पल शाहद्वारा चलचित्र पत्रकारहरुलाई कदरपत्र वितरण, एकले गरे बहिष्कार – Nepal Press

पल शाहद्वारा चलचित्र पत्रकारहरुलाई कदरपत्र वितरण, एकले गरे बहिष्कार

काठमाडौं । राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आइतबार चलचित्र पत्रकार संघ नेपालले काठमाडौंको जडीबुटीमा एक समारोहको आयोजना गर्‍यो । चलचित्र पत्रकार संघले २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए उपराष्ट्रपति रामसहाय यादव । तर, उनी कार्यक्रममा नआएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालाई प्रमुख अतिथि बनाइयो ।

विशिष्ट अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निम्त्याइएको थियो । पत्रकारको त बाक्लो उपस्थिति हुने नै भयो । राष्ट्रियसभाका अध्यक्षको आगमनसँगै समारोह सुरु भयो । तोकिएको समयभन्दा डेढ घण्टा ढिला सुरु भएको कार्यक्रममा राष्ट्रिय गान सकिएलगत्तै धमाधम सम्मान पुरस्कार हस्तान्तरण गर्न थालियो । अध्यक्ष तिमिल्सिना र बोर्ड अध्यक्ष केसीले मिलेर पत्रकारहरुलाई सम्मान र पुरस्कार वितरण गर्न थाले ।

शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०, तुलसी गिरी भावुक र श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०, कुबेर डंगोल र दीपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०, सृष्टि पोखरेललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० र रवि अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता मोफसल पुरस्कार २०८० प्रदान गरिएको थियो ।

पुरस्कार वितरणकै क्रममा कार्यक्रमस्थलमा इन्ट्री भयो अभिनेता पल शाहको । कार्यक्रमको बीचमा उनी अचानक आफ्नो दलबलसहित आउँदा पत्रकारहरु नै आश्चर्यमा परे । सबै क्यामरा पलतर्फ फर्किए । हेयर डिजाइनर र २-३ जना बडीगार्डसहित आएका पल एकछिन समारोहको ‘मेन चार्म’ नै बने ।

केही मिनेटमै उनलाई स्टेजमा बोलाइयो । पल पनि मुस्कान छोड्दै स्टेज उक्लिए । धेरैले उनलाई पनि सम्मान गर्न बोलाइएको हो कि भन्ने लख काटे । तर, पल आफू सम्मानित हुन होइन, अरुलाई सम्मान गर्न स्टेज उक्लिएका थिए । उनले पनि पत्रकारहरुलाई कदरपत्र बाँड्ने कार्यक्रम रहेछ ।

पत्रकारितामा विशेष योगदान दिने पत्रकारहरुलाई पलले कदरपत्र वितरण गरे । कार्यक्रममा पलभन्दा अग्रज निर्देशक, निर्माता र कलाकारहरु थिए । तर, आयोजकले उनलाई नै छाने । यसलाई लिएर पत्रकारहरुबीच गाईंगुईं हुन थाल्यो ।

एक पत्रकारले पलको हातबाट सम्मान लिन मानेनन् । कार्यक्रममा उपस्थित भएर पनि उनले सम्मान बहिष्कार गरेका थिए ।

पल शाह पत्रकारलाई कदरपत्र बाँडेर हिँडिहाले । उनको बाहुलीबाट कदरपत्र लिनेहरुले कत्तिको सम्मान महसुस गरे होलान् भन्ने गाईंगुईं केही पत्रकारमाझ चलेको थियो ।

चलचित्र पत्रकार संघको चुनावबाट समीर बलामी अध्यक्षमा निर्वाचित भएपछि राजीनामा दिएका पत्रकारहरु पनि कार्यक्रममा उपस्थित भएनन् । उनीहरुले याैन दुर्व्यवहारमा आराेपित बलामी अध्यक्ष रहुञ्जेल संघका सबै कार्यक्रम बहिष्कार गर्ने पूर्वघाेषणा नै गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर