सन्दीपको मुद्दामा ढिलासुस्ती, विश्वकप क्वालिफायरमा उपलब्ध होलान् ? – Nepal Press

सन्दीपको मुद्दामा ढिलासुस्ती, विश्वकप क्वालिफायरमा उपलब्ध होलान् ?

सर्वोच्चको आदेश ‘फास्ट ट्र्याक’, जिल्ला अदालतको पारा ‘स्लो ट्र्याक’

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दियो । तर, उक्त आदेश आएको दुई महिना पुग्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ ।

सर्वोच्चको आदेशयता जिल्ला अदालतमा चार पटक पेशी तोकिए पनि मुद्दा अगाडि बढ्न नसकेको हो ।

तीन पटकको पेशी बिना सुनवाई स्थगित भयो भने एउटा पेशीमा बहस भएर पनि न्यायाधीशले त्यसलाई ‘हेर्दाहेर्दै’ मा नराखी रद्द गरिदिए । भोलि आइतबारलाई अर्को पेशी तोकिएको छ । तर, भोलि पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू ढुक्क छैनन् । मुद्दा लम्ब्याउन भित्रभित्रै चलखेल हुन थालेको उनीहरूको आशंका छ ।

फैसलाको चरणमा रहेको मुद्दाको पछिल्लो पेशीमा ‘पीडित’ गौशाला २६ का तर्फबाट अन्तरिम क्षतिपूर्तिको लागि निवेदन पेश भएको थियो । जबकि जिल्ला अदालतले गत चैत १० गते नै मुद्दा फैसलाको नजिक पुगेकाले अन्तरिम क्षतिपूर्तिको विषय अहिले सम्बोधन गर्नु नपर्ने निर्णय सुनाइसकेको थियो । तर, दोस्रो पटक पनि गौशाला २६ का तर्फबाट अर्को निवेदन दिएर क्षतिपूर्ति माग गरिएको छ ।

अघिल्लो पटक अस्वीकार भइसकेको निवेदनमा अदालतले अहिले भने विल भरपाई पेश गर्न आदेश दिएको छ । सम्भवतः भोलिको सुनवाइ पनि यही विल भरपाई अध्ययन गर्नुपर्ने बहानामा सारिन सक्ने सन्दीपका एक कानून व्यवसायीले बताए ।

‘कसरी हुन्छ मुद्दालाई लम्ब्याइरहने खालको चलखेल भइरहेको हामीले महसुस गर्न थालेका छौँ,’ ती कानून व्यवसायीले भने ।

सन्दीपको मुद्दा किनारा लाग्न ढिलाइ हुँदा उनको क्रिकेट करिअरमा ठूलै असर परिसकेको छ । उनले सबै अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरु गुमाएर आर्थिक रूपमा करोडौँ नोक्सानी व्यहोरिसकेको निकट स्रोत बताउँछ । ९९ दिन जेल बस्दा उनले राष्ट्रिय टिमका पनि ४ खेल गुमाएका थिए ।

नेपालले अब महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर नेपालले बलिया टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले त्यस पूर्व दक्षिण अफ्रिका टुर गर्दै छ । कुल मिलाएर डेढ महिनाको भ्रमणमा सन्दीप उपलब्ध हुन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ ।

यदि भोलिको सुनवाइ पनि स्थगित भयो भने दक्षिण अफ्रिका र जिम्बाबेको टुरमा समावेश हुन सन्दीपलाई केही कठिनाइ पर्ने देखिन्छ । फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ । भोलिको पेशी सरेर अर्को तोकियो भने सन्दीप दक्षिण अफ्रिका जाने वा नजानेमा सोच्न बाध्य हुनेछन् । किनकि अर्को पेशीमा उनले तारेख बुझ्नकै लागि नेपाल फर्किनुपर्ने हुन्छ । त्यसले अर्को आर्थिक दायित्व जन्माउँछ । यदि २१ दिनभित्र अदालत उपस्थित भएनन् भने उनले राखेको २० लाख धरौटी जफत हुने चिन्ता छ ।

यस्तो अवस्थामा उनलाई दक्षिण अफ्रिका नलगी सिधै जिम्बाबेमा खेलाउने निर्णय क्यानले गर्न सक्छ । त्यो भनेको उनी आवश्यक तयारीबाट वञ्चित हुनु हो । अभ्यास खेलबिना एकै पटक महत्त्वपूर्ण प्रतियोगिता खेल्दा सन्दीपले आफ्नो धार नभेट्टाउन सक्छन् ।

सन्दीप नेपाली टिमका अत्यन्त महत्त्वपूर्ण खेलाडी हुन् । उनी जेल बस्दा नेपालले विश्वकप लिग २ अन्तरगत नामिबियाको टुर गरेको थियो ।

त्यसमा खेलेका ४ खेलमा सबै पराजय भोग्यो । सन्दीप जेलमुक्त भएर टिममा समावेश भएसँगै नेपाली क्रिकेटको भाग्य फेरिएको छ । नेपालले पछिल्लो प्रतियोगिता एकपछि अर्को जित हासिल गरिरहेको छ । प्रत्येक खेलमा सन्दीपले ब्याट वा बलबाट योगदान दिएका छन् । हालै भएको एसीसी प्रिमियर कपमा उनी म्यान अफ द टुर्नामेन्ट बनेका थिए ।

तर, अदालतमा विचाराधीन मुद्दा लम्बिँदै जाँदा सन्दीप मानसिक तनावबाट गुज्रिरहेका छन् । सन्दीपका कानून व्यवसायी भन्छन्, ‘मुद्दा पार नलाग्दा उनले मैदानमा पनि आफूलाई खुलेर प्रस्तुत गर्न सकिरहेका छैनन् । सकेसम्म चाँडो फैसला आए हुन्थ्यो भन्ने मनस्थिति उनको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर