नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको भन्दै पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो ? – Nepal Press

नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको भन्दै पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो ?

कैलाली । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको टिप्पणी गरेका छन् । अमेरिका पठाउने भन्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रसंग उल्लेख गर्दै उनले यस्तो गतिविधिले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् ।

धनगढीमा नागरिक अभिनन्दन समारोहमा पूर्वराजा शाहले भने, ‘नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् ? त्यसबाट हाम्रो इज्जत र गौरव सबै लोप भएर गएको छ ।’

देशभित्रै बसौं भन्ने भावना हराउँदै गएको भन्दै उनले साधे, ‘के नयाँ नेपाल भनेको यही हो ? के नेपालको आफ्नो अस्तित्व छैन ?’

नेपालीहरूको श्रम र सीप खोसिँदै गएको उल्लेख गर्दै उनले भने, ‘यस्तो देख्दा हाम्रो आँखा रसाउँदै गएका छन् ।’

पूर्वराजा शाहले विकास र प्रविधिको युग भएको र आफ्नै श्रम र साधनले मुलुकको उन्नति सम्भव हुने टिप्पणी गरे । ‘अब सोच्ने बेला आएको छ । अब कुन, के, कस्तो, राष्ट्रिय दृष्टिकोण हामीले लिने, कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने ?’, उनले भने, ‘सोचौं, गहिरिएर सोचौं । अझै दिलैदेखि सोचौं । नेपाली भएर सोचौं । नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं । देशभन्दा ठूलो केही हुँदैन ।’

पूर्वराजाले वर्तमान राजनैतिक परिपाटीले देशको हित नहुने सङ्केत गरेका थिए । ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर अरूलाई अलमलाएर र निषेध गरेर, कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन’, उनले भने, ‘भोलिको सुन्दर सपनालाई साकार गर्न र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावनाअनुसार नेपाली जनतालाई नै जिम्मा दिऊँ । यसैमा हाम्रो कल्याण छ ।’

राष्ट्रिय सोच र राष्ट्रिय चिन्तन कम भएकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘यो हामी सबैको निम्ति सुखद होइन’, उनले भने, ‘हाम्रै आँखा अगाडि देखेको र स्वयं अनुभूत गरेको कुरा हो । चार दशक अघिसम्म हाम्रो देश कृषि, वन आदि कतिपय विषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यकतालाई परिपूर्ण गरेर हामी धान, चामल निर्यात गर्दथ्यौं । ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योगधन्दाहरू कता बिलाए, किन हराए ?’

जल, जमिन, जङ्गल, जडिबुटी र जनस्तरीय सीप सबैतिर उजाड बन्दै गइरहेको उनको टिप्पणी थियो । उनले नेपाली जनतालाई झुक्याउनेहरुको प्रपञ्च खुल्दै गइरहेकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर