकतान्त्रिक अन्य पार्टीहरु छन् जस्तो लाग्दैन । पार्टीले लिने निर्णयहरुमा चित्त बुझेन भने प्रस्ट रुपमा नोट अफ डिसेन्ट लेखेर हिँड्छु ।

पार्टीमा सबैले आआफ्ना धारणा राख्नुहुन्छ । तर, निर्णय त बहुमतको आधारमा हुन्छ । सरकारमा जाने सवालमा पनि सुरुमा साथीहरु काम गरिहालौं भन्ने हुटहुटी भएर सरकारमा जानुभयो । तर, इतिहास अलिकति नियाल्नुपर्थ्यो भन्ने तर्क थियो मेरो चाहिँ । इतिहासमा अलिकति राम्रो जनमत पाएका पार्टीहरु सरकारमा गएर, टाँस्सिइरहेर आफैं सकिएका उदाहरणहरु प्रशस्त छन् । अहिले हामी त्यही ठाउँमा छौं । हामी सकिने कि फैलने, त्यो हामीले गर्ने गतिविधिमा भर पर्छ । त्यसैले नै पार्टीका कतिपय निर्णयहरुमा मेरो नोट अफ डिसेन्ट रहन्छ । म त सुरुदेखि नै सरकारमा जानुहुन्न भन्ने पक्षमा थिएँ । अन्ततः पार्टीको बहुमत पक्षले पनि त्यही निर्णय गर्‍यो ।

– पार्टीले लिने निर्णयहरु प्रायः रविको एकल निर्णय हुन्छन् भनिन्छ । पार्टीका बैठकहरु कर्मकाण्डीमात्र हुन्छन् भनिन्छ । यो सत्य हो र ?

उहाँको एउटा छवि बनेको छ । सभापतिले जे भन्नुहुन्छ, त्यो हुन्छ । तत्कालै लिनुपर्ने निर्णय चाहिँ सभापतिले लिनुहुन्छ । नेपाली राजनीति यति तरल र क्षणभंगुर छ कि तत्कालै निर्णय लिइएन भने राजनीतिक घटनाक्रम विकसित भएर कहाँबाट कहाँ पुगिसकेको हुन्छ ।

हाम्रो पार्टीमा मूल कुरा भन्ने र गर्ने भन्ने छ । कुनै सही निर्णय लिँदै गर्दा त्यसको नीतिगत आधार के छ, त्यो हेर्छाैं । यदि त्यो आधार छैन भने पार्टीले संस्थागत आधार बनाउन काम पनि गर्छौं । त्यसले सन्तुलन सृजना गर्छ । तरल राजनीतिमा तत्कालको निर्णय सभापतिले लिँदा धेरै कुरा सन्तुलनमा रहन्छ । त्यसैले उहाँलाई पनि संस्थागत निर्णयभन्दा बाहिर नजान दबाब दिइरहन्छ । त्यसैले एकल दोकल निर्णय भन्ने हाम्रो पार्टीमा छैन ।

– रवि लामिछाने भएरै रास्वपा रहेको हो, नत्र रास्वपाको अर्थ छैन भन्ने आम बुझाइ छ । यो धारणालाई कसरी लिने ?

झ्वाट्ट सोच्दा त्यस्तो लाग्नसक्छ । अहिले हामीसँग यस्तो संरचना बनिरहेको छ, जहाँ कुनै मान्छे रहँदा र नरहँदा पार्टी सकिन्न । सभापतिज्युले पनि पार्टीलाई यही संरचना बलियो बनाउनतिर लाग्नुभएको छ ।

अहिलेको अवस्थामा पार्टीको सभापतिको हिसाबले उहाँको छवि जे छ, त्यसका आधारमा उहाँ पार्टीमा नहुनु भनेको ठूलो आघात पार्टीलाई नै पुग्छ । तर, पार्टी भने सकिन्न । पार्टी सकियोस् भनेर उहाँ पनि चाहनुहुन्न । किनभने यो पार्टी नै उहाँले सृजना गरेको हो । सबै मान्छे जोडेको उहाँले नै हो । हामी पनि उहाँको छविले बाँध्नसक्छ है भनेरै आएका हौं । त्यसैले उहाँको अहम् भूमिका त छ नै । तर, उहाँ स्वयं नै आफू नहुँदा पनि पार्टी बलियो गरी उभियोस् भनेर काम गरिरहनुभएको छ ।

इतिहासमा अलिकति राम्रो जनमत पाएका पार्टीहरु सरकारमा गएर, टाँस्सिइरहेर आफैं सकिएका उदाहरणहरु प्रशस्त छन् । अहिले हामी त्यही ठाउँमा छौं । हामी सकिने कि फैलने, त्यो हामीले गर्ने गतिविधिमा भर पर्छ । त्यसैले नै पार्टीका कतिपय निर्णयहरुमा मेरो नोट अफ डिसेन्ट रहन्छ ।

– रवि लामिछानेविनाको रास्वपाको कल्पना गर्न सकिन्छ र ?

अहिले नै उहाँविनाको पार्टीको कल्पना गर्न सकिँदैन । किनभने अधिवेशनपछि मात्रै हो नेतृत्व परिवर्तन हुने । अहिले जुन गतिमा पार्टी अगाडि बढिरहेको छ, त्यस हिसाबले अर्को अधिवेशनमा पनि उहाँ दोहोरिनु नाजायज हुन्न । त्यो भएर उहाँ नहुने कल्पनै छैन । उहाँ हुनु र नहुनुले धेरै अर्थ राख्छ । उहाँले म नरहे पनि पार्टीले काम गरोस् भनेर आफैंले संरचना बनाउन पहल गरिरहनुभएको छ ।

– अन्त्यमा, तपाईंहरुको पार्टीलाई ठूला दलका नेताहरुले नै ‘पपुलिस्ट’ भनेर व्यंग्य गर्छन् । पपुलिजमको भविष्य लामो समयसम्म रहँदैन भन्छन् नि ?

भन्नेमात्रै, काम नगर्ने हो भने त्यसलाई पपुलिस्ट होइन, फटाहाको संज्ञा दिनुपर्छ । जे पनि भन्दिने, घरघरमा पाइप पुर्‍याइदिए पनि भयो । पानीजहाजका टिकट कटाइदिए पनि भयो । ती चाहिँ पपुलिस्ट होइन, ठग हुन् ।

यो संविधान र नीति हामीले बनायौं भन्ने । संसारभरका उन्नत देश यही संविधानमा टेकेर बनाउँछौं भन्ने । यो संविधानले दिएका कर्तव्य पूरा गर्छौं भन्ने । यो संविधानभन्दा अर्को केही पनि छैन भनेर भन्ने । अनि यही संविधान मिच्दै उनीहरु नै हिँड्ने !

उनीहरुलाई आफैंले बनाएको संविधानमा टेकेर देश उन्नत बन्छ भन्ने विश्वास छैन । तर, हामी त्यही उनीहरुले बनाएको संविधानले गरेका बाचाका कुराहरु व्यवहारमा लागू हुनुपर्छ भन्दा पपुलिस्ट भइने ? यही संविधानमा टेकेर देशलाई उन्नत बनाउन सक्छौं भनेर अगाडि बढ्दा हामी पपुलिस्ट भइने ? यो त लाजमर्दो कुरा हो । यो त जनालाई ठगी गर्ने प्रवृत्ति हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर