मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति, आलोपालो प्याकेजमै – Nepal Press

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति, आलोपालो प्याकेजमै

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति बनेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले जसपा नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनले नेपाल प्रेससँग भने, ‘अहिले यही सरकारलाई नै निरन्तरता दिने भन्ने बालुवाटारमा शीर्ष नेताहरुबीच सहमति भएको छ। तर, यो आलोपालो हुन्छ। जसपापछि कसले नेतृत्व गर्छ अहिले टुंगिएको छैन।’

केन्द्रबाटै निर्णय हुने भएकाले अब सबै प्रदेशको प्याकेजमै भागबण्डा हुने उनको भनाइ छ। उनले भने, ‘कांग्रेसले अहिले पनि दाबी गरेको थियो। तर, यही सरकारलाई निरन्तरता दिने भनेपछि प्याकेजमै भागबण्डा गर्नुपर्छ।’

अहिले जसपासहित कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपासहित दलहरुबीच सहमति बनेको उनको भनाइ छ। एमाले नेतृत्वको गठबन्धन रहेकै बेलामा मधेश प्रदेशको नेतृत्व जसपाले पाएको थियो। तर, चुनावअघिकै गठबन्धन ब्यूँतिएपछि नेतृत्वका कांग्रेसले नेतृत्वमा दाबी गरेपछि गठबन्धन दलहरुबीच सहमति गरेका हुन्।

त्यसो त सत्ता गठबन्धनमै रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नेतृत्वको दाबी गरेको थियो। तर, अहिले जसपा अध्यक्ष उपेन्द्र यादवसँगको टकरावको कारणले राउत गठबन्धनबाट सन्तुष्ट छैनन्।

गएको उपनिर्वाचनमा पनि बारा २ मा यादवलाई हराउन राउत लागिपरेका थिए। केन्द्र सरकारबाट पनि मन्त्री फिर्ता बोलाएर समर्थन कायमै राखेको जनमत मधेश सरकारमा पनि सहभागी छ।

गठबन्धनको बैठकमा जनमतको बिषयमा पनि छलफल भयो होला। मधेश सरकार कसरी अघि बढ्छ ? भन्ने प्रश्नमा नेता बस्नेतले भने, ‘उहाँहरुले अहिले सरकारमै हुनुहुन्छ। त्यसबारेमा अहिले थप छलफल भएको छैन। यही सरकारको निरन्तरता भनेपछि उहाँहरु पनि पर्नुहुन्छ होला।’

आजको बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु सहभागी थिए।


प्रतिक्रिया

One thought on “मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति, आलोपालो प्याकेजमै

  1. जसपा पनि दिल्लीको दलाली गर्ने गठबन्धनको अभिन्न अंग भएको छ । उसलाई चिढाउन कोही चाहदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर