अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनमा राप्रपाको आपत्ति, धवलशमशेर भन्छन्- आर्थिक लेनदेनको कुरा झूट हो – Nepal Press

अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनमा राप्रपाको आपत्ति, धवलशमशेर भन्छन्- आर्थिक लेनदेनको कुरा झूट हो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समुहले नेपालका प्रभावशाली नेताहरुलाई हिन्दू धर्मको पक्षमा बोल्न पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनद्वारा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ ले यस्तो दाबी गरेको हो ।

अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुरुप अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी यो प्रतिवेदन तयार पार्दै आएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकार, मानवअधिकारकर्मी, प्राज्ञ, सञ्चार माध्यम तथा अन्य स्रोतबाट प्राप्त गरेको सुचनाको आधारमा उक्त प्रतिवेदनमा नेपालको धार्मिक स्वतन्त्रताको अवस्थाबारे टिप्पणी गरिएको जनाइएको छ ।

प्रतिवेदनको १३ औँ पृष्ठमा नेपालको धार्मिक स्वततन्त्रताबारे टिप्पणी गर्दै भारतको सत्तारुढ दल तथा अन्य हिन्दुवादी धार्मिक समुहले नेपालका प्रभावशाली नेता र त्यसमा पनि राप्रपालाई हिन्दु राष्ट्र कायम गर्नका निमित्त दबाब दिदै आएको दाबी गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले आफूले पनि उक्त प्रतिवेदनको बारेमा सूचना प्राप्त गरेको बताए । राप्रपा वा पार्टीका नेताहरु भाजपा वा भाजपा निकट संस्थाहरुबाट आर्थिक लाभ लिएको भन्ने दाबी शतप्रतिशत गलत रहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘मैले पनि विभिन्न माध्यमबाट उक्त प्रतिवेदनमा गरिएको दाबीको बारेमा थाहा पाएको छु । तर, राप्रपाले वा राप्रपाका कोही पनि नेताहरुले भाजपा र उसका कुनै पनि संस्थाबाट आर्थिक सहयोग लिएको छैन । यस्तो भएको छैन र हुनेपनि छैन’, उनले भने ।

नेपाल हिन्दू धर्म पुनस्र्थापनाका निमित्त राप्रपाले मात्र नभई अन्य धार्मिक संघ संस्थाले पनि वकालत गर्दै आएको हुनाले अन्य कुनै धार्मिक संस्थाहरु यस् किसिमको आर्थिक लेनदेनमा संलगन भएको भए सो बारेमा भने आफू अनविज्ञ रहेको उनको भनाई छ ।

राजनैतिक पार्टीको रुपमा राप्रपा र भाजपाको केही सम्बन्ध हुनसक्ने भए तापनि कुनै पनि किसिमको आर्थिक लेनदेनमा भने भाजपा र राप्रपाको सम्बन्ध नरहेको राणाले प्रष्ट पारे ।

‘राजनैतिक पार्टीको रुपमा भाजपा र राप्रपाको केही सम्बन्ध हुनसक्छ । अहिले त्यो पनि खासै छैन । तर, आर्थिक लेनदेनको कुरा झूट हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर