कार्यकाल सकिन लागेका लुम्बिनी विकास कोषका उपाध्यक्षसहित पदाधिकारीमाथि पर्यटनमन्त्रीले सोधे १३ प्रश्न – Nepal Press

कार्यकाल सकिन लागेका लुम्बिनी विकास कोषका उपाध्यक्षसहित पदाधिकारीमाथि पर्यटनमन्त्रीले सोधे १३ प्रश्न

पदाधिकारी फेर्ने रणनीति कि कोष सुधार्ने योजना ?

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आइतबार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) सहितका पदाधिकारीका कामकाजबारे धेरै असन्तुष्टि सामाजिक सन्जालमा छरपष्ट पारे । त्यसो त मन्त्री किराँतीले देखेका विषय यहाँको मात्रै होइन धेरै ठाउँको लेखेर सार्वजनिक गर्दै आएका छन् ।

तर अन्य विषयजस्तै नभएर लुम्बिनी विकास कोषको विषयमा मन्त्रालयले सोधेका असन्तुष्टिसहितका स्पष्टिकरणको पत्र नै सार्वजनिक गरेकाले सहितका सरकारले लुम्विनी विकास कोषका पदाधिकारी फेर्ने तयारी गरिएको आंकलन गरिएको छ ।

त्यसो त कोषका उपाध्यक्ष भिक्षु मैत्तेयको कार्यकाल सकिन दुई महिना मात्रै छ भने सदस्यसचिवको दुई वर्ष । कोषाध्यक्ष ढुण्डीराज भट्टराई नियुक्त भएको धेरै भएको छैन । उपाध्यक्ष र सचिव यसअघि एमाले नेतृत्वको सरकारले नियुक्त गरेकाले पनि सरकारले फेर्ने तयारीस्वरुप यो स्पष्टिकरण सोधिएको हुनसक्छ ।

बुद्ध जयन्तीको समयमा धेरै दिन लुम्बिनीका बसेका मन्त्री किराँती उपाध्यक्ष र सदस्यसचिवको कामबारे सन्तुष्ट छैनन् । उनीहरु दुवै बौद्ध धर्मका बारेमा जानकार भएकाले राजनीतिक रुपमा आउने विभिन्न आग्रह उनीहरुले अस्वीकार गरेकाले पनि मन्त्रीको पार्टीका स्थानीय नेताकार्यकर्ताहरु सन्तुष्ट छैनन् । त्यही भएका कारण पनि मन्त्री किराँती यस्तो प्रकृया थालेको स्रोतको भनाइ छ ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा कोषका २ पदाधिकारीहरुलाई हटाउने योजना अनुरुप स्पष्टिकरण सोधेको प्रष्ट बुझ्न सकिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री नै कोषको अध्यक्ष रहने भएपनि लुम्बिनी बिकास कोषमा भएको बेथितिमा मन्त्रीहरु उम्कने र कोषका अन्य पदाधिकारीलाई दोष लगाउने यसअघि पनि गरिँदै आएको छ ।

४७ वर्ष पार गरेको लुम्बिनी गुरुयोजना सम्पन्न गर्नेभन्दा पनि मन्त्रीहरु राजनीतिक फेरबदलसंगै अघिल्लो सरकारले नियुक्त गरेका कोषका अन्य पदाधिकारी हटाउने योजना पूरा गर्न लागेकाले गुरुयोजना अहिलेसम्म अलपत्र छ । सन १९७८ बनेको गुरुयोजनाले १९९५ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो अहिलेसम्म ८६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषलाई १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् । मन्त्री किंराँती आफैं कोषका अध्यक्ष हुन् । एमाले नेतृत्वको सरकार रहेका समय दोश्रो पटक उपाध्यक्ष बनेका भिक्षु मैतेय र सदस्य सचिव सानुराजा शाक्यलाई हटाउने योजनामा यो स्पष्टिकरण सोधिएको मन्त्रालयका कर्मचारीहरुको दाबी छ ।

मन्त्रीले कोषले क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन् ।

मन्त्रीका अधिकांश प्रश्न बिकास कोषमा रहेका उपाध्यक्ष भिक्षु मैतेयप्रति लक्षित देखिन्छन् । मन्त्रीले लामो समय उपाध्यक्ष रहेका मैतेयलाई सिधै हटाउँदा उनी अदालत जानसक्ने भएकोले हटाउने योजनामा स्पष्टिकरण सोधेको हुनसक्ने आशंका लुम्विनीका बिकास कोषका कर्मचारीहरुको छ ।

आउँदो साउन १० गते दोश्रो कार्यकाल समाप्त हुन लागेका उपाध्यक्ष मैतेयलाई पुनः उपाध्यक्ष हुन नदिने योजना अनुरुप स्पष्टिकरण सोधिएको बुझाई उनी निकटस्थहरुको छ ।

लुम्बिनीका स्थानीयसमेत रहेका र तुलनात्मक रुपले राम्रो काम गरेका भिक्षु मैतेयलाई पुनः उपाध्यक्ष बनाउन प्रधानमन्त्रीसमेत सकारात्मक भएपछि उनलाई हटाउन मन्त्री किराँतीले यो बाटो अपनाएको विकास कोषका कर्मचारीहरु बताउँछन् ।

स्थानीय सुमंगलम भिक्षु (रमेश बानीया) समेत उपाध्यक्ष बन्ने दाउमा सक्रिय रहेको र अर्का विवादास्पद छविका ल्यार्केल लामासमेत उपाध्यक्ष बन्ने दौडमा सक्रिय रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय श्रोतले बताएको छ । पूर्व अर्थराज्य मन्त्री रहेका लामा बैशाख २२ गते सम्पन्न वुद्ध जयन्तीमा प्रधानमन्त्री प्रचण्डसंगै लुम्विनी आएका थिए ।

मन्त्री किराँती तिनै बिवादास्पद छविका तिनै लामालाई उपाध्यक्ष बनाउन चाहेको स्रोतको दावी छ । त्यसैले पनि मन्त्री आफैले उपाध्यक्ष मैतेयलाई मानसिक तनाव नै दिने गरी मन्त्रालयमा गोप्य रहने टिप्पणी सार्वजनिक गरेको कर्मचारीको बुझाइ छ ।

सामान्यतया मन्त्रालयको टिप्पणी र आदेश सार्वजनिक नगर्ने परम्पराविरुद्ध मन्त्री किराँतीले सार्वजनिक गरेर मानसिक दवाव दिन खोजेको कर्मचारीको भनाइ छ ।

सदस्य सचिव सानुराजा शाक्यले पर्यटन मन्त्री किराँतीले लुम्बिनीकै विकासका लागि चिन्ता लिएको आफूले बुझेको बताए । ‘मेरो कार्यकाल अझै दुई वर्ष बाँकी छ, मन्त्रीज्यू लुम्बिनीमा रहँदा यहाँको विकासको धेरै चिन्ता लिनुभएको थियो, त्यसैको विषय होला, मन्त्रालयले सोधेका प्रश्नको जवाफ हामीले दिन्छौं, हामी पनि यहाँको विकासको लागि आएका हौं, पदाधिकारी हटाउने विषयमा त हामीलाई केही जानकारी छैन, त्यो विषयले प्रवेश पाएको भन्ने मलाई लाग्दैन’, उनले भने ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले मन्त्रालयले उठाएका कतिपय प्रश्नहरु यथार्थपरक रहेको र कतिपय प्रश्नहरु स्थानीय स्तरमा पटक पटक उठ्दै आएका महत्वपूर्ण प्रश्न रहेकाले त्यसको जवाफ कार्यालयले दिने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए ।

कतिपय प्रश्नहरु हामीले थाहै नपाएका पनि विषय छन्, अख्तियारमार्फत पनि केही विषय आएका हुनसक्छन्, असन्तुष्ट पक्षबाट पनि कतिपय प्रश्न आएका छन्, ‘मन्त्रालयबाट आएका प्रश्नको जिम्मेवारीअनुसार जवाफ पठाउँछौं’, उनले भने ।

यस्ता छन् मन्त्रालयले कोषलाई सोधेका १३ आन्तरिक प्रश्न जुन मन्त्री किराँतीले सामाजिक सन्जालबाट सार्वजनिक गरेका थिएः

१. लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरीत अनाधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मूर्ति बनाउन दिइएको हो होइन ? दिनुपर्ने हो होइन ? दिइएको भए अवलम्बन गरिएका कानूनी प्रक्रिया तथा निर्णयसम्बन्धी विवरण पेश गर्ने ।

२. विभिन्न प्लटहरू बदनियतपूर्ण ढंगले आफूखुसी वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो ? हालसम्म वितरण भएको सो सम्बन्धी निर्णय एवम् अपनाइएको मापदण्डसहित विवरण पेश गर्ने ।

३. सोक्यो जापान लगायतका सम्झौताहरूको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरूसँगको सम्झौता अनिश्चितकालका लागि आफूखुसी समयावधि बढाउँदै लगिएको गुनासो आएको छ। सो सन्दर्भमा यथार्थ के हो ? कुन कुन संस्थासँग के कस्ता सम्झौता भएका छन् ? तिनीहरूसँग भएका सम्झौता तथा थप भएको अवधि सम्बन्धी विवरण पेश गर्ने।

४. मायादेवी मन्दिर परिसर वरिपरीको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौंको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको भन्ने गुनासो प्राप्त भएको छ । सो सम्बन्धमा यथार्थ के भएको हो ? कुन विधि, पद्धति, प्रक्रिया अवलम्वन गरिएको हो ? सन्दर्भसहित विस्तृत विवरण पेश गर्ने ।

५. लुम्बिनी विकास कोष परिसरभित्र के कति संस्थाहरूले काम गरिरहेका छन् ? तिनीहरूको नवीकरणको अवस्था पेश गर्ने। यदि नवीकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि, पद्धति र प्रक्रिया अवलम्बन गरी काम गर्न दिइएको हो ? साथै लिज वा भाडामा दिएका संस्थाहरूको विवरणसहित खुलाइ पठाउने ।

६. कोषभित्र हाल के कति निर्माण परियोजनाहरू सञ्चालन भइरहेका छन् ? तिनीहरू कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाइ ठेक्का दिएको हो ? सो को विवरण पेश गर्ने ।

७. हालै त्यहाँ निर्माण भइरहेको संरचनाहरू गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन कुन संरचनाहरू गुरुयोजना विपरीत बनेका छन् ? पछिसम्म फरक नपर्ने गरी सोको विवरण पेश गर्ने। साथै त्यहाँबाट अघि बढाइएको लगभग तीन अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन ? इस्टिमेट तयार गर्दा गुरुयोजनाविपरीत धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरू भएका हुन् ? यथार्थ पेश गर्ने ।

८. लुम्बिनी विकास कोषको परिसरभित्र मोटरबोट संचालनका लागि कुन कानुन, विधि, प्रक्रिया अवलम्बन गरी दिइएको हो ? यसले वायु र ध्वनी प्रदूषण गरेको गुनासो प्राप्त भएको छ। यस सम्बन्धमा के भएको हो ? विस्तृत विवरण पेश गर्ने ।

९. मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गर्न दिइएको गुनासो प्राप्त भएको छ। उक्त कफी सप र पुस्तक पसल कुन विधि प्रक्रियाको अवलम्बन गरी सञ्चालन गर्न दिइयो ? यथार्थ पेश गर्ने ।

१०. क्रेन सारस चरा फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग भएको भन्ने गुनासो प्राप्त भएको छ। सो विषयमा के भएको हो ? सन्दर्भसहित यथार्थ विवरण पेश गर्ने ।

११. लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरूले दिएको रकमको यथार्थ विवरण तथा सोको परिचालनको अवस्था खुलाइ पठाउने ।

१२. उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो ? सो सम्बन्धी विवरण पेश गर्ने ।

१३. भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभाहल पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो ? सम्पन्न भई हस्तान्तरण भइसकेको हो कि होइन ? यसको दायित्व कसमा अन्तर्निहित छ ? खुलाइ पठाउने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *