‘जनयुद्ध’ शब्दमा नोकझोक : देवेन्द्रलाई योगेशको प्रतिप्रश्न- घरभित्र सुतिरहेकालाई जलाएर मान्छेले मार्नसक्छ ? – Nepal Press

‘जनयुद्ध’ शब्दमा नोकझोक : देवेन्द्रलाई योगेशको प्रतिप्रश्न- घरभित्र सुतिरहेकालाई जलाएर मान्छेले मार्नसक्छ ?

काठमाडौं । ‘जनयुद्ध’ शब्दलाई लिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच नोकझोक चर्किएको छ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि बहस बढेको हो ।

उनले जनयुद्ध शब्द स्वीकारेको भए कांग्रेसको इतिहास नै सकिने टिप्पणी गरेका थिए । भट्टराईलगत्तै माओवादीका सचिव देवेन्द्र पौडेल बोले । जनयुद्धलाई जोडेर कांग्रेसप्रति भट्टराई प्रश्नमा पौडेलले प्रतिवाद गरे ।

योगेशलक्षित गर्दै पौडेलले भने, ‘माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्न चाहन्छु, त्यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेका युद्ध थियो । बिर्सिनुभयो वृहत्त शान्ति सम्झौता ?’

उनले वृहत्तर शान्ति सम्झौतामा भएको हस्ताक्षर हेर्न आग्रह गरे ।

उनले भने, ‘तपाईँको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृंखलामा छौं । नेपाली जनतालाई जनतालाई सर्वभौम र संविधान बनाउनका लागि जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु । तर, इतिहासलाई नबिर्सौं ।’

पौडेलले मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने ? भन्दै प्रश्न गरेपछि भट्टराईले त्यसको जवाफ फर्काएका छन् । उनले कांग्रेसलाई प्रश्न गरेको भएपनि माओवादीबाटै आएको भन्दै घरभित्र सुतिरहेका मान्छेलाई जिउँदै जलाएर मान्छेले मार्न सक्छ ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले आँखा जुधाएर मात्र होइन नभएर छाती पिटेर बहस गर्न तयार रहेको बताएका छन् ।

उनले गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ? स्कुलमा पढाइरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर विक र म्याग्दीका मणिलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्नेकाम मान्छेले नै गरेको हो त ? भन्दै प्रश्न गरेका छन् ।

यस्तै, घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ? स्वतन्त्रतापूर्वक कमल चलाउने पत्रकार डेकेन्द्र थापा, वीरेन्द्र शाह, ज्ञानेन्द्र खड्कालगायतका दर्जनौं पत्रकारको हत्या वन मान्छेले गरेको हो त महोदय ? भन्दै सांसद पौडलमाथि प्रतिप्रश्न गरेका छन् ।

यदु गौतम, कृष्ण सापकोटा, नवराज सुवेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या, हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउँदै जलाएर मार्ने काम मान्छेले गर्नसक्छ ? भन्दै प्रश्न गरेका छन् ।

यी केही नमूना घटनामात्र भएको उल्लेख गर्दै लेख्दै जाने हो भने ठूलै ठेली बन्ने भट्टराईले लेखेका छन् ।

संविधान निर्माणको समयमा जनयुद्ध बहुलवादलगायतमा भएका बहसको स्मरण गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘संविधानले के भन्छ त्यो पनि हेरौं । सरकारको निति तथा कार्यक्रम राष्ट्रको आधिकारिक दस्ताबेज हो जो संविधानसम्मत हुनुपर्छ । पार्टीको दस्तावेजमा के लेख्ने त्यो सम्बन्धित पार्टीको कुरा हो तर सरकारी दस्तावेजमा सार्वजनिक चासो हुन्छ ।’

त्यसो त भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको भए हिस्ट्री सकिने टिप्पणी गरेपछि कांग्रेस नेता मिनेन्द्र रिजालले पनि त्यसको जवाफ फर्काइसकेका छन् ।

त्यसको जवाफ फर्काउँदै कांग्रेस नेता रिजालले फेसबुकमा लेखेका छन्, ‘माननीय योगेश भट्टराईलाई अध्ययन मननका लागि उहाँको पार्टी एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसदमा प्रस्तुत गरेर पारित जनयुद्ध पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ ।’

एमाले पनि सहभागी भएको बेलामा सरकारले २०६५/६६ को नीति तथा कार्यक्रममै जनयुद्ध शब्द राखेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर