भारतीयलाई नेपाली नागरिकता दिलाउने सप्तरी प्रशासनका अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी – Nepal Press

भारतीयलाई नेपाली नागरिकता दिलाउने सप्तरी प्रशासनका अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

प्रहरी, वडाध्यक्ष र केही कर्मचारी पनि परे

जनकपुरधाम । भारतीयलाई नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ‌।

प्रशासकीय अधिकृत रामसहित चार कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदित नारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनामाथि जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको हो ।

झुटो विवरणको आधारमा भारतीय नागरिक सतिश यादवले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । राजविराजमा बस्दै आएका उनी राजविराज नगरपालिका ११ का सूर्यनारायण यादवका नाति हुन् । तर छोरा बनाएर झुटो विवरणको आधारमा सतिशलाई नागरिकता बनाएको थियो ।

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले ०८० वैशाख ३१ मा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई आरोप पत्र दायर भएको थियो ।

आरोप पत्र दायर भएका मध्ये सूर्य नारायण र सतिश पक्राउ परेका थिए । उनी दुवै जनालाई अदालतले ०८० जेठ १ मा एक/एक लाख धरौटी लिएर तारेखमा छाडिएको छ । तर आरोप पत्र दायर गरिएका मध्ये २६ जना फरार रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार नागरिकताको लागि सिफारिस गर्ने, मुचुल्कामा हस्ताक्षर गर्ने, नागरिकता जारी गर्ने लगायतका भारतीयलाई नागरिकता लिन सहयोग गरेका पक्राउ पुर्जी जारी भएको छ । सिडिओ अफिसका खरिदारद्वय संजिव कुमार साह र सुरज नेपाल पनि मुद्दामा परेका छन् ।

झुटो विवरणकै आधारमा नागरिकता जारी गरेपछि फसेका प्रशासकीय अधिकृत राम सिडिओ अफिसबाट ०८० जेठ २ मा सरुवा भएका छन् । उनी हिजो मात्रै सप्तरीकै विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *