गाउँमा अस्पताल बनेपछि सुनकाेशीकाे ठोकर्पाबासीमा खुसीयाली – Nepal Press

गाउँमा अस्पताल बनेपछि सुनकाेशीकाे ठोकर्पाबासीमा खुसीयाली

स्वास्थ्य मन्त्री भन्छन्- अब उपचार नभएर कोही पनि मर्नुपर्दैन

सिन्धुपाल्चोक ।

बालकदेखि छुटम हुँदा धुरु धुरु रुन्थे ती आमाहरु
उपचार गर्ने थिएन नजिकै झारफुक गर्थे बरु
मानो चामाल अंक १ रुपैयाँ पारेर पोको पनि
जान्थे बालक बोकी पिठमा धाँमी काहाँ छन् भनी

आफ्नो गाउँमै अस्पताल बनेपछि सुनकोशी गाउँपालिका–१ ठोकर्पाका स्थानीयले गीत र श्लोकको भाकामार्फत खुशी साटेका छन् ।

हुन पनि गाउँमा सामान्य बिरामी हुँदा पनि पोकोपन्तेरो बोकेर कि धुलिखेल या त काठमाडौं जानुपर्ने बाध्यता अहिले सुनकोशी गाउँपालिका–१, २ र ३ का मात्रै होइन लिसंखु पाखर गाउँपालिकाको केही वडा र काभ्रेको भुम्लु गाउँपालिकाका स्थानीयसमेत लाभान्वित भएका छन् ।

आफ्नै घर छेउको अस्पतालमा धेरैले उपचार गर्न पाएपछि धेरै खुशी छन् । भूकम्पपछि गाउँमा नै एउटा पोलिक्लिनिक स्थापना गर्ने गरी सुरु गरिएको अभियान अन्र्तगत अहिले सिन्धुपाल्चोकको ठोकर्पामा एउटा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ । अस्पताल निर्माण भएपछि हालसम्म ४ हजार बढीले आफ्नै घर आँगनमा विशेषज्ञ सेवा सहितको उपचार पाएका छन् ।

सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेशन सहयोगमा सञ्चालित एक एक पाइला ठोकर्पा आधरभूत अस्पताल उद्घाटनमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो समेत सक्रियतामा स्थापना भएको अस्पताललाई आगामी दिनमा भौतिकलगायत जनशक्तिको हिसाबले पनि सुपिधासम्पन्न बनाउने उद्घोष गर्दा ठोकर्पाबासी निकै खुशी भएका थिए ।

सुरुमा स्वीडेन नेपाल सोसाइटीको आर्थिक तथा बिल्ड अप नेपालको प्राविधिक सहयोगमा ३५ लाख रुपैयाँको लागतमा अस्पतालको एउटा भवन निर्माण सम्पन्न भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिए ।

पछि स्थानीय उपभोक्ता समितिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनकोशी गाउँपालिका र जिल्ला समन्वय समितिको सहयोगमा ३ करोड ३८ लाख रुपैयाँको लागतमा अस्पतालको भव्य भवनहरु निर्माण सम्पन्न भएका छन् ।

भवन निर्माण भएपछि २०७९ साउनदेखि अस्पताल विधिवत रुपमा विभिन्न सेवाहरुको सुरुवात गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

अस्पतालमा एमडीजिपीसहित २ जना विशेषज्ञ डाक्टर सहित, ओपीडी, इर्मेजेन्सी,दन्त, आँखा, ल्याब, फार्मेशी, भिडीयो एक्सरे, चस्मा पशल,इसिजी लगायतका प्राय सबै सेवाहरु अस्पतालमा रहेको अस्पतालका डाक्टर विनोद रानाले जानकारी दिए ।

सुनकोशी गाउँपालिका लगायत विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । उक्त प्लान्ट बाट दैनिक ४५ शिलीण्डर अक्सिजन उत्पादन हुने अस्पतालले जानकारी दिएको छ ।

खरिद प्रक्रिया सबै रोक्छौं : मन्त्री बस्नेत

स्वास्थ्यमन्त्री भएपछि पहिलोपटक आफ्नो गृह जिल्लामा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अन्र्तगत सबै विभाग र स्वास्थ्य संस्थाहरुले गर्दे आएको स्वास्थ्य सामग्री खरिदलाई रोक्का गरेको बताएका छन् ।

‘खरिदमा धेरै ठुलो चलखेल हुँदोरहेछ, अघिल्लो पटक खरिद गरेको मेशिन चलाएको नै हुँदैन तर यो पटक फेरी मेशिन लगायतका सामग्रीहरु खरिद गर्ने प्रचलन रहेछ’, मन्त्री बस्नेतले भने, ‘खरिद किन हुन्छ तपाँइहरु बुझिहाल्नुहुन्छ,त्यसैले अहिले म आउन साथ सबै खरिदका काम रोकेको छु ।’

आगामी आर्थिक वर्षदेखि सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत सम्म कर लगाउने र त्यो करबापतको रकम स्वास्थ्य मन्त्रालयमा सिधै जम्मा गरेर एउटा कार्यविधि बनाएर गरिब तथा विपन्न नागरिकहरुको उपचारका लागि खर्च गर्ने गरी आफूले मन्त्री परिषदमा प्रस्ताव लगेको मन्त्री बस्नेतले बताए । अब पैसा नभएर कुनै पनि नागरिक अकालमा नै मृत्यु हुने परम्पराको अब अन्त्य हुने मन्त्री बस्नेतले बताए ।

स्वास्थ्यमन्त्री भएपछि आफूले ३ महिनाको समय मात्रै मागेको र ३ महिनाभित्र स्वास्थ्य क्षेत्रमा उथलपुथल ल्याउने बस्नेतले दाबी गरे । राजधानी पूर्वका जिल्लाहरुमा व्यवस्थित अस्पताल नहुँदा धेरैको अकालमा नै ज्यान जाने गरेको बताउँदै मन्त्री बस्नेतले काभ्रेको धुलिखेल अस्पताललाई ट्रमा सेन्टर बनाउने बताए ।

अस्पताल उद्घाटन समारोहमा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाको तर्फबाट अस्पताललाई ५० लाख रुपैयाँ विनियोजन गरेको र वडा नम्बर १ ले २० लाख विनियोजन गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

गाउँपालिकाले मात्रै अस्पताल सञ्चालन गर्न नसक्ने भएकाले स्वास्थ्य मन्त्रालयले नै अब जनशक्ति लगायत अन्य उपकरणहरु दिएर अस्पताल सञ्चालन गर्नका लागि मन्त्री बस्नेत सँग माग गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जिसी(विनोद) ले आफ्नो कार्यकालमा अस्पताल निर्माणको लागि पर्याप्त बजेट विनियोजन भएको र त्यसैको कारण अहिले अस्पताल यो अवस्थामा आइपुगेको बताए । कार्यक्रममा अस्पताललाई विभिन्न सहयोग गर्ने दाताहरुलाईसम्मान गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर