कारागार परिसरमा नाउपाका नेताहरुको खुसामद, रेशमसँग आलोपालो भेट – Nepal Press

कारागार परिसरमा नाउपाका नेताहरुको खुसामद, रेशमसँग आलोपालो भेट

काठमाडौं । जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई भेट्न संघीय सरकारी मन्त्रीसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ आज बिहान डिल्लीबजार कारागार पुगिन् । उनी सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान भेट्न कारागार गएकी हुन् ।

हिजो सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डको मुद्दामा फैसला सुनाएपछि आज रेशमले कारागारमै पार्टीका नेताहरुलाई बोलाएका थिए । यद्यपि, एकैपटक सबैले भेट्न नपाउने भएकाले आलोपालो गरेर भेटेको कारागार प्रशासनले जनाएको छ ।

मन्त्री चौधरीको सचिवालयले पनि कारागार परिसरमा नेता कार्यकर्ता पुगेर छलफल गरेको तर चौधरीसँग सामूहिक बैठक भने नबसेको प्रष्ट पारेको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता वर्तमान सरकारमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । उनका स्वीकृत अधिकृत रमेश विश्वकर्माका अनुसार रेशम र रञ्जिताबीच केहीबेर भेटवार्ता भएको थियो ।

उनले नेपाल प्रेससँग भने, ‘कारागारमै बैठक बसेको भनेर विभिन्न मिडियामा समाचार आएछ । माननीय मन्त्रीज्यूले एक्लै भेट्नुभएको हो । सँगै गएको मलाई त भेट्न दिएनन् ।’

मन्त्रीबाहेक विहान अरु कसैले नभेटेको विश्वकर्माले बताए । उनले भने, ‘मन्त्री ज्यूसँगै भेट्न अरु कोही पनि जानु भएको छैन । कारागार प्रशासनसँग समन्वय गरेर अरुले आफूखुशी भेट्नुभयो होला ।’

मन्त्रीका प्रेस संयोजक जिवछ यादवका अनुसार नागरिक उन्मुक्ति पार्टीका सांसद गगांराम चौधरी, पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितलगायतका नेता-कार्यकर्ता रेशमलाई भेट्न डिल्लीबजार कारागार परिसरमा पुगेका थिए । त्यहाँ पुगेर अनौपचारिक बैठक गरेको र भेट्नका लागि पालैपालो गएको उनले नेपाल प्रेससँग बताए ।

यादवले भने, ‘पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, सांसद गंगाराम चौधरी लगायतका नेताहरु कारागार परिसरमा पुग्नुभएको थियो । कतिपयले मन्त्रीज्यूभन्दा अगाडी भेट्नुभयो भने कतिपयले मन्त्री ज्यूभन्दा पछी भेट्नुभयो । पार्टीको विज्ञप्ति जारी गर्नका लागि बाहिर बसेर छलफल भएको हो ।’

नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रञ्जिता चौधरी र आफूले भेटघाट गरेको बताए । भेटमा सर्वोच्च अदालतको फैसलाका विषयमा कुराकानी भएको उनको भनाई छ ।

उनले भने, ‘हिजो सर्वोच्च अदालतको जुन फैसला आयो, त्यसै बारेमा कुराकानी मन्त्रीज्यू र म गएको हो । त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेर विज्ञप्ति नै जारी गरेका हौं । धेरै कुरा त त्यो विज्ञप्तिमा नै हामीले लेखेका छौं । उहाँले पनि छुट्टै विज्ञप्ति जारी गरिसक्नुभएको छ ।’

विभिन्न सञ्चारमाध्यममा कारागारभित्रै बैठक बसेको भनेर समाचार आएको भन्दै उनले खण्डन गरे ।

पण्डितले ले भने, ‘एक-देखि दुई जनाभन्दा बढी जानै नमिल्ने ठाउँमा कसरी बैठक बस्छ र ? धेरै पटक म एक्लै जान खोज्दा त भेट्न नपाएर फर्किनुपरेको छ । यो अनावश्यक हल्ला फैलाइएको हो ।’

कारागारमा रहेका कैदीलाई एकपटकमा एकजनाले मात्रै भेट्न पाउँछन् । रेशमलाई भेट्न यसअघि उच्चपदस्थहरु पनि पुग्ने गरेका थिए ।

तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचनमा भिड्दै गर्दा डिल्लीबजार कारागारमै रेशमलाई भेटेर आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि उपनिर्वाचनका बेला कारागारमा पुगेर सहयोग मागेका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि विश्वासको मत लिनुअघि कारागारमा पुगेका थिए ।

कारागार ऐन २०७९ को उपदफा १ अनुसार कारागार प्रशासनले बन्दीलाई भेट्न आउने परिवारका सदस्य, नजिकका नातेदार, उनको पक्षमा मुद्धा लडिरहेका कानून व्यवसायी वा आफन्तको भेटघाटका लागि आवश्यक कक्षको व्यवस्था गरेको छ । उपदफा ३ मा भेटघाटका लागि कारागारमा आउने व्यक्तिले कारागार प्रवेश गर्नुअघि तोकिए बमोजिमको सुरक्षा सम्बन्धी व्यवस्था र शर्त पालना गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *