एक सातापछि आमरण अनशन तोडे सांसद गौतमले (भिडिओ) – Nepal Press

एक सातापछि आमरण अनशन तोडे सांसद गौतमले (भिडिओ)

रुपन्देही । सरकारविरुद्ध अनशनमा बसेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सञ्जय गौतमले एक सातामा अनशन तोडेका छन् ।

सदन र सरकारमा पटक पटक कुरा उठाए पनि आफ्नो आवाज कसैले नसुनेकाले बाध्य भएर अनशनमा जानुपरेको बताउँदै वैशाख ३० गतेदेखि बर्दियाको बार बर्दिया र गुलरिया जोड्ने भत्किएको जब्दीघाट पुलमुनि गौतमले अनशन थालेका थिए ।

सांसद गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच आज ११ बुँदे सहमति भएपछि अनशन तोडिएको हो। हाम्रो बर्दिया बचाऔँ समुन्नत बर्दिया बनाऔँ अभियानसहित १५ बुँदे माग राखेर गौतम आमरण अनशन बसेका थिए ।

मन्त्री ज्वालाले अनशन स्थल पुगेर अनशन तोडाएका छन्। बर्दियाको गुलरिया र बार बर्दिया जोड्ने पक्की पुल ६ वर्षअघिदेखि भासिएर भत्किए पनि सरकारले ध्यान नदिएको भन्दै सांसद गौतम १५ बुँदे माग अघि सार्दै भत्किएको पुलमुनि आमरण अनशनमा बसेका थिए ।

पप्पु कन्स्ट्रक्सनले बनाएको सो पुल २०७४ सालमा भासिएको थियो भने गत वर्ष बाढीले बगाएपछि बर्दियाका झन्डै १ लाख बासिन्दा प्रभावित भएका छन्।

पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै गौतम सोही पुलमुनि आमरण अनशन बसेको बारेमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र दीपक गिरीले प्रतिनिधिसभाको बैठकमा ध्यानाकर्षण गराएका थिए।

राष्ट्रिय मानव अधिकार आयोगले पनि आमरण अनशनमा बसेका प्रतिनिधिसभा सदस्य गौतमको जीवन रक्षा गर्न आग्रह गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर