राष्ट्रिय गौरवको आयोजनाको जथाभावी नामकरण गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना (भिडिओ) – Nepal Press

राष्ट्रिय गौरवको आयोजनाको जथाभावी नामकरण गर्नु हुँदैन : अध्यक्ष तिमिल्सिना (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रुपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्पष्ट परिभाषा तयगरी त्यसभित्र पर्नेलाई मात्रै सो नामाकरण गर्न उपयुक्त हुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्रीलाई लाग्ने वित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने पनि स्पष्ट पारे ।

सयौंको संख्यामा कुनै पनि देशमा राष्ट्रिय गौरवको आयोजना हुनै नसक्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले ‘जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ’ भन्ने मान्यताका साथ अघि बढन पनि सरकारलाई सुझाव दिए ।

राष्ट्रिय गौरवको आयोजनाको परिभाषालाई सरकारले थप व्याख्या गरेर अघि बढनुपर्ने उनको भनाई थियो ।

‘अहिलेको अर्थमन्त्रीलाई लाग्यो कि कुनै योजना यो राष्ट्रिय गौरवको आयोजना हो भनेर लेख्नु भयो । वर्तमान प्रधानमन्त्रीले यो पनि राखौं भन्यो । र, राख्यो । फेरी फेरिनु हुन्छ । उहाँलाई अर्को लाग्छ । राष्ट्रिय गौरवको पहिला परिभाषा हुनु पर्यो । । हाम्रो क्षमता, परिस्थिति, अवस्था अनुसार निश्चित परिभाषा भित्र पर्ने हुनुपर्यो’, अध्यक्ष तिमिल्सिनाले भने, ‘कसैलाई लाग्न साथ त्यो राष्ट्रिय गौरव बन्दैन । त्यसकारण राष्ट्रिय गौरवले परिभाषाले बन्ने हुनु पर्यो । त्यसो भयो भने बर्गेल्ती चाहिँ राष्ट्रिय गौरवको आयोजना भनेर दुनियाँको राष्ट्रिय गौरवको आयोजना सयौं छ भनेर नेपाल जस्तो देशमा कहाँबाट हुन्छ र ? अन्यत्र पनि हुँदैन । त्यसकारण जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ भन्ने हिसावले जानु पर्छ । त्यसको परिभाषालाई नै अलि बढी ब्याख्या गरेर जानुपर्ने हुुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवारी पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारी हुने भएकाले काम समयमै सम्पन्न गर्न सहज हुने उनको निष्कर्ष थियो । अध्यक्ष तिमिल्सिनाले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *