जी-सेभन समूहमा बलियो भन्दै भारतको दाबेदारी, लगातार अतिथिको रुपमा आमन्त्रित – Nepal Press

जी-सेभन समूहमा बलियो भन्दै भारतको दाबेदारी, लगातार अतिथिको रुपमा आमन्त्रित

काठमाडौं । जापानको हिरोशिमामा यति बेला विश्वकै सबै भन्दा शक्तिशाली समूह भनेर दाबी गरिने जी- सेभन राष्ट्रहरुको सम्मेलन चलिरहेको छ ।मे- १९ बाट सुरु उक्त सम्मेलन मे – २१ सम्म चल्नेछ । सन् १९७५ मा वामपन्थी विरोधी पश्चिमी देश फ्रान्स, इटाली, पश्चिम जर्मनी, अमेरिका, बेलायत र जापान मिलेर स्थापना भएको यस समूहमा सन् १९७६ मा क्यानडा पनि समावेश भए पछि समूहको नाम जी- सेभेन भनेर राखियो । यसको पुरा रुप ‘ग्रुप सेभेन’ हो ।

सोभियत संघ र सोभियत संघ समर्थनमा रहेका राष्ट्रहरुले वार्सा नामक समूह गठन गरेको शितयुद्दकालिन समयमा स्थापना भएको थियो । समूहमा आवद्द देशहरुको आर्थिक पक्षमा चर्चा गर्ने हेतुले स्थापना भएको यो समूहमा सन् १९९८ मा रुसले पनि सदस्यता ग्रहण गर्‍यो ।

सो समयमा पुन: नामकरण गरियो जी- एठ । यधप्पी क्राइमियामा रुसको घुसपैठपछि सन् २०१४ मा यसलाई संगठनबाट निष्कासित गरे पछि भने यो समूहको नाम जी- सेभेन । जी- सेभेनको पहिलो बैठकमा साउदीले सुरु गरेको तेल संकटसँग जुध्ने योजना बनाइएको थियो। सो समयमा अमेरिकाले सुनबाट डलरको मूल्यलाई डि-लिंक गरेको कारण विश्व समुदायले विनिमय दर संकटको समेत सामना गरिरहेको अवस्था थियो। जसका कारण पश्चिमी देशहरुले आफ्नो व्यापार र व्यापारिक समस्याहरु आपसमा समाधान गर्न यही जी-सेभेनमार्फत वित्तीय स्तरमा नीति बनाउन संयुक्त प्रयास गरे । त्यस यता जी-सेभेन राष्ट्रहरुले वर्षेनी बैठक (सम्मेलन)को आयोजना गर्दै आएका छन् ।

बैठकमा यी देशहरूले विश्व राजनीति र अर्थतन्त्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय लिने गर्छन् । गत वर्षको बैठकले युक्रेन युद्धका कारण रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । हाल जारी यस वर्षको सम्मेलनले पनि विश्व राजनिती र अर्थतन्त्रसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ । यस वर्ष सम्मेलनको आयोजक देशको रुपमा रहेको जापानले छिमेकी मुलुक भारतलाई अतिथिको रुपमा निमन्त्रण गरेको छ । जी-सेभेनको सदस्य राष्ट्र नभए पनि सम्मेलनमा भारतलाई अतिथिको रुपमा बोलाईएको यो पहिलो पटक भने होइन । सन् २००३ मा फ्रान्सले सम्मेलनको आयोजना गरिरहेको समयमा भारतलाई पहिलो पटक अतिथीको रुपमा निमन्त्रण गरिएको थियो ।

पछिल्ला वर्षहरुमा भारतलाई अतिथिको रुपमा बोलाउने परिपाटी थप व्याप्त भएको देख्न सकिन्छ। भारत सन् २०१९ देखी लगातार जी-सेभेन राष्ट्रहरुको सम्मेलनमा अतिथिको रुपमा सहभागी भएको छ ( सन् २०२० मा कोभिड महामारीको कारण सम्मेलन भएको थिएन । ) पछिल्लो ट्रेण्डलाई मध्यनजर गर्दा निकट भविष्यमा भारतले पनि विश्वका यी शक्तिशाली मुलुकहरुको सदस्यता ग्रहण गर्ने आकँलन सुरु भएको छ भने सदस्यता ग्रहण गर्नका निमित्त भारतसँग तीन मुख्य आधार समेत रहेका छन् ।

वर्तमान समयमा भारत विश्वका कुनै पनि राष्ट्रहरुले ‘इग्नोर’ गर्न नसक्ने शक्तिको रुपमा उदयमान राष्ट्र हो । अमेरिका चीन र रुसबीचको सम्बन्ध बिग्रँदै गएको अवस्थामा जी-सेभेन विश्वको सबैभन्दा प्रभावशाली राष्ट्रको रुपमा स्थापित भईराख्नका निमित्त जी-सेभेनले भारतको धारणालाई नजरअन्दाज गर्न सक्दैन । यस्तै गरी हाल संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को ‘क्रेडियाबिलिटी’ पनि कम भएको अवस्था छ । उत्तर कोरियाले नियमित रुपमा गर्दै आएको मिसाइल परीक्षणलाई रोक लगाउनका निमित्त सुरक्षा परिषद् ठोष निर्णय लिन नसक्नु , यता रुस र युक्रेनबीच जारी युद्दमा पनि जी-सेभेनको नै बढी सकृयता देखिएको अवस्था छ ।

यसो भनिरहँदा जी-सेभेन हालको अवस्थामा केही गम्भिर चुनौतीको सामना गर्न परिरहेको छ । सन् १९८० को दशकमा विश्वको कुल जिडिपीको ६० प्रतिशत हिस्सा ओगटेको यस् समूहले हाल ४० प्रतिशत मात्र ओगटेको अवस्था छ । जसका कारण जी-सेभेनले आगामी दिनमा आफ्नो प्रभाव थप गुमाउन सक्ने पनि सम्भावना रहेको छ । यसकारण फ्रान्स, इटाली र क्यानडा भन्दा उच्च र बेलायतको हाराहारीमा कुल ग्राहस्थ उत्पादन भएको भारतलाई सदस्यता प्रदान गर्नमा वर्तवान सदस्य राष्ट्रहरु सकरात्मक हुन सक्छन् ।

यस बाहेक हाल भारत जी-२० समूहको अध्यक्ष पनि रहेको छ । अवधारणाका हिसाबले यी दुबै समूहमा समानता देखिन्छ । विश्वका कुल २० वटा विकसीत र विकासन्मुख राष्ट्रहरुको निर्णयले विश्व अर्थ तथा राजनितीमा ठुलो भूमिका निर्वाह गर्ने भएको हुँदा ग्लोबल साउथको विचारलाई प्रतिबिम्बित गर्न भारतलाई जी-सेभेन सम्मेलनमा निमन्त्रण गरिएको सम्भावनालाई पनि नकार्न भने सकिदैँन ।

यस्तै गरी हालको अवस्थामा जी-सेभेन राष्ट्रहरु दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्व बढाउने कसरतमा रहेका छन् । अहिले यस क्षेत्रका उदायामान राष्ट्रहरु हुन् चीन र भारत । चीन प्रतिको धारणा जी-सेभेन राष्ट्रहरुमा सकरात्मक देखिदैँन र यसका लागि चीनको सिमा विवाद, रुस युक्रेन युद्दमा चिनको पक्षधरता आदीलाई मुख्य कारणको रुपमा लिन सकिन्छ । तर यसो भनिरहँदा भारत जी-सेभेन राष्ट्रहरुमा समावेश हुँदा भारतको केही आफ्नै हिचकिचावट पनि हुन सक्छ । भारत जी-सेभेन राष्ट्रहरुमा समावेश हुँदा चीनको उत्तेजनाको शिकार बन्न सक्ने केही विज्ञहरु बताउँछन् । जी-सेभेन सम्मेलनमा भारतलाई दिइएको बारम्बरको निम्तो नयाँ सदस्य समावेशिताको प्रतिकको रुपमा लिन सकिने प्रयाप्त आधार भए तापनि अहिलेनै भारत जी-सेभेन समूहमा प्रवेश गर्दैछ भनेर किटान गर्न सक्ने अवस्था भने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर