योगेशलाई देवेन्द्रको जवाफ- मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने ? – Nepal Press

योगेशलाई देवेन्द्रको जवाफ- मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले योगेश भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसद भट्टराईले नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेको प्रति आपत्ति जनाएका थिए ।

यो नीति तथा कार्यक्रम कांग्रेसले पनि स्वीकारेको भए इतिहास नै समाप्त भएको उनको टिप्पणी थियो ।

सांसद भट्टराईलगत्तै बोलेका पौडेलले भने, ‘माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्न चाहन्छु, त्यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेका युद्ध थियो । बिर्सिनुभयो वृहत्त शान्ति सम्झौता ?’

उनले वृहत्तर शान्ति सम्झौतामा भएको हस्ताक्षर हेर्न आग्रह गरे ।

उनले भने, ‘तपाईँको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृंखलामा छौं । नेपाली जनतालाई जनतालाई सर्वभौम र संविधान बनाउनका लागि जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु । तर, इतिहासलाई नबिर्सौं ।’

उनले संसदमा कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गर्न आग्रह गरे । अहिले राजतन्त्र फर्काउन धनगढीमा भइरहेको अभिनन्दनमा गएर बहस गर्न पौडेलले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर