जीवराज आश्रित अर्थात ‘जबज’का दोस्रो खम्बा – Nepal Press
सन्दर्भ : ३१औं मदन-आश्रित स्मृति दिवस

जीवराज आश्रित अर्थात ‘जबज’का दोस्रो खम्बा

वि.सं. २००१ साल साउन १८ गते गुल्मी चन्द्रकोट गाउँपालिकाको हरेवा, रिठारुखेमा एक बालकको जन्म भयो, जो कालान्तरमा नेपाली वामपन्थी राजनीतिको शीर्ष तहमा पुग्यो । त्यस बालकको नाम थियो जीवराज शर्मा । तर, साहित्य र राजनीतिमा लागेपछि उनी आफैंले जुराएको नाम थियो- जीवराज आश्रित ।

बाबु प्रेमराज र आमा चन्द्रकला शर्माको दोस्रो सन्तान एवं ज्येष्ठ पुत्रको रुपमा जीवराजको जन्म भएको थियो । निम्न मध्यम वर्गीय आर्थिक अवस्था, धेरै सन्तानको परिवारले जीवराजको परिवारलाई आर्थिक अभावमै पिल्सिनु परेको थियो । जीवराजलाई सानैदेखि घाँस दाउरामा लाग्नुपर्थ्यो । उहाँ सात वर्षको हुँदा बल्ल देशबाट राणाशासनको अन्त्य भएको थियो । जीवराज १३ वर्ष हुँदा उहाँकी आमा चन्द्रकलालाई चौथो सन्तान जन्माउने क्रममा प्रसवव्यथाले सदाका लागि चुँडेर लग्यो । जीवराजका गोमा र मोतीकुमारी नामका दुई सौतेनी आमा हुनुहुन्थ्यो । परिवारका सदस्यहरूको संख्या स्वभावतः बढी थियो ।

जीवराज घरायसी कामका साथै पढाइमा गहिरो अभिरुचि राख्नुहुन्थ्यो । हजुरबाहरू साक्षर भएका कारणले उहाँलाई साउँअक्षर चिन्न भने गाह्रो परेन । हजुरबा रविराजले उहाँलाई घरमै कखरा सिकाउनुभयो । पछि हरेवा आँपारुख आफ्नी फुपू दिदीका घरमा चलाइएको गुरुकुल शिक्षामा उहाँलाई लगाइदिने काम भयो । जीवराजले त्यहाँ सामान्य लेखापढी र कर्मकाण्डी ज्ञान प्राप्त गर्नुभयो । गुरुकुलीय पढाइपछि २०१७ सालको भदौमा उहाँलाई शान्तिपुरको उदय प्राविमा कक्षा ४ मा भर्ना गरियो । कक्षाका मेधावी छात्र जीवराजलाई मंसिरमा लिएको वार्षिक परीक्षामा उत्कृष्टता हासिल गरेकाले त्यही वर्षको पुसमा एकैपटक ७ मा कक्षोन्नति गरियो । त्यतिमात्र होइन कक्षा ७ को वार्षिक परीक्षा मंसिरमा नदिँदै उहाँलाई २०१८ असोजमा पुनः कक्षोन्नति गरी ८ मा पुर्‍याइयो । जतिसुकै कक्षोन्नति भए पनि पाठ्यपुस्तक र कलमकापी किन्ने समस्या भने उहाँका लागि ज्युँका त्युँ थियो । जीवराजको परिश्रम र मेधालाई देखेर स्थानीय मनकारी व्यक्तिहरूले भने उहाँको पाठ्यपुस्तक, कलम, कापी र मसीको आवश्यकतालाई पूरा गरिदिएका थिए । उहाँले रातिसम्म मकैका सुकेका डाँठ-घुर बालेर पढेको देख्दा उनीहरु केटो लच्छिनको छ भनेर टिप्पणी गर्थे ।

कक्षा ८ मा पढ्दै गर्दा उहाँलाई गाउँलेहरूले आफ्ना केटाकेटीलाई पनि पढाइदिन अनुरोध गरे । गाउँलेहरूको आग्रह र केही आर्थिक गर्जो टर्ने विश्वासले हरेवाको चिसापानी चौरमा सीतापुर स्कुलको कागजी साइनबोर्ड बनाएर जीवराजले पढाउन सुरु गर्नुभयो । तर, उहाँले सोचे जस्तो भएन । चल्न गाह्रो भयो, अन्ततः पढाइको काम बन्द भयो । पछि २०३१ सालमा त्यही ठाउँमा हरेवा प्रावि स्थापना भयो ।

समाजमा देखिने गरिब र धनीका बीचको आत्मसम्मानको उचनीचले उहाँको मन कुँडिन्थ्यो र समाजका धनीमानी टाठाबाठाहरूले रैतीहरुमाथि गर्ने थिचोमिचो देखेर उहाँको रगत उम्लन्थ्यो । तर, उहाँले समाधानको कुनै बाटो देख्नुभएको थिएन ।

यता जीवराजको नौ कक्षालगायत अरू माथिल्ला कक्षामा पढ्ने धोको भने हरेवा बसेर सम्भव थिएन । यसैले अध्ययनको भोकले उहाँलाई २०१९ सालमा एक्लै रूपन्देहीको भैरहवा ओराल्यो ।

दयानिधिका छोरा वेदनिधिसँगै जीवराज भैरहवा हाईस्कुलमा कक्षा नौमा भर्ना हुनुभयो । तर, कक्षा १० मा पुगेपछि भने अध्ययनलाई अगाडि बढाउन उही आर्थिक समस्या तगारोका रूपमा देखापर्‍यो । उहाँले आफ्नो पढाइ त्यही चटक्क छाडेर बुटवलको तत्कालीन कालिका प्राविमा पढाउन थाल्नुभयो । बरु दुईचार पैसा जम्मा गरेपछि उहाँले २०२१ सालमा प्राइभेट विद्यार्थीका रूपमा बनारसबाट प्रवेशिका परीक्षा दिई उत्तीर्ण हुनुभयो । यसैगरी २०२३ मा उहाँले यूपी बोर्डअन्तर्गत श्री अग्रवाल महाजनी इन्टरमिडियट कलेज वाराणसी केन्द्रबाट इन्टरमिडियट उत्तीर्ण गर्नुभयो ।

ठूलाबडा दयानिधिसँगको अर्थहीन बसाउठी, घर व्यवहारप्रतिको उदासीनता, ठूलो परिवार, पाखोबारीको सामान्य आयस्ताले घर धान्न धौधौ भएपछि अन्ततः पिताजी प्रेमराजले हरेवाको सिरिखुरी बेचबाच पारी आधाजसो पैसा तिरनतारन गरेर बचेको अलिकति पैसा लिएर २०२० सालमा परिवारसहित रूपन्देही झर्नुभयो । रूपन्देहीको सूर्यपुरामा दयानिधिको मौजाको आसपासमा बस्ने योजना गराएर प्रेमराजको परिवार मधेस झर्‍यो ।

निम्न मध्यम वर्गीय परिवारमा जन्मेका जीवराजले चरम अभाव र गरिबीको स्वयं सामना गर्नुभएको थियो । तीक्ष्ण बुद्धिका जीवराजलाई धेरै पढेर असल मान्छे बन्ने रहर थियो । तर, जतिखेरै अभावले लखेटिरहँदा र आकांक्षाले समाधानको मूर्त रूप नलिँदा आखिर मान्छे किन गरिब हुन्छ भन्ने प्रश्नले उहाँको मथिंगल रिङ्ने गर्थ्यो । समाजमा देखिने गरिब र धनीका बीचको आत्मसम्मानको उचनीचले उहाँको मन कुँडिन्थ्यो र समाजका धनीमानी टाठाबाठाहरूले रैतीहरुमाथि गर्ने थिचोमिचो देखेर उहाँको रगत उम्लन्थ्यो । तर, उहाँले समाधानको कुनै बाटो देख्नुभएको थिएन ।

जब उहाँ इन्टरमिडियटको जाँच दिन २०२२ सालमा वाराणसी पुग्नुभयो, उहाँको भेट पुष्पलालसँग भयो । पुष्पलालको भेटले उहाँलाई बाल्यकालदेखि मनमा उठेका जिज्ञासाहरूको जवाफ पाएको महसुस भयो । गरिबीबाट मुक्ति वर्ग संघर्षले मात्र सम्भव हुने र समाजवादमा मात्र मान्छेले मान्छेलाई गर्ने विभेदको अन्त्य भई सम्मानपूर्ण जीवन प्राप्त हुने सैद्धान्तिक निष्कर्ष उहाँले निकाल्नुभयो । पुष्पलालसँगको भेटले आफूमा ज्ञानको ज्योति प्राप्त भएको र मान्छेको जीवनको अर्थ पनि स्पष्ट रूपमा बुझेको महसुस उहाँले गर्नुभयो । यही भेटमा उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबाट पार्टी सदस्यतासमेत प्राप्त गर्नुभयो ।

वाराणसीबाट फर्केपछि उहाँ बुटवल आउनुभयो र देवेन्द्र घिमिरेले उहाँलाई २०२३ सालमा पार्टी सेल कमिटीमा संगठित गर्नुभयो । २०२४ सालमा उहाँ नेपाल कम्युनिष्ट पार्टी रूपन्देही जिल्ला कमिटीको सदस्य हुनुभयो ।

पुष्पलालसँगको भेटले आफूमा ज्ञानको ज्योति प्राप्त भएको र मान्छेको जीवनको अर्थ पनि स्पष्ट रूपमा बुझेको महसुस उहाँले गर्नुभयो । यही भेटमा उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबाट पार्टी सदस्यतासमेत प्राप्त गर्नुभयो ।

पञ्चायती व्यवस्थाले सुरु गरेको भूमिसुधारले २०२१ सालमा ‘अनिवार्य बचत संकलन अभियान’को अवधारणा ल्यायो । यस अनिवार्य बचत संकलनले जनतामा असन्तुष्टिको लहर फैलियो । जनता यसविरुद्ध सडकमा उत्रिन थाले । २०२३ सालमा नवलपरासीमा निस्किएको जनताको विरोध जुलुसमाथि पुलिसले गोली हान्यो, दर्जनौंको हत्या भयो भने दर्जनौं घाइते हुन पुगे । जनतामा आक्रोश र विरोधको लहर उर्लिरहेको थियो । २०२५ सालमा पुलिसहरूसहितको बचत टोली बचत संकलन गर्न रूपन्देहीको लुम्बिनी पुग्दा जनताले ‘खान पुगे पो बचत दिनु’ भनेर असन्तोष व्यक्त गरे । पुलिसले किसान जनतामाथि व्यापक दमन गर्‍यो । जनता झनझन उत्तेजित भए । यो आन्दोलन कपिलवस्तुको अजगरा हत्याकाण्ड मच्चिएपछि थामियो । कम्युनिष्ट पार्टी रूपन्देही किसान जनताको यस आन्दोलनको पक्षमा उभियो ।

पञ्चायती सरकारले जनताको यस स्वतःस्फुर्त आन्दोलनलाई भारतीय घुसपैठियाहरूको हुलदंगाका रूपमा चित्रित गर्ने काम गर्‍यो । यसै क्रममा भैरहवाबाट निस्किने दैनिक निर्णय पत्रिकाले किसान जनताको आन्दोलनका विपक्षमा समाचार छाप्यो । जीवराज आश्रित अत्यन्त क्रुद्ध हुनुभयो र पत्रिकाको कार्यालयमै गएर जनविरोधी समाचार प्रेषण गरिएका प्रतिहरू जलाइदिने काम गर्नुभयो ।

२०२५ साल जेठ २ गते नेपाल कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनबाट गठित केन्द्रीय समितिले विभिन्न वर्गीय संगठन निर्माण गर्ने अभियान थाल्यो । पार्टीका अञ्चल, जिल्ला, एरिया, गाउँ कमिटी र सेल कमिटी निर्माण गर्ने क्रममा लुम्बिनी विद्यार्थी व्युरोको गठन पुष्पलालको आतिथ्यमा बनारस पार्टी कार्यालयमा भयो । त्यसले आश्रितको अध्यक्षतामा बैठक बसी विद्यार्थी संगठन विस्तार गर्ने कार्ययोजना बनाएको थियो ।

जीवराज सिद्धार्थ कलेजमा पढ्दै गर्दा परीक्षाको फर्म भर्ने बेलामा देशभरिका निजी १८ कलेजलाई शिक्षा मन्त्रालयले फर्म भर्ने स्वीकृति दिएन । वर्षभरि पढेर परीक्षा दिन नपाउने कुराले विद्यार्थीहरूमा आक्रोशको आगो सल्कियो । परीक्षा दिन पाउनुपर्छ भन्ने नारासहित २०२६ साल मंसिरमा सरकारविरुद्ध जीवराज आश्रित र देवेन्द्र घिमिरेको प्रत्यक्ष नेतृत्वमा जुलुस सुरु भयो । भैरहवामा भएको त्यस प्रभावकारी जुलुसले पुलिसका तीन वटा घेरा तोड्दै अगाडि बढ्यो । त्यही संघर्षका कारण सिद्धार्थ कलेज पक्लिहवा र लुम्बिनी कलेज बुटवलले स्वीकृति प्राप्त गरे ।

विद्यार्थीहरूको पहलमा लुम्बिनी अञ्चलस्तरीय विद्यार्थी भेला सम्पन्न भयो । भेलामा देवेन्द्र घिमिरेलगायत जीवराजले कलेजमा सबै विद्यार्थीलाई संगठित गरी विद्यार्थीहरूका हक, हित र इज्जतका निम्ति विभिन्न कार्यक्रमहरू तयार गर्नुभयो । विद्यार्थीहरूको यस आन्दोलनमाथि सरकारले व्यापक दमन गर्‍यो । पुलिसको आक्रमणबाट कैयौं विद्यार्थीहरू घाइते भए भने आन्दोलनको अगुवाइ गरेबापत जीवराज, पुण्यभक्त प्रधानाङ तथा उदयराज पाण्डे पक्राउ पर्नुभयो । एक दिन प्रहरी कार्यालयमा राखी भैरहवा जेल चलान गरिए पनि जनदबाब बढेका कारण उहाँहरूलाई छाड्न प्रशासन बाध्य भयो । यो जीवराजको जेलयात्राको आरम्भ थियो । यस परिघटनाले जीवराजको नेतृत्व क्षमता क्रमशः चुलिँदै गयो ।

बनारसबाट आईए उत्तीर्ण गरेपछि भने उहाँले गणेश जनता मावि (हाल कान्ति मावि) मा अंग्रेजी तथा सामाजिक विषय शिक्षकका रूपमा काम गर्न थाल्नुभयो । अत्यन्त प्रभावकारी ढंगले विद्यार्थीहरुलाई पढाउने क्षमता भएका जीवराजले त्यस बेला बुटवलमा गणेश जनता विद्यालयमा दिउँसो अध्यापन गर्ने र रात्रिमा भैरहवा कलेजमा बीएको अध्ययन गर्नुहुन्थ्यो । गणेश जनता विद्यालयमा मोदनाथ प्रश्रित प्रधानाध्यापक हुनुहुन्थ्यो भने जीवराज सहअध्यापक हुनुहुन्थ्यो । सहकर्मी मित्रहरुसँग सहयोगी र मैत्रीपूर्ण सम्बन्ध राख्ने उहाँको स्वभाव थियो । यसैले उहाँले सबैलाई मित्र बनाउन सक्नुहुन्थ्यो । पार्टी कामलाई पनि सँगै अगाडि बढाइरहेका आश्रितले राति ९ बजेपछि पार्टी गतिविधि गर्नुहुन्थ्यो ।

प्रगतिशील गीत, कविता तथा लेखहरू लेख्ने आश्रितका केही संस्कृति र राजनीतिसम्बन्धी वैचारिक आलेखहरूको संग्रह ‘जीवराज आश्रितका अभिव्यक्तिहरू भाग १’ (२०५३) मा प्रकाशित छन् । उहाँका कतिपय फुटकर गीत, कविता तथा लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।

२०२३ सालमा जीवराज आश्रित आफैंले जुराएको नाम नवजागृति पुस्तकालयको सचिव हुनुभयो भने २०२४ सालमै बुटवलमा उहाँको अध्यक्षता र मोदनाथ प्रश्रित, रामप्रसाद प्रदीप, तारेन्द्र माण्डव्य, बुद्धिबहादुर थकालीको सक्रियतामा रेलिमै सांस्कृतिक मण्डलको गठन भएको थियो । यही समूहका मोदनाथ प्रश्रित, रामप्रसाद प्रदीप र बुद्धिबहादुर थकालीले प्रसिद्ध जनप्रिय ‘नाटक पचास रुपियाँ’को तमसुकको सहलेखन गरेर नेपालका विभिन्न ठाउँ र भारतका कतिपय नेपाली बस्तीहरूमा मञ्चन गर्न पुग्नुभएको थियो । प्रगतिशील गीत, कविता तथा लेखहरू लेख्ने आश्रितका केही संस्कृति र राजनीतिसम्बन्धी वैचारिक आलेखहरूको संग्रह ‘जीवराज आश्रितका अभिव्यक्तिहरू भाग १’ (२०५३) मा प्रकाशित छन् । उहाँका कतिपय फुटकर गीत, कविता तथा लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।

२०२६ सालको माघमा बीए परीक्षाका लागि आश्रित पाल्पा जानुभयो । परीक्षा दिइरहेकै क्रममा माघ २६ गतेका दिन उहाँलाई पाल्पा सिल्खान टोलको डेराबाट प्रहरीले गिरफ्तार गर्‍यो । खासमा यसपूर्व प्रहरीले विद्यार्थी नेता कुलप्रसाद नेपालको कोठामा छापा मार्दा ‘क्रान्तिकारी विद्यार्थीहरूलाई आह्वान’ भन्ने २८४ थान पर्चा फेला पारेको थियो । उक्त पर्चा जीवराजले गुल्मीका केशव ज्ञवालीलाई दिन पठाएको भन्ने आधारमा जीवराजसहित तीनै जनालाई गिरफ्तार गरिएको थियो । व्यवस्थाविरोधी पर्चा छापेको भन्ने अभियोग लगाएर उहाँहरू तीनै जनालाई भैरहवा अञ्चल प्रहरी कार्यालयमा राखेर बेग्लाबेग्लै बयान लिइएको थियो । अञ्चल प्रहरी कार्यालयमा जीवराजलाई चरम यातना दिइयो । उहाँलाई उँधोमुन्टो गराएर लट्ठी नभाँचिञ्जेल पैतालामा हिर्काइन्थ्यो र त्यतिले नपुगेर छड्के पारेर काटिएका रहरका तीखा ठुटीहरू भएको खेतमा कुद्न लगाइन्थ्यो ।

जेलमा रहँदा जीवराजले सैद्धान्तिक तथा वैचारिक ज्ञानको क्षितिजलाई फराकिलो पार्ने काम गर्नुभयो । उहाँ भैरहवा जेलमै रहेका बेला पृथ्वी शेरचन, मोहनसिंह थापा जस्ता रूपन्देहीका नेताहरू पक्राउ परेर त्यही जेलमा ल्याइपुर्‍याइएका थिए । केही अघिदेखि मोदनाथ प्रश्रित, जगत ज्ञवालीहरू पनि सोही जेलमा हुनुहुन्थ्यो । अगुवा कम्युनिष्ट नेताहरू एकै ठाउँमा भएकाले उहाँहरूले अध्ययन र वैचारिक बहसलाई अगाडि बढाउँदै जानुभयो । प्रश्रित साहित्यिक सामग्रीको लेखनमा बढी लाग्नुहुन्थ्यो भने आश्रित टिपोटमा बढी व्यस्त हुनुहुन्थ्यो । जीवराजले त्यही बसाइमा ‘नउठी भएन नेपालका दिदीबहिनीहरू’ भन्ने प्रसिद्ध गीतको रचना गर्नुभएको थियो ।

जीवराजको बीए परीक्षाका पत्रहरू बाँकी थिए । उहाँले फर्म भर्दा काठमाडौं केन्द्र राख्नुभएको थियो । जेलमा रहेको थुनुवाले नसोधिकन परीक्षा केन्द्र काठमाडौं राखेको भनी तत्कालीन लुम्बिनी अञ्चलाधीश टेकबहादुर रायमाझीले जीवराजलाई परीक्षामा जान नदिन रोक लगाएका थिए । तर, जीवराजहरूको निःशुल्क मुद्दा हेरिरहेका सहयोगी वकिल टेकबहादुर पन्थीको मध्यस्थताका कारण उहाँले जाँच दिन पाउनुभएको थियो ।

जेलमा रहँदा जीवराजले सैद्धान्तिक तथा वैचारिक ज्ञानको क्षितिजलाई फराकिलो पार्ने काम गर्नुभयो । उहाँ भैरहवा जेलमै रहेका बेला पृथ्वी शेरचन, मोहनसिंह थापा जस्ता रूपन्देहीका नेताहरू पक्राउ परेर त्यही जेलमा ल्याइपुर्‍याइएका थिए । केही अघिदेखि मोदनाथ प्रश्रित, जगत ज्ञवालीहरू पनि सोही जेलमा हुनुहुन्थ्यो ।

जेलभित्रै जीवराजको नेतृत्वमा राजबन्दीहरूले ‘क’ श्रेणीको सिदा पाउनुपर्ने आन्दोलन चलाइयो । यही आक्रोशमा जीवराजसहित तीन जनालाई पाल्पा जेल चलान गरियो । त्यहाँ पनि राजबन्दीहरूको सुविधाका पक्षमा आन्दोलन चलाएका कारण फेरि उहाँलाई जेल सरुवा गरेर काठमाडौं केन्द्रीय जेलमा पुर्‍याइयो । जीवराजले यही जेलबाट आफ्नो बीएको परीक्षा उत्तीर्ण गर्नुभयो । करिब १८ महिनाको जेल बसाइपछि उहाँ रिहा हुनुभयो । जेलबाट छुटेपछि उहाँ भूमिगत भएर पूर्णकालीन कार्यकर्ताका रूपमा कम्युनिष्ट आन्दोलनमा समर्पित हुनुभयो । उहाँ २०२८ सालमा एकदेव ज्ञवाली सचिव रहेको लुम्बिनी अञ्चल कमिटीको सदस्य हुनुभयो ।

आश्रित जेलबाट छुट्दा नेपाली कम्युनिष्ट आन्दोलनमा फुटको खेती मौलाइरहेको थियो । तर, जीवराज निराश हुनुभएन । उहाँले लुम्बिनी अञ्चलमा पार्टी गतिविधिलाई विस्तार गर्दै जानुभयो । उहाँको प्रभाव वामदेव गौतम, मोदनाथ प्रश्रित आदिमा पनि देखापर्दै गएको थियो । २०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो सम्मेलन सम्पन्न भयो । सम्मेलनपश्चात् गम्भीर मतभेदहरू देखापरे । स्वयं जीवराज, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका युवा कम्युनिष्टहरूले अख्तियार गरेको नीति एवं व्यवहारलाई संगठनले मन पराइरहेको थिएन । उहाँहरूका विचारमा पार्टीभित्र क्रान्तिकारी भावना ओझेल पर्दै गएको र विवादहरू बढ्दै गएको भन्ने थियो । यही बेला झापामा विद्रोह भएको थियो । यस विद्रोहले युवाहरूलाई तरंगित तुल्याइरहेको थियो ।

जीवराज लुम्बिनी अञ्चल कमिटीको सदस्य बनेको केही समयपछि उहाँलाई इन्चार्जका रूपमा अर्घाखाँची पठाइयो । २०३० कार्तिक २६ गते भएको लुम्बिनी किसान आन्दोलनमा उहाँले अर्घाखाँची जिल्लाको नेतृत्व र संयोजनकारी भूमिका निर्वाह गर्नुभयो । त्यतिखेर उहाँसित भूपू सैनिकहरूले प्रहरीका हातहतियार खोस्ने आदेश मागेका थिए । तर, उहाँले शान्तिपूर्ण आन्दोलनमा यसखाले व्यवहार उपयुक्त नहुने बताएर थप केही नगर्न आदेश दिनुभयो । जीवराज २०३१ सालमा नेकपाको सांस्कृतिक मोर्चा नेपाल जनवादी सांस्कृतिक संघको केन्द्रीय सदस्य हुनुभयो । यसै साल केशरमणि सचिव रहेको अञ्चल व्युरोमा पनि उहाँ सदस्य हुनुभयो । रुपन्देहीमा जीवराजको नेतृत्वमा बसेको पार्टी भेलाले २०३३ साल असार १५ गते पुष्पलालबाट विद्रोहको घोषणा गर्‍यो ।

भूमिगत अवस्थामै २०३२ सालमा जीवराजको बिहे गुल्मीकी माया ज्ञवालीसँग भयो । बिहेपछि एक रातका लागि दुबै दम्पती जीवराजको जन्मस्थल गुल्मी हरेवा पुग्नुभयो । एउटा भूमिगत क्रान्तिकारी योद्धा बिहेपछि श्रीमतीसँगै बसिरहने अवस्था थिएन । जीवराज पार्टी जिम्मेवारीकै काममा लाग्नुभयो भने यता माया ज्ञवालीले आफ्नो खर्च चलाउन रूपन्देही-टिकुलीगढको एउटा विद्यालयमा पढाउन लाग्नुभयो । करिब दुई महिनाजसो त्यस विद्यालयमा पढाएपछि उहाँ गुल्मी जिल्लाको कोटामा १० महिने शिक्षण तालिम लिन पोखरा पुग्नुभयो । तालिमपश्चात् उहाँ आफैंले पढेको गुल्मी चौताराको विद्यालयमा शिक्षक हुनुभयो । त्यहाँ करिब सवा दुई वर्ष पढाएपछि पार्टीको निर्देशनअनुसार उहाँलाई जीवराज आश्रितको घर रहेको रूपन्देही सूर्यपुराको हसनापुर नजिकैको विद्यालयमा अध्यापनका लागि पठाउने निर्णय भयो । तर, सञ्चालक समितिका सदस्यहरूले जीवराजकी श्रीमती भएका कारण मायालाई नियुक्ति दिएनन् ।

जेलभित्रै जीवराजको नेतृत्वमा राजबन्दीहरूले ‘क’ श्रेणीको सिदा पाउनुपर्ने आन्दोलन चलाइयो । यही आक्रोशमा जीवराजसहित तीन जनालाई पाल्पा जेल चलान गरियो । त्यहाँ पनि राजबन्दीहरूको सुविधाका पक्षमा आन्दोलन चलाएका कारण फेरि उहाँलाई जेल सरुवा गरेर काठमाडौं केन्द्रीय जेलमा पुर्‍याइयो । जीवराजले यही जेलबाट आफ्नो बीएको परीक्षा उत्तीर्ण गर्नुभयो ।

२०३५ असारमा जीवराज-मायाको पहिलो सन्तान छोरी उषाको जन्म भयो । परिवारको कृषि आयस्ताले वर्ष दिन खान पनि पुग्दैनथ्यो । श्रीमान भूमिगत, आफू बेरोजगार हुँदा बच्चा बिरामी पर्दासमेत उपचार गर्ने खर्च हुँदैनथ्यो । कोसँग गएर गुनासो गर्ने ? आखिर केही सीप नलागेपछि उहाँ बुटवल पुग्नुभयो । पार्टी सम्पर्कबाट जीवराजसँग भेट भयो । उहाँलाई पाल्पा ख्याहामा अध्यापनको निम्ति व्यवस्था मिलाउने कुरो भयो । मेघराज न्यौपानेको सहयोगमा चिरञ्जीवी पराजुलीको घरमा डेरा बसी उहाँले त्यहाँ पढाउन सुरु गर्नुभयो ।

२०३७ सालको अन्त्यतिर काठमाडौं जाने कुरा भयो । त्यसको तीनचार महिनापछि छोरीलाई माइतीमा छाडेर माया काठमाडौं पुग्नुभयो । कोखमा अर्को बच्चा हुर्कंदै थियो । काठमाडौं रहँदा सुशील प्याकुरेलको सहयोगमा उहाँ राष्ट्रिय जनगणना कार्यक्रमको सुपरभाइजर भएर लमजुङ पुग्नुभयो । २०३९ साल असारको आधाआधीमा फर्कनुभएकी माया साउनमा सुत्केरी हुनुभयो र दोस्रो सन्तान सागरको जन्म भयो । केही समयपछि मायाले काठमाडौंकै एउटा स्कुलमा पढाउन सुरु गर्नुभयो । स्कुलको आम्दानीले घरभाडा, बच्चा राख्ने केयर सेन्टरको शुल्क र सानो बच्चाको दूधलिटोको खर्च धान्न मुस्किल थियो । त्यसैमाथि स्कुलले उहाँलाई अवकाश दियो । उहाँ फेरि काठमाडौंकै जलजला स्कुलमा पढाउन थाल्नुभयो । तर, त्यहाँ पनि मुस्किलले डेढ महिना काम गरेपछि जागिरबाट निकालिदियो । श्रीमानबाट आर्थिक सघाउ हुने कुरै भएन । यता श्रीमतीलाई जागिरबाट निक्लिरहनुपर्ने पीडाले अन्ततः आमाले जोडिदिएका कानका रिङ बेचेर खर्च धान्नुपर्‍यो ।

माया ज्ञवाली ।

अन्ततः काठमाडौंमा धानिने उपाय सकिएपछि २०३९ सालको अन्त्यतिर उहाँ फेरि गुल्मी लाग्नुभयो र तीन वर्षका लागि आदर्श मावि दिगाममा प्रावि तहको लियन पदमा शिक्षक पेसा थाल्नुभयो । जीवराजको जिम्मेवारी पोखरा तोकिएको थियो । विद्यालयको तीन वर्षे करार सकिएपछि माया पनि पोखरातिर लाग्नुभयो । त्यहाँ पनि उहाँले ल्वाङघले गाविसको जनता प्राविमा पढाउन लाग्नुभयो । उहाँले २०४२ मै बनारसबाट आईएका निम्ति फर्म लगाउनुभएको थियो । तर, विभिन्न उल्झनले परीक्षा दिन जान सकिरहनुभएको थिएन । २०४४ सालमा परीक्षा दिन जाँदा फर्म नमिलेको भन्ने थाहा भयो । फेरि २०४५ मा परीक्षाका लागि बनारस पुग्नुभयो ।

बनारसबाट फर्केपछि फेरि जागिरको उही समस्या । जसोतसो पोखराकै शिशु निकेतनमा जागिर त पाउनुभयो । तर, खर्च धान्ने छेकछन्द नआएपछि नागेन्द्रप्रसाद शर्माको सहयोगमा चिप्लेढुंगा कार्यालयमा नियुक्ति लिनुभयो । नियुक्ति लिएको ६ महिनापछि नै उहाँलाई राजनीतिक कारण देखाएर अवकाश दिइयो । यसपछि उहाँ बुटवलको इलिट बोर्डिङ स्कुलमा पढाउन पुग्नुभयो । करिब एक वर्ष जति काम गर्दै जाँदा मुलुकमा पञ्चायती व्यवस्थाको अन्त्य र राजनीतिक पार्टीहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । जीवराज केन्द्रमै बस्नुपर्ने अवस्था आएकाले मायासहित सपरिवार काठमाडौं लाग्यो । काठमाडौं पुगेपछि पनि मायाले कृषि सामग्री संस्थानमा पाँचौं तहमा जागिर सुरु गर्नुभयो र २०५२ सालसम्म कार्यरत रहनुभयो ।

पुष्पलालसँगको विद्रोहपछि जीवराजलाई पार्टी प्रमुख बनेर संगठन हाँक्न आग्रह गरिएको थियो । तर, उहाँले साथीहरूसित एकता अभियानलाई अगाडि बढाउन अनुरोध गरिरहनुभयो । २०३२ देखि २०३३ सालको असारसम्म लुम्बिनीमा पार्टीलाई जोगाउन उहाँले नेतृत्वकारी भूमिका निर्वाह गर्नुभयो ।

२०३२ सालसम्म आइपुग्दा पुराना नेताहरू गुटफुट र अकर्मण्यतामा रमाउन थाले । तर, युवाहरू भने त्यसै चुप लागेर नबस्ने स्वभावका थिए । पुष्पलालसँगको विद्रोहपछि जीवराजलाई पार्टी प्रमुख बनेर संगठन हाँक्न आग्रह गरिएको थियो । तर, उहाँले साथीहरूसित एकता अभियानलाई अगाडि बढाउन अनुरोध गरिरहनुभयो । २०३२ देखि २०३३ सालको असारसम्म लुम्बिनीमा पार्टीलाई जोगाउन उहाँले नेतृत्वकारी भूमिका निर्वाह गर्नुभयो ।

२०३३ सालमा नख्खु जेल विद्रोह भयो । जेलब्रेकपछि कोअर्डिनेसन केन्द्रका नेता सीपी मैनाली काठमाडौंमा हुनुहुन्थ्यो । जीवराज आश्रित र वामदेव गौतम उहाँलाई भेट्न काठमाडौं जानुभयो । उहाँसँग वार्ता भयो । कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने विषयमा उहाँहरू सहमति गरेर फर्किनुभयो । तर, वर्ग शत्रु खतम, चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष र भारतीय नक्सलवादी चारुमजुमदार लाइनका विषयमा आफूहरू सहमत हुन नसक्ने धारणा व्यक्त गर्दै जीवराजले एकता भने कोअर्डिनेसनसँगै गर्नुपर्ने राय व्यक्त गर्नुभयो । यसरी आश्रितको नेतृत्वमा २०३४ सालमा विभिन्न विमतिहरूलाई थाँती राख्दै यो समूह कोअर्डिनेसन केन्द्रमा समाहित भयो । लुम्बिनीमा पुनर्गठित पार्टीका नेताहरू निकै अप्ठेरा ठाउँहरूमा पार्टी निर्माणका लागि खटिनुभयो । पुनर्गठित पार्टी राष्ट्रव्यापी हुन पुग्यो । यसको सदस्यता विस्तार भारत प्रवासमा पनि हुनपुग्यो । कोकेको प्रारम्भिक सदस्य भएर आश्रितले स्वदेश र भारतमा संगठन विस्तारको कामलाई तदारुकताका साथ अगाडि बढाउनुभयो । यसले जीवराजलाई कुशल संगठकका रूपमा स्थापित गर्‍यो ।

२०३४ सालको धनुषा बैठकमा जीवराज कोअर्डिनेसन कमिटीको केन्द्रीय सदस्य हुनुभयो । २०३५ सालमा मालेको गठनपछि उहाँ पोलिटव्युरो सदस्य हुनुभयो । यस पार्टीका प्रमुख चार नेतामध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । मुक्तिमोर्चा कोकेमा विलय भएको पाँच वर्षमै जीवराजले नेकपा मालेको महासचिव हुन सक्ने व्यक्तित्व बनाइसक्नु भएको थियो । उहाँलाई महासचिव बन्न आग्रह पनि गरिएको थियो । तर, अपरिपक्व ढंगले सीपीलाई महासचिवबाट हटाइएको अवस्था, झापा विद्रोह र नख्खु जेल विद्रोहको पृष्ठभूमिबाट आएका नेतालाई महासचिव नबनाइ मुक्तिमोर्चाको पृष्ठभूमिबाट आएकालाई महासचिव बनाउँदा एकतामा खलल पुग्ने विश्लेषणका साथ उहाँले त्यो पद अस्वीकार गर्नुभयो ।

२०३५ सालको चैतदेखि काठमाडौंबाट थालनी भएको विद्यार्थी आन्दोलन मुलुकैभरि चर्किन थाल्यो । आन्दोलनको उभार रोक्न नसकेपछि तत्कालीन राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था के रोज्ने भनी जनमत संग्रहको घोषणा गरे । नेकपा मालेले पञ्चायती जनमत संग्रहलाई बहिष्कार गर्‍यो । २०३७ सालमा नेकपा मालेले फाखेलमा आयोजना गरेको सातौं बैठकमा चारुमजुमदार लाइन पराजित भयो ।

२०३९ सालमा पर्वतको कार्कीनेटामा भएको १३औं बैठकमा सधैंभरि पार्टीलाई एक ढिक्का राख्न सीपीको पक्षपोषण गर्दै आउनुभएका जीवराजले सीपीबारे थेग्न नसकिने आलोचना निरन्तर हुन थालेपछि त्यस धारणामा परिवर्तन गर्नुभयो । २०३९ साल कार्तिकमा महोत्तरीको कालापानीमा भएको बैठकमा सीपीलाई महासचिवबाट हटाई झलनाथ खनाललाई पदबहाली गरियो । खनालको महासचिवमा चयन भएपछि उग्रपन्थी चारुमजुमदार विचार व्यवहारबाटै पराजित भयो । पार्टीमा महाविवादको श्रृंखला सुरु त भयो । तर, सीपीले खडा गरेका बाधाहरूलाई पन्छाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका व्यवहारिक र सैद्धान्तिक विचार मन्थनतर्फ पार्टी भने बृहत ढंगले अगाडि बढ्यो ।

२०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको ओजपूर्ण व्यक्तित्व तथा वैचारिक कुशलता र जीवराज आश्रितको विशिष्ट सांगठनिक खुबी, फलामे अनुशासन एवं वैचारिक परिपक्वताका कारण जनताको बहुदलीय जनवादको नीति अत्यधिक मतले पारित भयो ।

२०४३ सालमा नेकपा माले पार्टीले पञ्चायती निर्वाचनलाई चुनावका माध्यमबाट उपयोग गर्ने नीति अवलम्बन गर्न पुग्यो । यस निर्णयले पार्टीलाई देशव्यापी बनाउन सघाउ पुर्‍यायो । २०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा नेकपा माले एउटा निर्णायक शक्तिका रूपमा मुलुकभर स्थापित भयो । यसरी मालेलाई देशव्यापी बनाउन र मुलुकको निर्णायक शक्तिका रूपमा स्थापित गर्नमा संगठन विभागका प्रमुखको हैसियतले जीवराज आश्रितको ठूलो भूमिका रह्यो ।

२०४६ सालको जनआन्दोलनपछि २०४७ वैशाख १३ गते अन्य साथीहरूसँगै जीवराजले बुटवलमा भूमिगत जीवनको अन्त्य गर्नुभयो । यसपछि माले र मार्क्सवादीबीचको एकीकरणमा मोदनाथ प्रश्रितसँगै उहाँको अहम् भूमिका रह्यो । २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको ओजपूर्ण व्यक्तित्व तथा वैचारिक कुशलता र जीवराज आश्रितको विशिष्ट सांगठनिक खुबी, फलामे अनुशासन एवं वैचारिक परिपक्वताका कारण जनताको बहुदलीय जनवादको नीति अत्यधिक मतले पारित भयो । मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको यस विचारले अन्तर्राष्ट्रिय कम्युनिष्ट जगतमा निकै ठूलो चर्चा पायो ।

व्यवहारको परीक्षणमा खारिएर सर्वाधिक सही सावित भएको जनताको बहुदलीय जनवाद सिद्धान्त मदन-आश्रितको सहकार्यको परिणाम थियो । पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर मुस्ताङदेखि दक्षिण मर्चवारसम्म फैलिएको नेकपा एमालेको सुदृढ सांगठनिक जग जीवराज आश्रितले हाल्नुभएको थियो ।

२०१८ सालको कुरो हो । विद्यालयको हाफछुट्टीपछि साथीभाइसित मिलेर शान्तिपुर खोलामा नुहाउन लाग्दा आश्रितलाई खोलाले बगाउन लागेको थियो । तर, उहाँका सहपाठी नीमप्रसाद श्रेष्ठले बचाउनुभएको थियो । यसैगरी २०२५ सालमा विद्यालयका शिक्षक-विद्यार्थीहरू बुटवलको चिडिया खोलामा वनभोज खान जाँदा राम्रो वनभोज स्थल खोज्ने क्रममा दौडिँदा जीवराज माटाको ढिस्काबाट चिप्लिनु भयो । सहकर्मी शिक्षिका लक्ष्मी कुँवरले तुरुन्तै कुदेर गई कमिजमा समातेर उहाँलाई खोलामा खस्नबाट जोगाउनुभएको थियो ।

२०५० जेठको ३ गते एमाले कास्की पार्टीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रुपमा मदन भण्डारी र विशिष्ट अतिथिका रुपमा जीवराज भाग लिन पुग्नुभएको थियो । त्यहाँको कार्यक्रमपछि चितवन पुग्ने योजनाअनुसार उहाँहरु पोखराबाट चितवनतिर लाग्दै हुनुहुन्थ्यो । मुग्लिङमा चिया पिउन अडिएका यी दुबै जननेता चितवनको दासढुंगामा पुग्दै गर्दा उहाँहरु चढेको मोटर त्रिशूली नदीमा खस्यो । ड्राइभरलाई केही भएन । तर, जीवराजसहित मदन भण्डारीको प्राणपखेरु उडिसकेको थियो । पटकपटक पानीबाट बँच्दै आएका आश्रित यसपालि भने बडो रहस्यमय ढंगबाट कहिल्यै नफर्किने गरी जलसमाधिमा लीन हुन पुग्नुभयो ।

अहिले दासढुंगामा जीवराजको सालिकले एकनास हेरिरहेको छ । मानौं, मौन सालिकले नेकपा एमालेलाई केही भनिरहेको छ । लाग्छ, जनतासँगै निर्जीव सालिकले यस रहस्यको अन्तिम पर्दाफासका लागि आग्रह गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *